भिरबाट लडेर महिलाको मृत्यु
वि.सं.२०८२ असार १३ शुक्रवार १९:३१
shares

घाँस काट्ने क्रममा भिरबाट लडेर गुल्मीमा एकजना महिलाको मृत्यु भएको छ । जिल्लाको मदाने गाउँपालिका–६ घ्युउपानीकी ३१ वर्षीया लक्ष्मी थापाको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए।
आज दिउँसो स्थानीय काउले भालुखोला सामुदायिक वनमा घाँस काट्न भनी गएकी थापा साँझ अबेरसम्म घर नफर्केपछि परिवार र छिमेकीद्वारा उनको खोजतलास गरिएको थियो । खोजतालासका क्रममा उनको शव सोही सामुदायिक वनको कीराचौर भिरबाट खसेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय पुर्कोट दहबाट प्रहरी निरीक्षक रेबन्त सेनको नेतृत्वमा छ जनाको टोली घटनास्थलमा पुगेको थियो । मृतक थापाका दुई छोरा छन् भने श्रीमान् रोजगारीको सिलसिलामा दुबईमा छन ।
























