गृहपृष्ठ अन्नबाली जोगाउन मध्यरातसम्म गस्ती
अन्नबाली जोगाउन मध्यरातसम्म गस्ती
मुस्ताङ । घरपझोङ गाउँपालिका–१ चिमाङ गाउँमा हिमाली भालुको आतङ्कले बालीनाली सखाप पार्ने क्रम नरोकिएपछि त्यहाँका किसान दैनिक मध्यरातसम्म भालु धपाउन गस्तीमा खटिने गरेका छन् । यहाँका किसानले उत्पादन गरेको स्याउलगायत अन्नबाली भालु पसेर खाइदिएपछि चिमाङ गाउँमा पाँचपाँच जनाको सातवटा समूह बनाएर पालैपालो भालुको गस्ती गर्न थालेका छन् ।
स्थानीय सुकबहादुर विश्वकर्माका अनुसार यहाँका किसानलाई भालुले अन्नबाली सखाप पारेर सास्ती दिएको छ । एक्याप संरक्षित क्षेत्रमा हिमाली वन्यजन्तु कालो भालु र मानवबीचको द्वन्द्व बढ्दै जान थालेको छ । समुद्री सतहबाट तीन हजार मिटरको उचाइमा रहेको चिमाङ गाउँ बेनी–जोमसोम सडक मार्गको कालीगण्डकी पारि अग्लो भिरालो स्थानमा अवस्थित छ । घनाजङ्गलको फेदमा अवस्थित त्यहाँका किसानलाई खेतबारीमा लगाएको अन्नबाली जोगाउन धौधौ परेको छ । त्यहाँ उवा र जौँबाहेक सबै अन्नबाली भालुले सखाप पारिदिने गरेको छ ।
अन्नपूर्ण संरक्षण आयोजना, इलाका संरक्षण कार्यालय मातहतमा रहेको चिमाङ गाउँमा हिमाली कालो भालुको जत्थाले किसानले उत्पादन गरेको बालीनाली सखाप पारिदिन थालेपछि किसान चिन्तित बनेका छन् । यो समस्या यहाँका किसानले वर्षौँवर्षदेखि झेल्दै आएका छन् । किसानले उत्पादन गरेको स्याउ, फापर, मकै, सिमी र हरियो ताजा तरकारीलगायत अन्नबाली कालो भालु रातको समयमा खेतबारीमा पसेर सखाप पारिदिने गरेको स्थानीय किसानको भनाइ छ ।
घरपझोङ गाउँपालिकाले किसानको खेतबारीमा ग्याविनसहित तारजाली लगाएको थियो । तर यहाँ लगाइएको घेराबार तालजालीमाथि उक्लिएर भालुले खेतबारीमा लगाएको अन्नबाली नोक्सान पारिदिएको घरपझोङकी कार्यपालिका सदस्य मनि विश्वकर्माले जानकारी दिए । चिमाङ गाउँ कृषि उत्पादनमा निकै सम्भावना भएको गाउँ हो । यहाँका किसान कृषिमा आत्मनिर्भर छन् । तर, यहाँको मुख्य आम्दानीको रूपमा रहेको कृषि व्यवसायलाई भालुको आतङ्कले दुःख दिन थालेपछि किसान समस्यामा परेका हुन् । भालुको आतङ्क रोक्न गाउँका खेतबारीमा लगाएको तारजालीले काम नगरेपछि त्यसको विकल्पमा एक्याप जोमसोमले गत वर्ष भालु धपाउने यन्त्र (साइरन) जडान गरेको कार्यपालिका सदस्य विकले उल्लेख गरे । तर, त्यस प्रकारको यन्त्रले पनि भालुको आतङ्क रोक्न असफल भएको उनले बताए ।
प्रकाशित समय : ०५:५७ बजे




















