global ime bank Long Banner Ad

गृहपृष्ठ अमेरिकी शान्ति प्रस्तावले युक्रेनलाई कठोर सर्त

अमेरिकी शान्ति प्रस्तावले युक्रेनलाई कठोर सर्त

अमेरिकी शान्ति प्रस्तावले युक्रेनलाई कठोर सर्त

युक्रेनले संयुक्त राज्य अमेरिकाबाट प्राप्त गरेको नयाँ शान्ति प्रस्तावमा अत्यन्तै संवेदनशील र कठोर सर्तहरू समावेश गरिएका छन् । प्रस्तावमा किएभलाई रूसी नियन्त्रणमा रहेका केही भूभाग हस्तान्तरण गर्नुपर्ने र आफ्नो सेनाको आकारलाई आधाभन्दा बढी कटौती गर्नुपर्ने उल्लेख गरिएको छ ।

उक्त विवरणबारे जानकारी राख्ने एक वरिष्ठ अधिकारीले एएफपीसँग बुधबार कुरा गर्दै यस्तो प्रस्ताव युक्रेनले विगतमा बारम्बार अस्वीकार गर्दै आएको रुसका अधिकतम मागहरूसँग मिल्दोजुल्दो रहेको बताए ।

उक्त प्रस्तावित मस्यौदामा ‘क्रिमिया तथा रूसी सेनाद्वारा कब्जा गरिएका अन्य क्षेत्रहरूको मान्यता’ प्रदान गर्नुपर्ने र ‘सेनाको सङ्ख्या चार लाखमा सीमित गर्ने’ व्यवस्था गरिएको स्रोतले बताएको छ । साथै, युक्रेनले किएभका लागि अत्यन्तै संवेदनशील र जोखिमपूर्ण मानिने आफ्ना सबै लामो दूरीका हतियार त्याग्नुपर्ने शर्त पनि समावेश गरिएको छ ।

अधिकारीका अनुसार यो वास्तवमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकै धारणा हो कि उनको दलको आधिकारिक नीति हो भन्ने विषय भने स्पष्ट छैन । प्रस्तावका बदलामा रुसले के कदम चाल्नेछ भन्ने विषय ‘अस्पष्ट’ रहेको स्रोतले बतायो ।

अमेरिकी सञ्चार माध्यम एक्सियोसले यसअघि वासिङ्टन र मस्कोबीच करिब चार वर्षदेखि जारी युद्ध अन्त्य गर्ने गोप्य योजना तयार भइरहेको उल्लेख गरेको थियो । सो रिपोर्टबारे क्रेमलिनले हालसम्म कुनै टिप्पणी गर्न अस्वीकार गर्दै शान्ति प्रक्रियामा नयाँ प्रगति नभएको मात्र दोहो¥याएको छ । एएफपीले यस विषयमा ह्वाइट हाउससँग पनि टिप्पणीका लागि सम्पर्क गरेको छ ।

रुसले अहिले युक्रेनको करिब २० प्रतिशत भाग कब्जामा राखेको छ, जसको ठूलो हिस्सा निरन्तरको भीषण युद्धले नष्ट भएको छ । मस्कोले दक्षिणी तथा पूर्वी युक्रेनमा आफ्नो नियन्त्रण कायम राख्नुपर्ने तथा किएभले थप भूभाग हस्तान्तरण गर्नुपर्ने माग निरन्तर दोहो¥याउँदै आएको छ ।

सन् २०२२ मा रुसले डोनेट्स्क, लुगान्स्क, जापोरिझिया र खेरसन गरी चार युक्रेनी क्षेत्र कब्जा गरेको थियो । यद्यपि ती क्षेत्रहरूमा मस्कोको पूर्ण नियन्त्रण छैन । यद्यपि क्रिमियन प्रायद्वीप भने रुसले सन् २०१४ मै आत्मसात् गरी त्यसयतैदेखि पूर्ण नियन्त्रणमा राख्दै आएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो दोस्रो कार्यकाल सुरु भएदेखि नै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको सम्बन्धलाई युद्ध अन्त्यका लागि उपयोग गर्न खोज्दै आएको छ । तर अहिलेसम्म कुनै ठोस प्रगति देखिएको छैन । युक्रेन युद्धबारे ट्रम्पको धारणा पनि समयानुसार लगातार परिवर्तन हुँदै आएको विश्लेषकहरूको भनाइ छ ।

प्रकाशित समय : १४:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु