गृहपृष्ठ कांग्रेस नेता शिवाकोटीको चेतावनी “जेन्जीको आक्रोशलाई सुनेनौं भने लोकतन्त्र नै संकटमा पर्न सक्छ”
कांग्रेस नेता शिवाकोटीको चेतावनी “जेन्जीको आक्रोशलाई सुनेनौं भने लोकतन्त्र नै संकटमा पर्न सक्छ”
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जेन्जी अर्थात् नयाँ पुस्ताको आक्रोश, असन्तोष र आशावादी दृष्टिकोणलाई समयमै सम्बोधन नगरे लोकतन्त्रप्रति वितृष्णा गहिरिने चेतावनी दिएका छन्।
नेविसंघ दोलखा काठमाडौं सम्पर्क समितिको आयोजनामा भएको जेन्जी पुस्ता, लोकतान्त्रिक विचार विषयक छलफल कार्यक्रममा सम्बोधन गर्दै शिवाकोटीले भने, “जेन्जी ‘डेमोक्रेसी’ सुन्छ, तर ‘डेलिभरी’ खोज्छ। जब त्यो देख्दैन, उनीहरूमा सिस्टमप्रति अविश्वास बढ्छ।”
उनले वर्तमान पुस्ताले संविधान, चुनाव र सरकार परिवर्तन सबै देखेपनि आफ्ना जीवनका आधारभूत पक्षहरू शिक्षा, रोजगारी, स्वास्थ्य र न्यायमा सुधार नदेखेकै कारण आक्रोशित भएको उल्लेख गरे।
शिवाकोटीले युवापुस्तासँग संवाद मात्र नभई सहकार्यको नयाँ संस्कृति निर्माण गर्नुपर्नेमा जोड दिँदै भने, “अब समय संवादको मात्र होइन, सहकार्यको हो। हामीले उनीहरूको भाषा बुझेनौं, प्लेटफर्ममा पुग्न सकेनौं र रिसलाई सम्बोधन गर्न चुक्यौं।” उनले पार्टीलाई आग्रह गर्दै टेक्नोलोजीप्रेमी जेन्जी पुस्तालाई ‘फेसबुक लिडर’ मात्र नभइ उनीहरूलाई नीतिगत निर्णय प्रक्रियामा संलग्न गराउनु पर्ने बताए।
शिवाकोटीले पछिल्लो समय युवा पुस्ताले सैन्य शासकहरूप्रति देखाएको आकर्षणप्रति चिन्ता व्यक्त गर्दै भने, “बुर्किना फासोका ट्राओरे जस्ता सैन्य शासकलाई युवाहरूले नायक ठान्न थालेका छन्। प्रक्रिया भन्दा परिणामको मूल्यांकन हुने प्रवृत्ति बढ्दै छ। यसले लोकतन्त्रका लागि गम्भीर संकट निम्त्याउन सक्छ।”
उनले नेपाली कांग्रेसको ऐतिहासिक नेतृत्वको गौरवपूर्ण भूमिकालाई स्मरण गराउँदै भने, “राणा, पञ्चायत, राजतन्त्रविरुद्धको आन्दोलनको नेतृत्व कांग्रेसले गर्यो। तर अब त्यो गौरव गुनगान मात्र गर्ने होइन, अवस्था परिवर्तनको आन्दोलन सुरु गर्ने बेला आएको छ।” शिवाकोटीले पार्टी संरचनामा जेन्जीको समावेश, ‘लोकतान्त्रिक साक्षरता’ कार्यक्रम क्याम्पस र सामाजिक सञ्जालसम्म पुर्याउने, विदेशमा रहेका युवासँग संवाद गर्ने र निर्णय प्रक्रियामा उनीहरूलाई भागीदार बनाउने सुझाव दिए। शिवाकोटीले भने, “अबको सवाल यो होइन कि पहिला हामीले के गरेका थियौं। अबको प्रश्न होस् हामी अब उनीहरूका लागि के गर्छौं ” उनले जेन्जी पुस्ताको शक्ति लोकतान्त्रिक बाटोमा प्रयोग गर्न सकिएन भने त्यो ऊर्जा ‘कहिल्यै कल्पना नगरेको दिशामा’ जान सक्ने भन्दै सबैलाई सचेत रहन आग्रह गरे।
प्रकाशित समय : १०:४७ बजे



















