रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो, ‘पोष्टमार्टम’ प्रक्रिया सुरु
वि.सं.२०८३ असोज २१ बुधवार १९:५६
shares

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ ।
स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान तालमा हाम फालेर बेपत्ता भएका थिए । जिल्ला प्रहरी कार्यालय गौरबाट करिब एक किलोमिटर पूर्वमा रहेको सो तालमा खोजी गर्ने क्रममा अजयको शव फेला परेको रौतहटका प्रहरी नायब उपरीक्षक वसन्त गौतमले जानकारी दिए ।
गौर नगरपालिकाका पूर्वप्रमुख अजय गुप्ताका अनुसार स्थानीय सुखारी साह केशरीका छोरा अजय मानसिक समस्याबाट पीडित थिए । दैनिक मादक पदार्थ सेवन गर्ने अजय दुई दिनअघि मात्र सुधार केन्द्रबाट घर फर्किएका थिए ।
सो घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी नायब उपरीक्षक गौतमको नेतृत्वमा ३० जना, श्री नारायण दल गण पुरेनवाबाट सेनानी कञ्चन थापाको नेतृत्वमा १५ जना र सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म गौरका प्रहरी नायब उपरीक्षक दुर्गाप्रसाद भट्टको नेतृत्वमा १६ जना गरी ६१ जनाको संयुक्त सुरक्षा टोली खोजी कार्यमा खटिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
उक्त शवलाई ‘पोष्टमार्टम’का लागि अहिले प्रादेशिक अस्पताल गौर लगिएको छ । घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक गौतमले जानकारी दिए ।
























