काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

3.99K
shares

बाँके । नेपालगन्ज उपमहानगरपालिका–६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रम धार्मिक आस्थाको केन्द्र बन्दै गएको छ ।

हडियाबाबाको पुण्य स्मृति दिवसका अवसरमा प्रत्येक वर्ष सञ्चालन हुने मेलामा नेपालको विभिन्न जिल्लाका साथै भारतबाट समेत सयौँ साधुसन्तको सहभागिता हुने गरेको छ । चिसो मौसमको बेवास्ता गर्दै साधुसन्त दिनरात हडियाबाबा मन्दिर परिसरको खुल्ला बगैँचामा बिताएका छन् ।

हडियाबाबाको ६०औँ पुण्य स्मृति दिवसका अवसरमा मन्दिरमा यही कात्तिक २१ गतेदेखि सुरु भएको छ दिने हडियाबाबा धार्मिक मेलामा नेपाल र भारतका विभिन्न स्थानबाट ७०० भन्दा बढी साधु तथा सन्त उपस्थित भएका हडियाबाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल वैश्यले जानकारी दिए ।

“रातको समयमा पनि साधुसन्तहरु मन्दिर परिसरमा आगो तापेर भजनकीर्तनमा रमाउने गर्नुहुन्छ”, अध्यक्ष वैश्यले भने, “मेलामा प्रत्येक दिन उपस्थित साधु, सन्त तथा हडियाबाबाका भक्तजनहरूलाई भण्डारा खुवाउने व्यवस्था मिलाइएको छ ।”

हडियाबाबा आश्रम समितिका सदस्य राकेश श्रीवास्तावले मेलामा नेपालको बाँके, बर्दिया, दाङ, कैलालीलगायत छिमेकी मित्रराष्ट्र भारतबाट समेत साधुसन्त, महात्माहरू आउने गरेको जानकारी दिए । उनका अनुसार, मेलामा राति प्रवचन नाटक मञ्चनलगायत विभिन्न भक्तिका कार्यक्रमहरू आयोजना हुन्छ । मेलामा उपस्थित साधुसन्त, महात्माहरूलाई हरेक समयमा खाना नास्तालगायतको व्यवस्थापन गर्ने गरिएको छ ।

मेलाको अन्तिम दिन बुधबार मेलामा टाढाबाट आएका साधुसन्तहरुलाई बिदाइको बेला कम्मल, दक्षिणा आदिको व्यवस्था गरिएको अध्यक्ष वैश्यले जानकारी दिए । करिब २० कट्ठा क्षेत्रफलमा फैलिएको श्री १००८ हडियाबाबा आश्रममा बाबाको समाधिसहित विभिन्न मन्दिर र गौशाला रहेको छ । पर्खालले घेरिएको मन्दिर परिसरभित्र उद्यान छ । शान्त वातावरणमा रहेको हडियाबाबा आश्रम धार्मिक आस्थाको केन्द्र पनि हो ।

करिब एक सय वर्षअघि नेपालगन्जमा आएका बाबाले आफ्नो तपस्याको शक्तिबाट चाहेको वस्तु बनाउन सक्ने, भक्तजनहरूको इच्छा पूर्ति गर्न सक्ने जनश्रुति तथा विश्वास रहिआएकाले बाँकेका साथै भारतका विभिन्न क्षेत्रबाट साधु, सन्त तथा हडियाबाबाका भक्तजनहरू प्रत्येक वर्ष मेलामा सहभागी हुने गरेका अध्यक्ष वैश्यले बताए।

मन्दिर परिसरमा हडियाबाबाको समाधि, आश्रम र मन्दिरसहित साधुसन्त बस्न मिल्ने संरचना तथा बगिया रहेको छ । सोही बगियामा हरेक वर्ष हडियाबाबाको वार्षिक पुण्य तिथिमा मेला लाग्ने प्रचलन रहेको छ । अध्यक्ष वैश्यका अनुसार, मन्दिरमा आएर भाकल गर्नेहरूको मनोकामना पूरा हुने विश्वास रहिआएको छ ।

रामलीला धार्मिक नाटकसमेत मञ्चन हुने मेलामा प्रत्येक दिन साँझपख स्थानीयवासीको समेत ठुलो सङ्ख्यामा उपस्थिति हुने गरेको छ । मेला अवधिभर प्रत्येक दिन साँझ हडियाबाबा मन्दिरमा दर्शन गर्न र प्रसाद खान भक्तजन आउने गरेका स्थानीय अगुवा माधवराम बर्माले बताए ।