कांग्रेसको १५औँ महाधिवेशनमा खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिने चिरिबाबुको घोषणा
वि.सं.२०८३ असोज २० मंगलवार ०६:३८
shares

सारांश
- ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जनले कांग्रेसको १५औँ महाधिवेशनमा खुला केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
- दुई पटक मेयर भएर हासिल गरेको ज्ञान, सीप र अनुभव अन्य स्थानीय जनप्रतिनिधिसम्म पुर्याउन उम्मेदवारी दिन लागेको उनले बताए।
- कांग्रेसभित्रको इगो, जुनियर–सिनियर विभेद र फरक विचारलाई अन्यथा लिने प्रवृत्ति अन्त्य गर्न भूमिका खेल्ने महर्जनले बताए।
काठमाडौँ । ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जनले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा खुला केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
सोमबार महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै महर्जनले आफू दुई पटक महानगरप्रमुख भइसकेकाले स्थानीय तहमा हासिल गरेको ज्ञान, सीप र अनुभव पार्टीमार्फत अन्य जनप्रतिनिधिसम्म पुर्याउन उम्मेदवारी दिन लागेको बताए।
उनले भने, “म नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिँदै छु। दुई पटक महानगरको मेयर भइसकेँ। मसँग ललितपुर महानगरपालिकामा काम गर्दा आर्जन गरेको ज्ञान, अनुभव र सीप छ। त्यो ज्ञान, सीप र अनुभव भविष्यमा आउने मेयर तथा स्थानीय जनप्रतिनिधिलाई हस्तान्तरण गर्न पनि मेरो उम्मेदवारी हो।”
महर्जनले कांग्रेसभित्र देखिएका समस्यालाई इगोका रूपमा नलिएर समाधान गर्नुपर्ने बताए। जुनियर र सिनियरबीचको विभेद तथा फरक विचारलाई अन्यथा रूपमा लिने प्रवृत्ति कांग्रेसभित्रको समस्या रहेको उनको भनाइ छ।
“कांग्रेसभित्रका मुद्दालाई इगोका रूपमा नलिई मिलाउने प्रयास गर्छु। अहिले समस्या भनेकै इगोका रूपमा लिने प्रवृत्ति हो। जुनियर–सिनियर भन्यो, वर्षको भिन्नतालाई आधार मान्यो, कसैले राम्रो कुरा बोले पनि त्यसलाई अन्यथा रूपमा लियो। यो इगोका कारण भएको हो,” उनले भने।
कांग्रेसभित्र रहेको इगोको समस्या अन्त्य गर्न आफूले भूमिका खेल्ने महर्जनले बताए। उनले कांग्रेसको १५औँ महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रस्तावको समेत प्रशंसा गरे।
उनले राजनीतिक प्रस्तावमा उल्लेख गरिएका विषयमध्ये १० देखि १५ प्रतिशत मात्रै कार्यान्वयन गर्न सके पनि मुलुकमा ठूलो परिवर्तन ल्याउन सकिने दाबी गरे।
“अहिले प्रस्तुत गरिएको राजनीतिक प्रस्ताव एकदमै राम्रो छ। मुलुकलाई कायापलट गर्न त्यो राजनीतिक प्रस्तावको १०–१५ प्रतिशत मात्रै हामीले लागू गर्न सक्यौँ भने पनि ठूलो परिवर्तन आउँछ,” उनले भने।

























