global ime bank Long Banner Ad

गृहपृष्ठ गत आवमा पनि अन्नपूर्णमा घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य

गत आवमा पनि अन्नपूर्णमा घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य

गत आवमा पनि अन्नपूर्णमा घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य

म्याग्दीको अन्नपूर्ण गाउँपालिका शतप्रतिशत सुरक्षित प्रसूति सेवा उपलब्ध गराउने स्थानीय तह बनेको छ ।

मातृशिशु स्वास्थ्यमा सुधार ल्याउनका लागि अन्नपूर्ण गाउँपालिकाले घरमा प्रसूति हुनेको सङ्ख्या शून्य बनाएको हो । असुरक्षित प्रसूतिका कारण हुने जोखिम न्यूनीकरण गरी नवजात शिशु र आमाको स्वास्थ्यमा सुधार ल्याउन गरेको प्रयासस्वरुप घरमा प्रसूति हुनेको सङ्ख्या लगातार दोस्रो वर्ष शून्य कायम भएको अन्नपूर्ण गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य निरीक्षक समुद्र बरुवालले जानकारी दिए ।

‘अन्नपूर्णका सबै गर्भवतीहरूले पछिल्लो दुई वर्षयता स्वास्थ्य संस्थामा पुगेर दक्ष स्वास्थ्यकर्मीबाट प्रसूति सेवा लिएका छन् । घरमा प्रसूति हुनेको संख्या शून्य बनाएका छौ,” उनले भने,“यसलाई कायम राख्नका लागि सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइरहेका छौँ ।”

यहाँ आर्थिक वर्ष २०८१\८२ ७९ र २०८०\८१ मा ९१ जनाले सुरक्षित प्रसूति सेवा लिएका छन् । आव २०७९\८० मा एक सय ३९ मध्ये एक सय ३५ जनाले संस्थागत प्रसूति सेवा लिँदा एक जनाले मात्र घरमा र चार जनाले मृत बच्चा जन्माएका थिए ।

आव २०७८\७९ मा पालिकामा एक सय २७ जनाले संस्थागत प्रसूति सेवा लिएका थिए । घरमा असुरक्षित प्रसूति हुने र नियमित गर्भ परीक्षण नगराउने समस्या हटाउन पालिकाले ‘आमासँग जनप्रतिनिधि’ कार्यक्रम सञ्चालन गरेको छ । तोकिएको समयमा नियमित गर्भ परीक्षण र संस्थागत प्रसूति सेवामा पहुँच बढाएर मातृ शिशु मृत्युदर घटाउन, स्वास्थ्य र पोषण सुधार गर्न कार्यक्रम प्रभावकारी बनेको उपाध्यक्ष दिवा तिलिजा पुनले बताइन ।

गर्भवती स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य संस्थामा आउँदा अण्डा र सुत्केरीलाई घरमै पुगेर भाले दिने गरिएको उनले बताइन । अन्नपूर्णले सुरक्षित प्रसूति सेवा, पोषण सुधार लगायतका कार्यक्रमका लागि सङ्घीय र प्रदेश सरकारको अनुदान बाहेक वार्षिक एक करोडको हाराहारीमा बजेट विनियोजन गरेको अध्यक्ष भारतकुमार पुनले बताए।

तोकिएको मितिमा चार पटक गर्भ परीक्षण गर्दा हरेक पटक एक-एक क्रेट अण्डा र संस्थागत प्रसूति हुनेलाई जनप्रतिनिधि र स्वास्थ्यकर्मी घरमै पुगेर एउटा कुखुराको भाले दिने गरिएको छ । सुत्केरी भएपछि पनि तीन पटक सुत्केरी जाँच गर्नेलाई थप एक क्रेट अण्डा, एक किलोग्राम सर्वोत्तम पिठो र बच्चालाई न्यानो कपडा दिने गरिएको छ ।

उपहार दिन थालिएपछि गर्भ परीक्षण गराउने र संस्थागत प्रसूति सेवा लिने दर शतप्रतिशत भएको घार स्वास्थ्य चौकीको अहेब मातृकाप्रसाद जोशीले बताइन । नियमित गर्भ र सुत्केरी परीक्षण गराउँदा आमा र बच्चाको स्वास्थ्य अवस्था तथा समस्या पहिचान गरेर जोखिमको व्यवस्थापन गर्न सहज भएको उनले बताइन ।

गर्भवती र सुत्केरीको खानपान, सरसफाइ र स्याहारसुसारमा जागरण आएको छ । आठ वडा रहेको अन्नपूर्णको दोवा र दाना बाहेक, भुरुङ–तातोपानी, नारच्याङ, शिख, घार, हिस्तान र राम्चेका स्वास्थ्य संस्थामा प्रसूति सेवा केन्द्र छन् ।

वडा नं ५ मा पर्ने पाउद्वारको सामुदायिक स्वास्थ्य एकाइमा पनि प्रसूति केन्द्र सञ्चालनमा छ ।

प्रकाशित समय : १२:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु