काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रधानमन्त्री कार्कीद्वारा अञ्जली मास्केलाई सम्मान

2.88K
shares

प्रधानमन्त्री सुशीला कार्कीले समाजसेवी अञ्जली मास्केलाई सम्मान गरेको छ । प्रधानमन्त्री कार्कीले मास्केलाई आफ्नो निवास बालुवाटारमै आमन्त्रण गरी पछ्यौरा पहिराएर सम्मान गरेको हो । उनीहरूबीच केहीबेर भलाकुसारी पनि भएको थियो ।

“तपाईँले निःस्वार्थ रूपमा लामो समयदेखि सामाजिक काम गर्दै आएको भन्ने थाहा पाएको थिएँ । एकपटक भेट्ने इच्छा थियो, आज पूरा भयो । सरकारका तर्फबाट धेरै केही गर्न नसके पनि भेटेर सम्मान प्रकट गरौँ भनेर यो कार्यक्रम गरिएको हो”, प्रधानमन्त्री कार्कीले भने, “यहाँलाई सम्मान गर्न पाउँदा हामी आफू पनि सम्मानित भएको महसुस भएको छ । यहाँको निःस्वार्थ भावनाबाट समाजमा सत्कार्यका लागि अरूलाई पनि प्रेरणा मिलिरहेको हामीले ठानेका छौँ ।”

काठमाडौँको ताहाचल निवासी मास्के विगत २७ वर्षदेखि दिदीबहिनी नभएका र भएर पनि भाइटीकाका दिन भेट्न नभएका दाजुभाइहरूको निधार खाली नहोस् भनेर टीका लगाइदिएका कारण परिचित छन् ।

उनले वीर अस्पतालमा बेवारिसे तथा विपन्न बिरामी र तिनका कुरुवाका लागि निःशुल्क खानपिनको व्यवस्था गरिदिएर पनि समाजमा योगदान गरेको थियो । त्यस्तै काष्ठमण्डपमा सामूहिक व्रतबन्धको व्यवस्थापन पनि उनले गर्दै आएको छ । यी सबै काम आफ्नै निजी खर्चमा गर्दै आएको पनि प्रधानमन्त्रीसमक्ष जानकारी गराएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिए ।

“मैले कसैसँग केही अपेक्षा राखेर यी काम गर्दिनँ”, ८२ वर्षीया मास्केले भन्नुभयो, “जे सक्छु, आफ्नै खर्चमा गर्छु, अहिले छोरा कमाउने भएपछि सोचेको काम गर्न थप सजिलो भएको छ ।” मास्केले सरकारबाट पनि कुनै अपेक्षा नराखेको प्रतिक्रिया दिए ।

उनले भने, “मलाई केही चाहिएको छैन । हामीले आ–आफ्नो ठाउँबाट सकारात्मक काम गर्दै जानुपर्छ । एकले अर्कालाई सघाउनुपर्छ । सबैले अरूको सेवा गरून् । सेवाको भावना राखेर काम गरून् । सरकारसँग हामीले अपेक्षा राख्ने होइन, सरकारलाई हामीले सघाउनुपर्छ । अनि सरकारबाट देशको कल्याण हुन सक्छ ।”

प्रधानमन्त्री कार्की देशकै पहिलो महिला प्रधानमन्त्री बनेको सुनेकै दिनदेखि निकै खुसी र भरोसा जागेको पनि मास्केले बताए ।

“सर्वोच्च अदालतको प्रधानन्यायाधीश बन्नुभयो, त्यहाँ साहसिक काम गरे”, मास्केले भने, “यस्तो मान्छे देशको प्रधानमन्त्री हुँदा राम्रो हुन्थ्यो भन्ने लागेको थियो । आज त्यो दिन देख्न पाइयो । एकदम खुसी र भरोसा लागेको छ । पहिलाजस्तै नडराइकन काम गर्नुहोला ।”

अफ्ठ्यारो परिस्थितिमा देश सम्हाल्न आएको भन्दै प्रधानमन्त्री कार्कीप्रति मास्केले कृतज्ञता पनि व्यक्त गरे ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री सुधा गौतम, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठको पनि उपस्थिति थियो ।