बेनी–जोमसोम–कोरला सडक मर्मत तीव्र, यसै साता सञ्चालनमा ल्याउने लक्ष्य
वि.सं.२०८३ असोज २० मंगलवार ०६:४९
shares

सारांश
- बाढीपहिरोले ५० भन्दा बढी ठाउँमा अवरुद्ध बनेको बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा मर्मत तीव्र पारिएको छ।
- कुनौटामा कालीगण्डकीले करिब २५० मिटर सडक कटान गरेपछि नयाँ ट्र्याक खोल्ने तथा ड्रोनबाट इन्धन ढुवानी गर्ने काम गरिएको छ।
- सडक विभाग र निर्माण व्यवसायीका उपकरण तथा जनशक्ति परिचालन गरी यसै साताभित्र सडक सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।
म्याग्दी। पछिल्लो मनसुनजन्य विपद्का कारण बाढीपहिरोले क्षतविक्षत बनेको चीन र भारत जोड्ने कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा मर्मत तीव्र पारिएको छ।
पर्वतको कुश्मा नगरपालिका–१ पाङदेखि म्याग्दीको बेनी हुँदै चीनको सीमामा रहेको कोरला नाका जोड्ने २०२ किलोमिटर लामो सडक असोज दोस्रो साताको वर्षापछि आएको बाढीपहिरोका कारण ५० भन्दा बढी ठाउँमा अवरुद्ध बनेको थियो। त्यसमध्ये १० स्थानमा कालीगण्डकी नदीले सडक कटान गरेर बगाएको तथा भत्काएको छ।
बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माका अनुसार आगामी सोमबारसम्म सवारीसाधन सञ्चालन गर्न सकिने गरी म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ कुनौटादेखि अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरसम्मको करिब १२ किलोमिटर सडकमा मर्मत भइरहेको छ।
“वर्षा रोकिएलगत्तै असोज १२ गतेदेखि कोरला नाकातर्फबाट म्याग्दीको भुरुङ्ग–तातोपानीसम्म दुई दिनमै मर्मत गरेका थियौँ,” उहाँले भन्नुभयो, “मालढुङ्गातर्फबाट बेनी, बैसरी हुँदै कुनौटासम्म करिब २५ किलोमिटर सडकको मर्मत सोमबार साँझसम्म सकिएको छ।”
कुनौटामा कालीगण्डकी नदीको बाढीले करिब २५० मिटर सडक कटान गरेको छ। सडक कटानपछि पैदल आवतजावतसमेत कठिन बनेको कुनौटो क्षेत्र मर्मतका लागि चुनौतीपूर्ण मानिएको छ।
सुरुआती चरणमा रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको विद्युत्गृह परिसरमा कटान भएको सडकको विकल्पमा नयाँ मार्ग बनाउन तथा इन्धन व्यवस्थापन गर्न चुनौती भएको थियो। अहिले विद्युत्गृह अगाडिको सडक खुलाउने काम सकिएको छ।
नेपाली सेना, स्वयंसेवक र ड्रोनको सहयोगमा ढुवानी तथा सापटी मागेर इन्धन व्यवस्थापन गरिएकाले मर्मतमा समस्या नरहेको आयोजनाले जनाएको छ।
“कुनौटाभन्दा माथि सडक मर्मतका लागि आवश्यक इन्धन मानिसले बोकेर लैजान सम्भव नभएपछि सोमबार नेपाली सेना र ड्रोनको सहायतामा पहिरो तारेका छौँ,” आयोजना प्रमुख शर्माले भन्नुभयो, “छ पटकको उडानबाट चार सय लिटर डिजेल कटान क्षेत्र पार गराएपछि कुनौटाभन्दा माथि पनि सडक मर्मतमा सहज भएको छ।”
अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर, रातोपानी, महभिर र भिरकाटे क्षेत्रमा पनि सडक मर्मत भइरहेको छ। अन्नपूर्ण गाउँपालिका–६ रातोपानीमा दुई स्थानमा गरी करिब २५० मिटर सडक कटान भएको ठाउँमा नयाँ ट्र्याक खोलिएको छ। पोखरेबगरको कालीगण्डकी पुलको पहुँचमार्ग निर्माणका लागि मजदुर परिचालन गरिएको छ।
सडक विभाग र निर्माण व्यवसायीका १५ वटा स्काभेटर, १२ वटा टिपर र १५ वटा लोडरसहितको जनशक्ति परिचालन गरी सडक निर्माणको कामलाई तीव्रता दिइएको सङ्घीय सडक सुपरीवेक्षण आयोजना पोखराका प्रमुख नरेन्द्र सुवेदीले बताउनुभयो।
“सडक विभाग र निर्माण कम्पनीले अवरुद्ध सडक खुलाउन सबै ठाउँमा समानान्तर रूपमा काम गरिरहेका छन्,” उहाँले भन्नुभयो, “यसै साताभित्र सडक मर्मत सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको छ।”
रसुवा र तातोपानी नाका बन्द रहेकाले चीनसँगको व्यापारका लागि कोरला नाका महत्वपूर्ण बनेको सुवेदीले बताउनुभयो। कोरला नाका जोड्ने सडकलाई छिटो सञ्चालनमा ल्याउन सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको उहाँको भनाइ छ।
मुस्ताङको स्याउ बजार पठाउने समय सुरु भएको छ। दसैँ–तिहारका लागि भेडाच्याङ्ग्रा बजार झार्ने समय पनि नजिकिएको छ। पर्यटकीय याम सुरु भइसकेकाले बेनी–जोमसोम सडक छिटो सञ्चालनमा ल्याउन दबाब बढेको छ।

























