बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट
वि.सं.२०८३ असोज २१ बुधवार २०:३६
shares

सारांश
- - नयाँ बसपार्क क्षेत्रमा गैरकानुनी रूपमा उत्पादन तथा बिक्रीका लागि राखिएको १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट गरिएको छ ।
- - सहदेव रायमाझीको नेतृत्वमा बुधबार गरिएको बजार अनुगमनका क्रममा ‘श्रीराम अमिलो भण्डार’बाट उक्त परिमाणको अमिलो बरामद गरिएको हो ।
झापा । झापाको अर्जुनधारा–११ स्थित नयाँ बसपार्क क्षेत्रमा गैरकानुनी रूपमा उत्पादन तथा बिक्रीका लागि राखिएको १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट गरिएको छ ।
झापाका सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीको नेतृत्वमा बुधबार गरिएको बजार अनुगमनका क्रममा ‘श्रीराम अमिलो भण्डार’बाट उक्त परिमाणको अमिलो बरामद गरिएको हो । गोदामबाट २१ कार्टुनमा राखिएका १ हजार १ सय बोतल अमिलो बरामद गरी स्थानीय प्रहरी तथा स्थानीयवासीको रोहबरमा नष्ट गरिएको अनुगमन टोलीले जनाएको छ ।
कागतीको अमिलोका नाममा काभ्रेको अमिलो उद्योगको स्टिकर प्रयोग गरी बिर्तामोड–११ नयाँ बसपार्कमा उद्योग सञ्चालनमार्फत उत्पादन तथा बिक्री–वितरण गर्दै आएको पाइएपछि सञ्चालक उमेशराज कार्कीलाई समेत कारबाही गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रायमाझीले बताए । उनका अनुसार गुणस्तर तथा सुरक्षासम्बन्धी मापदण्ड पूरा नगरी बिक्री–वितरण भइरहेको पाइएपछि उक्त सामग्री बरामद गरी नष्ट गरिएको हो ।
अनुगमन टोलीले बिर्तामोड, अर्जुनधारा र कनकाई नगरपालिका क्षेत्रका विभिन्न किराना तथा खाद्य पसलको समेत निरीक्षण गरेको थियो । कनकाईस्थित ‘अतिथि किराना पसल’बाट अखाद्य वस्तु बरामद गरी नष्ट गर्नुका साथै सञ्चालकलाई कारबाही गरिएको रायमाझीले जानकारी दिए ।
खाद्य अधिकृत सागरराज पोखरेलका अनुसार अतिथि किराना पसलबाट मरिचको धुलो, जौको पीठो, सब्जी मसला, मकैको चामल, कुरुमकुरुम चिउरालगायत अखाद्य वस्तु बरामद गरिएको थियो ।
अनुगमन टोलीले मंगलबार बिर्तामोड–२, चारपाने चोकस्थित सन्तोष खाजा घरमा समेत अनुगमन गरेको थियो । सो क्रममा अखाद्य वस्तु भेटिएपछि सामग्री नष्ट गर्नुका साथै जरिवाना गरिएको अनुगमन समितिका अधिकृत यदुनन्दन दाहालले बताए ।
बजार अनुगमन टोलीमा घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरका नायब सुब्बा सुरेश गौतम, खाद्य तथा गुण नियन्त्रण कार्यालयका खाद्य अधिकृत पोखरेल, जिल्ला प्रशासन कार्यालय झापाका अधिकृत दाहाल, उपभोक्ता जागरण अभियान बिर्तामोडका अध्यक्ष राजकुमार ओली तथा प्रहरी प्रतिनिधिलगायत सहभागी थिए ।
अनुगमन टोलीले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्न सक्ने अखाद्य तथा अवैध खाद्य वस्तुको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ । टोलीले बुधबार कनकाई नगरपालिका क्षेत्रका न्यु संगीता ज्वेलर्स, गोर्खा सपिङ कम्प्लेक्स, पाथिभरा देवी ज्वेलर्स र महालक्ष्मी डेरी पसलमा समेत अनुगमन गरेको छ ।
























