यूएईले बन्द गर्यो नेपालीका लागि भिजिट र कामदार भिसा
वि.सं.२०८२ असोज १ बुधवार १३:०६
shares

संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाली नागरिकका लागि भिजिट तथा कामदार भिसा बन्द गरेको छ। सोमबारदेखि भिजिट भिसा बन्द गरेको यूएईले मंगलबारदेखि कामदार भिसा पनि रोक लगाएपछि धेरै नेपाली अन्यौलमा परेका छन्।
सुरुमा भिजिट भिसा रोक लगाइएको भए पनि त्यसको भोलिपल्टै कामदार भिसा पनि बन्द हुँदा वैदेशिक रोजगार व्यवसायी र विदेश जान तयारी गरिरहेका युवाहरू समस्यामा परेका छन्। कतिपय म्यानपावर व्यवसायीका अनुसार भिसा प्रक्रियाका लागि कम्पनीहरूले निवेदन पेश गरे पनि आवेदन अस्वीकृत भएको छ।
नेपालमा हालसालै जेन–जी आन्दोलनका क्रममा तोडफोड, आगजनी तथा कैदीबन्दी फरार भएको घटनालाई यससँग जोडेर हेरिएको भए पनि यसबारे आधिकारिक पुष्टि भने भएको छैन।
यसअघि अबुधाबी र दुबई राज्यले नेपालीका लागि भिजिट भिसा रोकिसकेका थिए। त्यसपछि सेवा प्रदायक कम्पनीहरूले सारजाहमार्फत भिजिट भिसा निकाल्दै आएका थिए, तर हाल त्यो सुविधा पनि बन्द भएको छ।
कामदार भिसा टाइपिङ भए पनि अन्तिम आवेदन दिन नपाएको र भिसाका लागि दिइसकेका आवेदन अस्वीकृत भएको कम्पनीहरूले बताएका छन्। तर यसको कारणबारे कुनै प्रष्ट जानकारी दिइएको छैन।
भिसा रोकका कारण रोजगारीका लागि तयारी गरेका नेपाली मात्र नभई व्यवसायी तथा म्यानपावर कम्पनीहरू पनि अन्यौलमा परेका छन्।
यसअघि यूएईले इजिप्ट, पाकिस्तान, बंगलादेश, इथियोपिया र युगाण्डाका नागरिकलाई भिसा रोक लगाएको थियो। अहिले भने सोही सूचीमा नेपाल थपिएको छ।
यसैबीच, यसै महिनाको अन्त्यतिर सारजाहमा आयोजना हुने नेपाल र वेस्ट इन्डिजबीचको तीन दिवसीय क्रिकेट खेल पनि प्रभावित हुने देखिएको छ। नेपाल क्रिकेट एसोसिएसनको पहलमा हुन लागेको क्रिकेटका लागि समेत यसले समस्या पार्ने देखिएको छ ।
दूतावास स्रोतका अनुसार खेलाडीहरूलाई नेपालमै रहेको यूएई दूतावासमार्फत भिसा उपलब्ध गराउन सकिने भए पनि उनीहरूका स्पोन्सर, व्यवसायी तथा दर्शकहरूलाई समस्या पर्न सक्ने आंकलन गरिएको छ।






















