अप्सन गुरुङको ह्याट्रिकमा चर्च ब्वाइजको सानदार जित
वि.सं.२०८२ साउन ५ सोमवार १५:२५
shares

एन्फा यू–१६ युथ लिगमा अप्सन गुरुङको उत्कृष्ट प्रदर्शनमा साविक विजेता चर्च ब्वाइज युनाइटेडले भगवती क्लबविरुद्ध सानदार जित निकालेको छ । चर्च ब्वाइजले सोमबार लिगअन्तर्गत सम्पन्न पहिलो खेलमा भगवतीविरुद्ध ४–२ को जित निकालेको हो ।
सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा चर्च ब्वाइजलाई जित दिलाउन अप्सन एक्लैले ‘ह्याट्रिक’ प्रहार गरे । सुशन थापा मगरले एक गोल गरे । जवाफमा भगवतीका अनिल परियार र सुयोग श्रेष्ठले समान एक–एक गोल फर्काए ।
खेलको २४औँ मिनेटमा भगवतीका अनिलले टोलीलाई अग्रता दिलाएका थिए । तर, टोलीले अग्रता पहिलो हाफमै गुमायो । चर्च ब्वाइजका सुशनले टोलीका निम्ति बराबरी गोल फर्काएका थिए ।
६६औँ मिनेटमा चर्च ब्वाइजका अप्सनले गोल गर्दै टोलीलाई २–१ को अग्रतामा राखे । यसको तीन मिनेटपछि ६९औँ मिनेटमा अप्सनको दोहोरो गोलमा चर्च ब्वाइजले ४–२ को अग्रता बनायो ।
७५औँ मिनेटमा भगवतीका सुयोगले गोल गर्दै टोलीलाई २–३ को अवस्थामा ल्याए । ८३औँ मिनेटमा चर्च ब्वाइजका अप्सनले ‘ह्याट्रिक’ प्रहार गर्दै टोलीको जित सुनिश्चित गरेका हुन् ।
जितसँगै टोलीले लिगमा १० अंक बनाएको छ । चर्च ब्वाइजले सात खेल खेल्दा तीन जित र एक बराबरीबाट १० अंक जोडेको हो ।
























