गृहपृष्ठ सुक्खा पहिरोमा पुरिएका कामदारको शव निकालियो
सुक्खा पहिरोमा पुरिएका कामदारको शव निकालियो
कर्णाली करिडोरअन्तर्गत कालीकोटको पचालझरना गाउँपालिका–६ घाटाचौर क्षेत्रमा सुक्खा पहिरो खसेर पुरिएका एक जना कामदारको शव निकालिएको छ। बिहीबार बेलुका कर्णाली करिडोरको घाटचौर भिरमा सुक्खा पहिरोमा पुरिएका कामदारको आज शव निकालिएको हो।
सडक खन्न प्रयोग भइरहेको डोजरका लागि डिजल बोकेर हिँडेका पचालझरना–७ नुवाखेतका २९ वर्षीय पृर्थी बोहोरा पहिरोमा पुरिएका थिए। डोजरले चट्टान पन्छाएपछि आज दिउँसो निजको शव निकालेर आफन्तलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।
पहिरोसँगै ठूलो चट्टान खसेकाले पुरिएका बोहोरालाई निकाल्न ढिलाइ भएको प्रहरीले जनाएको छ। बिहीबार बेलुका शव निकाल्ने प्रयास गरिए पनि अँध्यारोले सम्भव नभएको स्थानीय टेकबाहादुर बोगटीले बताए।
कर्णाली करिडोरअन्तर्गत थिर्पु घाटचौरबाट बाजुराको पिलुचौरसम्म नेपाली सेनाको विकास निर्माण कार्यदलले विस्फोटनसहित ११ किलोमिटर सडक निर्माण गरिरहेको छ।
प्रकाशित समय : १६:३२ बजे





















