काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

‘सफलताका २७ स्वर्णिम सूत्रहरू’लेखेकी शोभा अधिकारी कांग्रेसमा भोट माग्दै, केन्द्रीय सदस्य जित्ने दाबी

546
shares

ai logo सारांश

  • - शोभा अधिकारीले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी छिन् ।
  • - लामो समयदेखि कांग्रेसको राजनीति, साहित्य तथा प्राज्ञिक क्षेत्रमा सक्रिय अधिकारीले महिलातर्फको खस आर्यमा उम्मेदवारी दिएकी हुन्

काठमाडौँ । लेखक, साहित्यकार तथा युवा नेतृ शोभा अधिकारीले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी छिन् ।

लामो समयदेखि कांग्रेसको राजनीति, साहित्य तथा प्राज्ञिक क्षेत्रमा सक्रिय अधिकारीले महिलातर्फको खस आर्यमा उम्मेदवारी दिएकी हुन् ।

कांग्रेस गोरखाले १५औँ महाधिवेशनका लागि सर्वसम्मत रूपमा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा चयन गरेसँगै उनले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी हुन् ।

उनी कांग्रेस गण्डकी प्रदेशको निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधि विभाग प्रमुख तथा नेपाली कांग्रेस गोरखाकी महासमिति सदस्यसमेत हुन् ।

राजनीति, साहित्य र प्राज्ञिक क्षेत्रमा लामो अनुभव हासिल गरेकी अधिकारीले पार्टीको केन्द्रीय नेतृत्वमा आफ्नो अनुभव, अध्ययन र राजनीतिक योगदानलाई थप प्रभावकारी रूपमा अघि बढाउने उद्देश्यले उम्मेदवारी दिएकी हुन् ।

उनले कांग्रेस कार्यसमितिमा पत्रकार, लेखक, साहित्यकार, अध्यापक र समग्रमा बौद्धिक वर्गको हक, हित र सम्मानसँगै उनीहरूले समाजमा खेल्ने भूमिकाबारे गम्भीर बहस गर्ने बताइन् ।

पहिले राणा शासन र पञ्चायत ढाल्न यही वर्गले नै अहम् भूमिका खेलेकै कारणले आजको लोकतन्त्रमा रमाउन पाइएको उल्लेख गर्दै यो स्वतन्त्रतालाई व्यवस्थित र ऊर्जाशील बनाउन यही वर्गले फेरि समााजमा भूमिका खेल्नुपर्ने उनको धारणा छ ।

त्यसैगरी राजनीतिक दलहरूले देशको इतिहास, संस्कृति र पुरातत्वको विषयमा जानकार राख्नुपर्ने साथै देश र जनताप्रति सामाजिक उत्तरदायित्व वहन गर्न भूमिका खेल्नुपर्ने भएकाले पनि सबैलाई झक्झकाउने बताइन् ।

अधिकारीको राजनीतिक यात्रा विद्यार्थी जीवनदेखि नै शुरू भएको हो । उनले नेपाल विद्यार्थी संघ (नेविसंघ) को केन्द्रीय सदस्यका रूपमा तीन कार्यकाल जिम्मेवारी सम्हालेकी थिइन् । विद्यार्थी राजनीतिका क्रममा उनी कांग्रेसका वर्तमान नेतृत्वमा रहेका नेताहरूसँगै सक्रिय थिइन् ।

कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा नेविसंघको अध्यक्ष रहँदा अधिकारी पद्मकन्या क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को उपसभापति थिइन् । त्यस्तै महामन्त्री गुरुराज घिमिरे नेविसंघको केन्द्रीय अध्यक्ष रहँदा अधिकारी सोही समितिको केन्द्रीय सदस्य थिइन् ।

उक्त समितिमा वर्तमान कांग्रेस सभापति गगनकुमार थापा महामन्त्री र हालका कांग्रेस महामन्त्री प्रदीप पौडेल उपाध्यक्ष थिए । विद्यार्थी राजनीतिबाट खारिँदै पार्टी राजनीतिमा सक्रिय भएकी अधिकारी त्यसपछि गोरखा कांग्रेसमा निरन्तर सक्रिय रहँदै आएकी छिन् ।

राजनीतिसँगै अध्ययन, अध्यापन तथा लेखनमा समेत सक्रिय अधिकारीले व्यवस्थापन संकायमा एमबीएस तथा समाजशास्त्र मानवशास्त्रमा एमए गरेकी छिन् । उनी हाल त्रिभुवन विश्वविद्यालयबाट पीएचडी अध्ययनरत छिन् । उनले लामो समय कलेजमा प्राध्यापनसमेत गरेकी थिइन् ।

विसं २०५७ सालदेखि लेखन तथा प्रशिक्षण क्षेत्रमा सक्रिय अधिकारी नेपाली लेखक संघकी केन्द्रीय सदस्य रहेकी छिन् । उनका समसामयिक राजनीति, समाज, संस्कृति तथा साहित्यसम्बन्धी ७०० भन्दा बढी लेख–रचना विभिन्न राष्ट्रिय दैनिक तथा अनलाइन सञ्चारमाध्यममा प्रकाशित छन् ।

अधिकारीका ‘आमाको आँखा’ लघुकथा संग्रह तथा ‘सफलताका २७ स्वर्णिम सूत्रहरू’ प्रेरणात्मक पुस्तक प्रकाशित भइसकेका छन्।

साहित्य तथा लेखनका माध्यमबाट सामाजिक, राजनीतिक र सांस्कृतिक विषयमा निरन्तर कलम चलाउँदै आएकी अधिकारी साहित्यिक क्षेत्रमा समेत परिचित छिन् ।

अधिकारीको पारिवारिक पृष्ठभूमि पनि लोकतान्त्रिक आन्दोलनसँग जोडिएको छ। पञ्चायतकालमा लोकतन्त्रका पक्षमा सक्रिय रहँदा निर्वासन जीवन बिताउनुपरेका तथा सर्वस्वहरणमा परेका तेह्रथुमका स्वर्गीय हरिप्रसाद दाहालको परिवारसँग उनको पारिवारिक सम्बन्ध रहेको छ।