माछापुच्छ्रे बैंकको अध्यक्षमा पुनः रोशन केसी
वि.सं.२०८३ असोज २८ बुधवार २१:०१
shares

सारांश
- माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी पुनः नियुक्त
- माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश दिने
- माछापुच्छ्रे बैंकको साधारण सभा सम्पन्न, ६ प्रतिशत लाभांश पारित
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको २८औँ वार्षिक साधारण सभा बुधबार पोखरामा सम्पन्न भएको छ । सभाले रोशन केसीलाई आगामी चार वर्षका लागि बैंकको सञ्चालक समितिको अध्यक्षमा पुनः नियुक्त गर्ने निर्णय गरेको छ ।
सभाले संस्थापक सेयरधनीका तर्फबाट रोशन केसी, मुकुन्द महत र कृति महत तथा सर्वसाधारण सेयरधनीका तर्फबाट विश्व प्रकाश गौतमलाई निर्विरोध निर्वाचित गरेको छ ।
सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै सेयरधनीलाई चुक्ता पुँजीको ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ । प्रस्तावअनुसार ३ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस सेयर वितरण गरिनेछ । नगद लाभांशमा लाग्ने करसमेत समावेश गरी कुल ६ प्रतिशत लाभांश प्रस्ताव गरिएको बैंकले जनाएको छ ।
बोनस सेयर वितरणपछि बैंकको साधारण चुक्ता पुँजी १२ अर्ब ४५ करोड रुपैयाँ पुग्नेछ । अग्राधिकार सेयरसमेत जोड्दा बैंकको कुल चुक्ता पुँजी १५ अर्ब ४५ करोड रुपैयाँ पुग्नेछ ।
बैंकले गत आर्थिक वर्षमा १ अर्ब ९५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । सो अवधिमा बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ १७ पैसा रहेको थियो ।
पोखरास्थित होटल पोखरा ग्रान्डमा सम्पन्न सभामा संस्थापक तथा साधारण सेयरधनीको उल्लेख्य सहभागिता रहेको बैंकले जनाएको छ ।
























