कांग्रेस महाधिवेशन : कुन पदमा कति जना निर्वाचित हुँदैछन् ? यस्तो छ पूरा सूची
वि.सं.२०८३ असोज २० मंगलवार ०७:४९
shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज केन्द्रीय कार्यसमितिका विभिन्न पदका लागि निर्वाचन हुँदैछ । विधान, निर्वाचन निर्देशिका–२०८३ तथा बन्दसत्रबाट स्वीकृत व्यवस्थाअनुसार केन्द्रीय कार्यसमितिका पदमा निर्वाचन हुन लागेको हो ।
कांग्रेसको नयाँ व्यवस्थाअनुसार सभापतिदेखि विभिन्न समावेशी समूह र युवा प्रतिनिधित्वसम्मका पदमा निर्वाचन हुनेछ । केही पद भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट सभापतिले मनोनयन गर्ने व्यवस्था गरिएको छ ।
कुन पदमा कति जना ?
१. सभापति — १ जना
२. वरिष्ठ उपसभापति — १ जना
३. उपसभापति — ४ जना
एक महिला र एक समावेशीसहित ४ जना निर्वाचित हुनेछन् ।
४. महामन्त्री — ३ जना
एक महिला अनिवार्य गरिएको छ ।
५. सहमहामन्त्री — ११ जना
खुलातर्फ २, महिलातर्फ १ तथा आदिवासी जनजाति, दलित, मधेसी, खसआर्य, थारू, मुस्लिम, पिछडिएको क्षेत्र र अल्पसंख्यक/अपाङ्गता भएका व्यक्तिबाट एक–एक जना निर्वाचित हुनेछन् ।
६. सभापतिबाट मनोनित — ५ जना
केन्द्रीय सदस्यहरूमध्येबाट एक महिलासहित ४ सहमहामन्त्री र १ कोषाध्यक्ष मनोनित हुनेछन् ।
७. प्रवक्ता — १ जना
सभापतिले केन्द्रीय सदस्यहरूमध्येबाट प्रवक्ता मनोनयन गर्नेछन् । आवश्यकताअनुसार विषयगत सहप्रवक्ता पनि तोक्न सकिनेछ ।
केन्द्रीय सदस्यतर्फ
- खुला — ४५ जना
- महिला — १५ जना
- प्रदेशबाट — २८ जना
सातै प्रदेशबाट एक महिलासहित ४–४ जना । - काठमाडौं उपत्यका — २ जना
एक महिला अनिवार्य । - दलित — १४ जना
- आदिवासी जनजाति — २० जना
- खसआर्य — १८ जना
- मधेसी — १३ जना
- थारू — ६ जना
- मुस्लिम — ५ जना
- पिछडिएको क्षेत्र — २ जना
- अल्पसंख्यक — १ जना
- अपाङ्गता भएका व्यक्ति — १ जना
- श्रमिक — ३ जना
- पेशागत क्षेत्र — ७ जना
- युवा — २१ जना
- नेपाली जनसम्पर्क समिति — ७ जना
- प्रजातन्त्र सेनानी, शहीद परिवार तथा द्वन्द्व प्रभावित परिवार — ३ जना
यसका अतिरिक्त सभापतिले ६६ जना केन्द्रीय सदस्य मनोनित गर्ने व्यवस्था गरिएको छ ।
त्यस्तै प्रतिनिधिसभा संसदीय दलका नेता र प्रदेश कार्यसमितिका सभापति केन्द्रीय कार्यसमितिका पदेन सदस्य रहने व्यवस्था गरिएको छ ।
प्रतिनिधित्वमा विशेष जोड
कांग्रेसको नयाँ संरचनामा महिला, युवा, दलित, आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिम, खसआर्यलगायत विभिन्न समुदाय तथा समूहको प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था गरिएको छ । यसपटक सातै प्रदेशबाट २१ जना ३५ वर्षमुनिका युवा केन्द्रीय सदस्य बन्नेछन् ।
यसरी कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिदेखि विभिन्न समावेशी समूह हुँदै युवा प्रतिनिधित्वसम्मको नयाँ केन्द्रीय संरचना चयन हुँदैछ ।






















