काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

बाणिज्य बैंकहरुको नाफा घट्यो

1.9K
shares

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ पहिलो सावन महिनामा वाणिज्य बैंकले ८ अर्ब ३८ करोड रुपैयाँ नाफा गरेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउनमा २० वटा वाणिज्य बैंकले ८ अर्ब ३८ करोड २९ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । गत वर्ष २०८१/८२ को साउनमा यी बैंकहरुले ९ अर्ब १७ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकहरुको नाफा ८.६४ प्रतिशतले घटेको छ।

तथ्यांकअनुसार सर्वाधिक नाफा आर्जन गर्नेमा ग्लोबल आइएमई बैंक रहेको छ भने वृद्धिदरका हिसाबले नेपाल बैंक अगाडि रहेको छ। अघिल्लो वर्षको साउनको तुलनामा चालु वर्षको साउनमा ११ वटा वाणिज्य बैंकको नाफा घटेको छ भने ९ वटाको बढेको छ।

चालु वर्षको साउनमा ग्लोबल आइएमई बैंकले ७८ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको साउनको तुलनामा १२.०९ प्रतिशतले कम हो। अघिल्लो वर्ष साउनमा बैंकले ८९ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

दोस्रो धेरै नाफा कमाउनेमा नबिल बैंक रहेको छ। समीक्षा अवधिमा बैंकले ७१ करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष साउनमा बैंकले ८० करोड ३३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफा पनि १०।८३ प्रतिशतले घटेको छ।

उच्च नाफा आर्जनको हिसाबले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेको छ। अघिल्लो वर्ष साउनमा बैंकले ५७ करोड ७५ लाख रुपैयाँ नाफा आर्जन गरेकोमा समीक्षा अवधिमा ९.८१ प्रतिशतले बढेर ६३ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको छ।

चालु वर्षको साउनमा नेपाल बैंकले ५५ करोड २७ लाख रुपैयाँ आर्जन गरेको छ। जुन अघिल्लो वर्षको साउनको तुलनामा १४६.७६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष साउनमा नेपाल बैंकले २२ करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा सबैभन्दा कम नाफा आर्जन गर्नेमा कृषि विकास बैंक रहेको छ। यो बैंकले ३७ लाख ५० हजार रुपैयाँमात्रै नाफा कमाएको छ। अघिल्लो वर्ष साउनमा बैंकले ७१ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफा ९९.४७ प्रतिशतले घटेको छ।