काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

विद्यालय सङ्ख्याको अनुपातमा छैन शिक्षक दरबन्दी

1.79K
shares

भजनी । कैलालीमा विद्यार्थी र विद्यालयको सङ्ख्याको अनुपातमा शिक्षक दरबन्दी न्युन हुँदा पठनपाठनमा चुनौती देखिएको छ । माध्यमिक तहमा विद्यालय सङ्ख्याको अनुपातमा शिक्षक दरबन्दी न्यून हुँदा शिक्षकको अभाव छ ।

जिल्लामा सामुदायिकतर्फ माध्यमिक तहसम्मको पठनपाठन हुने विद्यालय सङ्ख्या १७४ छ । संस्थागतसहित कूल ३१२ विद्यालयले माध्यमिक तहसम्मको पठनपाठन गराउँदै आएका छन् । माध्यमिक तहमा कैलालीमा शिक्षक दरबन्दी भने १४४ जनाको मात्रै छ । एक माध्यमिक विद्यालयमा पाँच जनाको दरबन्दी हुनुपर्ने भए पनि कैयौँ विद्यालयमा दरबन्दी नै छैन ।

अधिकांश विद्यालयको पठनपाठन राहत र शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकको भरमा छ । जिल्ला शिक्षा समन्वय एकाइ धनगढी कैलालीका सूचना अधिकारी राजेन्द्र भट्टका अनुसार जिल्लामा माध्यमिक तहमा राहत कोटामा २२१ जना शिक्षक कार्यरत छन् । शिक्षण सिकाइ अनुदानमा कार्यरत शिक्षकको नियुक्ति स्थानीय तहमार्फत हुने भएकाले यकिन तथ्याङ्क नभएको उनले बताए ।

विसं २०७४ पछि स्थानीय तहले माध्यमिक तहसम्मका विद्यालयको सङ्ख्या बढाउँदै लगेका कारण विद्यालयको सङ्ख्या बढेको उनको भनाइ छ । विद्यालय सङ्ख्या बढे पनि स्वीकृत दरबन्दी नबढेको भट्ट बताए । “यो स्वीकृत दरबन्दी पुरानो भयो । अहिले दरबन्दी स्वीकृत गर्ने कुनै आधार छैन र भएको पनि छैन”, उनले भने, “राहत, अनुदानमा नियुक्त भएका शिक्षकहरुबाट पनि पठनपाठनको काम भैरहेको छ । शिक्षक अभावकै कारण पठनपाठनमा अवरोध कतै भएको छैन ।”

साविकको उच्च मावि तहमा ४३ अस्थायी दरबन्दी जिल्लामा कायम गरिएको थियो । त्यसमा ८७ जनाले राहत अनुदान कोटामार्फत अध्यापन गराइरहेका छन् । जिल्ला शिक्षा समन्वय एकाइको तथ्याङ्कअनुसार आधारभूत तहका ३७६ विद्यालय जिल्लामा छन् । त्यसमा २०९ शिक्षकको दरबन्दी छ । ३६८ राहत अनुदानमा कार्यरत छन् ।

माध्यमिक तहसम्मको पठनपाठनको सबै जिम्मेवारी स्थानीय तहको मातहतमा भए पनि दरबन्दी कायम गरेअनुसार शिक्षक व्यवस्थापनमा गर्ने विषयमा अन्योल छ । कैलालीकै टीकापुर नगरपालिकामा १२ माध्यमिक तहसम्म पठनपाठन भइरहेका विद्यालय छन् । सातवटा विद्यालयमा मात्रै शिक्षक दरबन्दी छ । त्यसमा १४ जना स्थायी शिक्षक कार्यरत छन् । कतिपय विद्यालयमा एकजनाको दरबन्दी छ ।

पाँचवटा विद्यालयमा मावि शिक्षकको दरबन्दी नै छैन । दरबन्दी नभएका अधिकांश विद्यालयमा राहत र शिक्षण सिकाइ अनुदानमा कार्यरत शिक्षकले विद्यालयको पठनपाठन धानेका छन् । नगरपालिकाभित्र माविमा २१ जना शिक्षक राहत अनुदानमा कार्यरत छन् भने शिक्षण सिकाइ अनुदानमा ११ जना शिक्षक कार्यरत रहेको नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थीले जानकारी दिएको छ । उनका अनुसार सामुदायिक विद्यालयमा कक्षा १० मा ९९८ जना अध्ययनरत छन् ।

नगरपालिकामा निमावि शिक्षक दरबन्दी २२ जनाको छ । राहत अनुदानमा २५ जना कार्यरत छन् भने तीन जना अनुदानमा छन् । नगरपालिकाले निमाविमा नगर अनुदानमा ४१ जना शिक्षक नियुक्त गरेको छ । प्राविमा नगरपालिकाभित्र ९३ जनाको दरबन्दी छ । ४६ शिक्षक राहतमा कार्यरत छन् भने नगर अनुदानमा ३२ जना कार्यरत छन् । उनले राहत र अनुदानका शिक्षक नभए शैक्षिक गतिविधि सञ्चालन गर्न नसकिने बताए ।

नगरपालिकाले नगर अनुदानमा नियुक्त गरेका शिक्षकको पारिश्रमिक न्यून छ । निमाविमा कार्यरत शिक्षकले मासिक २० हजार र प्राविकालाई मासिक १८ हजार तलबभत्ता नगरपालिकाले दिँदै आएको छ । “कार्यालय सहयोगीको मासिक १९ हजार पुग्छ भने प्रावि नगर अनुदानमा अध्यापन गराउने शिक्षकले १८ हजार पाउँछन्”, शिक्षा अधिकृत अवस्थीले भने, “पारिश्रमिक कम भएका कारण पछिल्लो समय शिक्षक पाउन मुस्किल छ ।”

उता भजनी नगरपालिकामा पनि अवस्था त्यस्तै छ । त्यहाँ माध्यमिक तहसम्म पठनपाठन हुने ११ विद्यालय छन् । जहाँ सातजनाको दरबन्दी छ । अझै नौ वटा विद्यालयमा त स्वीकृत दरबन्दी नै छैन । नगरपालिकामा राहत अनुदानमा १५ जना शिक्षक कार्यरत छन् । शिक्षण सिकाइ अनुदानमा १७ जना नियुक्त भएका छन् भने १४ जना नगरपालिकाले नगर अनुदानमार्फत नियुक्त गरेको शिक्षा अधिकृत पङ्खबहादुर शाहले जानकारी दिए । भजनीमा २८४ जना विद्यार्थी कक्षा १० मा अध्ययनरत छन् ।

विद्यालयको सङ्ख्याको आधारमा शिक्षक दरबन्दी न्यून हुँदा अधिकांश सामुदायिक विद्यालय राहत अनुदान र शिक्षण सिकाइ अनुदानका भरमा सञ्चालन भइरहेका छन् । अझै अङ्ग्रेजी, गणित र बिज्ञान विषयमा सरकारले उपलब्ध गराउँदै आएको शिक्षण सिकाइ अनुदान रकम रोकिने बित्तिकै कैयौँ माध्यमिक विद्यालय बन्द हुने स्थितिमा पुग्ने सम्भावना छ ।