नारायणकाजी श्रेष्ठविरुद्ध अदालतको अवहेलनामा मुद्दा दर्ता
वि.सं.२०८२ भदौ १५ आइतवार २०:०७
shares

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवं राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठविरुद्ध अदालतको अवहेलनामा मुद्दा दर्ता भएको छ ।
सर्वोच्च अदालतमा शुक्रबार पेस भएको मुद्दा आज आइतबार दर्ता भएको हो । मोरङ जिल्ला स्थायी घर भएका कानूनका विद्यार्थी आयुष दाहालले श्रेष्ठले भदौ ६ गते सामाजिक सञ्जाल फेसबुकमा गरेको पोस्टबाट अदालतको अवहेलना भएको जिकिर गरिएको छ । उक्त मुद्दाको पेसी (सुनुवाइ) भदौ १९ गतेका लागि तोकिएको छ ।
श्रेष्ठले भनसुन र घुस बिना अदालतबाट न्याय नपाउने भनी सामाजिक सञ्जालमार्फत अदालतप्रति अनास्था फैलाउने खालको सामग्री पोस्ट गरेका थिए ।
श्रेष्ठले ’अहिले न्यायालयको स्थिति यस्तो छ कि न्यायका लागि अदालत पुग्ने कुनै पनि नेपालीले आफ्नो सम्पर्क पहुँचद्वारा न्यायाधीशलाई भन्न, भनाउन वा भनसुन गर्न सक्दैन भने वा घुस खुवाउन सक्दैन भने न्याय पाउला भनेर आशा गर्न सकिने स्थिति छैन’ भनेर लेखेका थिए ।
























