गृहपृष्ठ आयुर्वेद औषधि उत्पादन केन्द्रद्वारा नौ प्रकारका औषधि उत्पादन
आयुर्वेद औषधि उत्पादन केन्द्रद्वारा नौ प्रकारका औषधि उत्पादन
आयुर्वेद औषधि उत्पादन केन्द्र रत्ननगरले चालु आर्थिक वर्षमा नौ प्रकारका औषधि उत्पादन गरी दर्ताका लागि सिफारिसको तयारी गरेको छ । केन्द्रले गत आर्थिक वर्षदेखि औषधि उत्पादनको काम सुरु गरेको हो ।
गत आवमा १० प्रकारका औषधि सिफारिस गरेकामा यस वर्ष नौवटा सिफारिस गर्ने तयारी गरेको कार्यालयका प्रमुख डा. सुरेश महर्जनले जानकारी दिए । उनका अनुसार गत वर्ष सिफारिस गरिएका सबै औषधि चुर्ण (धुलो) छन् । यस वर्ष आठ ‘ट्याबलेट’ र एक भष्म औषधि व्यवस्था विभागमा दर्ताका लागि सिफारिस गर्ने तयारी गरेको हो ।
गत वर्ष सिफारिस गरिएका औषधिमा अश्वगन्ध चुर्ण, आमलकी चुर्ण, सितोपलादी चुर्ण, अविपत्तिकर चुर्ण, बिल्वादी चुर्ण, हिङ्ग्वाष्टक चुर्ण, महासुदर्शन चुर्ण, पुस्यानुग चुर्ण, त्रिफला चुर्ण, निम्बादी चुर्ण छन् ।
यस वर्ष सिफारिस गर्न लागिएको औषधिमा खदिरादि बटी, गन्धक रसायन, महाशङ्ख बटी, चन्द्रप्रभा बटी, कैशोर गुग्गुलु, योगराज गुग्गुलु, महायोगराज गुग्गुलु, सर्पगन्धाघन बटी र टङ्कण भष्म छन् ।
बागमती प्रदेश सरकारको अनुमति र संघीय सरकारको मापदण्डमा रहेर औषधि उत्पादन गर्दै आइएको जानकारी दिए । अहिले केन्द्रले २३ औषधि उत्पादनलाई प्रथामिकतामा राखेर काम गर्दै आएको छ । उनले भने, “हामीले प्रदेश सरकारबाट एक सय १९ औषधि उत्पादनका अनुमति पाइसकेका छौँ ।” तर अहिले सरकारले प्राथमिकतामा राखेका २३ औषधि उत्पादन गर्ने तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो । सरकारले अत्यावश्यकभित्र राखेका औषधि उत्पादन गरेर निःशुल्क उपलव्ध गराउने तयारी गरिएको छ ।
सरकारले जारी गरेको कुशल औषधि उत्पादन अभ्यास निर्देशिका २०८२ अनुसार औषधि उत्पादन र सिफारिस गरिएको बताए । बागमती प्रदेशभित्र रहेका जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा औषधि पुर्याउने गरी काम गरिएको उहाँले जानकारी दिए ।
प्रकाशित समय : १०:३५ बजे



















