काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’

468
shares

ai logo सारांश

  • गगनकुमार थापाले पार्टीभित्र लामो समयदेखि कायम रहेका विभिन्न समूह र गुटको राजनीति अन्त्य भएको घोषणा गरेका छन् ।
  • उनले कांग्रेसलाई आफूहरूको लागि केवल राजनीतिक संगठन नभई परिवार र घरजस्तो रहेको बताए ।
  • पार्टीसँग जोडिएको मूल्य र विचारका कारण आफूले कांग्रेस छाडेर नयाँ पार्टी बनाउने प्रस्ताव अस्वीकार गरेको उनको भनाइ थियो ।

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र लामो समयदेखि कायम रहेका विभिन्न समूह र गुटको राजनीति अन्त्य भएको घोषणा गरेका छन् ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै थापाले देउवा समूह, कोइराला समूह, पौडेल समूहलगायतका नाममा हुँदै आएको गुटगत राजनीति अब समाप्त भएको बताए ।

‘०७४, ०३६, देउवा समूह, कोइराला समूह, पौडेल समूह, विशेष, नविशेष आजदेखि सबै सकियो,’ उनले भने, ‘फिनिस्ड । यो अधिवेशनको सबैभन्दा ठूलो उपलब्धिमध्येको उपलब्धि यही हो ।’

थापाले पार्टीभित्र अब कुनै समूह विशेषको आधारमा नभई कांग्रेसको भविष्य, पार्टीका मूल्य र विचारलाई केन्द्रमा राखेर नेतृत्व चयन गर्न महाधिवेशन प्रतिनिधिलाई आग्रह गरे ।

उनले कांग्रेसलाई आफूहरूको लागि केवल राजनीतिक संगठन नभई परिवार र घरजस्तो रहेको बताए । पार्टीसँग जोडिएको मूल्य र विचारका कारण आफूले कांग्रेस छाडेर नयाँ पार्टी बनाउने प्रस्ताव अस्वीकार गरेको उनको भनाइ थियो ।

‘पार्टी मेरो निम्ति एउटा घरजस्तो पनि भयो, परिवारजस्तो पनि भयो । पार्टी भनेको केवल एउटा संगठनको संरचना वा कार्यालय मात्र होइन,’ उनले भने, ‘यससँग जोडिएको मूल्य सबैभन्दा महत्वपूर्ण कुरा हो ।’

थापाले विगतमा आफूलाई नयाँ पार्टी गठन गरी नेतृत्व गर्न गरिएको प्रस्तावको प्रसंगसमेत सुनाए । उनका अनुसार २०७० सालतिर एक जना अभियन्ताले नयाँ पार्टी गठन गरी आफूलाई सभापति बन्न प्रस्ताव गरेका थिए । तर कांग्रेसका मूल्य र परम्परासँग आफ्नो सम्बन्ध गहिरो रहेको भन्दै आफूले उक्त प्रस्ताव अस्वीकार गरेको उनले बताए ।

थापाले कांग्रेसको मूल्य र विचारप्रति असन्तुष्टि नभए पार्टीभित्रका गलत व्यवहार, निर्णय र नीतिविरुद्ध संघर्ष गर्नुपर्ने बताए । उनले पार्टी सभापति र सामान्य कार्यकर्ताबीच अधिकार र हैसियतको आधारभूत समानता रहेको पनि बताए ।

‘पार्टीको सभापति माननीय, सम्माननीय होइन, यो केवल एउटा जिम्मेवारी हो, त्यो पनि समय तोकेर दिएको जिम्मेवारी हो,’ थापाले भने, ‘हामी सबै बराबर हौँ।’

थापाले कांग्रेसको सुधार पार्टीका तल्लो तहका सदस्यबाटै सुरु गर्नुपर्ने बताए । पार्टी सदस्यता, नेतृत्व चयन, संगठन सञ्चालन र आन्तरिक कार्यपद्धतिमा ठूलो परिवर्तन आवश्यक रहेको उनको भनाइ थियो ।

पार्टीको सार्वभौमसत्ता क्रियाशील सदस्य र व्यापक अर्थमा कांग्रेसका समर्थक तथा शुभेच्छुकमा रहेको उल्लेख गर्दै उनले संगठनलाई नयाँ ढंगले अघि बढाउनुपर्ने बताए ।

उनले आगामी दिनमा पार्टीको आन्तरिक व्यवस्थापनमा आफ्नो २० प्रतिशत समय र पार्टीलाई राष्ट्रिय रूपमा सुदृढ बनाउन ८० प्रतिशत समय खर्च गर्ने लक्ष्य रहेको बताए ।

थापाले सामाजिक सञ्जाल र डिजिटल माध्यमको विस्तारले लोकतन्त्रमा नयाँ चुनौती थपेको बताए ।

उनले सामाजिक सञ्जालका एल्गोरिदमले मानिसलाई आफूले रुचाएका विषय र विचारकै सीमित घेराभित्र राख्ने भएकाले बहुविचार र विचारको प्रतिस्पर्धा कमजोर हुनसक्ने बताए ।

‘डेमोक्रेसीको सबैभन्दा महत्वपूर्ण कुरा बहुविचार हुन्, विचारको बीचमा प्रतिस्पर्धा हो,’ उनले भने, ‘तर सामाजिक सञ्जाल बाइ डिजाइन कस्तो भएको छ भने त्यहाँभित्र बहुविचारहरूको प्रतिस्पर्धा छैन।’

सामाजिक सञ्जालमा तथ्य र तर्कभन्दा भावनात्मक विषय बढी प्रभावकारी बन्ने गरेको भन्दै उनले नेपालमा मात्रै नभई विश्वभरका लोकतन्त्रले यस्तो चुनौती सामना गरिरहेको बताए।

थापाले कांग्रेस नेपालको सबैभन्दा पुरानो राजनीतिक दल भए पनि नयाँ पुस्ताको विश्वास जित्न सक्ने क्षमता विकास गर्नुपर्ने बताए।

नेपाल अहिले इतिहासकै सबैभन्दा युवा अवस्थामध्ये रहेको उल्लेख गर्दै उनले युवालाई विगतको इतिहास मात्रै सुनाएर कांग्रेससँग जोड्न नसकिने बताए।

‘उसलाई हामीले इतिहास बताउनुपर्छ, तर नयाँ इतिहास रच्छौँ भन्ने कुराको विश्वास पनि दिलाउन सक्नुपर्छ,’ उनले भने।

उनले आफूले कांग्रेसको सदस्यता लिँदा विगतमा पार्टीले गरेका कामका कारण नभई भविष्यमा कांग्रेसले केही गर्न सक्छ भन्ने विश्वासका कारण सदस्य बनेको बताए ।

थापाले विशेष महाधिवेशनको वैधानिकतालाई लिएर अदालतमा भइरहेको विवाद अब अन्त्य गर्न कांग्रेस नेताहरूलाई आग्रह गरे।

उनले यो विषय राजनीतिक भएकाले अदालतमा पटक–पटक जानेभन्दा पार्टीभित्रै समाधान खोज्नुपर्ने बताए।

उनले आफू अदालतबाट विशेष महाधिवेशन अवैध भएको फैसला आए पनि त्यसलाई स्वीकार गरेर १५औँ महाधिवेशनमा फर्कन तयार रहेको बताएको स्मरण गराए ।