अबैध रुपमा भाडामा लगाइएको शैलुङ कालापानीको सार्वजनिक क्षेत्रमा बनेका संरचना भत्काउने तयारी
होटल बनाउँदा तमाङ जातीको चिहाननै मासियो, वनको जग्गामा गाउँपालिकाको संरचना बनाउने सम्झौता, निर्माणाधिन प्रदेशकै भवन वडाध्यक्षलाई ३० वर्षका लागि भाडामा
वि.सं.२०८२ असार २ सोमवार १२:२७
shares

शैलुङ गाउँपालिकाको कालापानीको सार्वजनिक क्षेत्रमा बनेका संरचना एक हप्ता भित्र हटाउन उर्दी जारी भएको छ । डिभिजन वन कार्यालय दोलखाले कालापानी क्षेत्रमा नापी कार्यालयबाट अमिन समेत लगेर नापीजाँच गर्दा सार्वजनिक जग्गामा संरचना बनेकाले एक हप्ता भित्र हटाउन सूचना टाँस गरेको हो ।
स्थानीय र प्रहरीको समेत उपस्थितिमा नापी कार्यालयबाट नक्सा सहित नापी र गाउँपालिकाका अमिन समेतले नापी जाँच गरेका थिए । नापीका क्रममा ढुङ्गेबाट कालापानीसम्म जाने सडकको पश्चिमतिर बनेका संरचना सार्वजनिक स्थानमा बनेका पाइएको डिभिजन वन कार्यालयका डिभिजन वन अधिकृत कृष्णराज न्यौपानेले जानकारी दिए ।
कालापानी शैलुङ गाउँपालिका वडा नं. १, ६ र ८ मा पर्छ । ‘नापी र गाउँपालिकाकै अमिन लगेर रेखाङ्कन गरियो’ उनले भने ‘कालापानीको पश्चिमतिरको भाग गंगाजमूना सामुदायिक वन भित्रको कित्ता नं. ५०० मा पर्ने प्रमाणित भइसकेको छ ।’ सार्वजनिक जग्गामा बनेका अवैध संरचना १५ दिन भित्र हटाउन गत जेठ २ गते नै सूचना प्रकाशित गरे तापनि स्थानीयले अटेर गरेपछि पुनः ७ दिनको समय दिएको उनले बताए । पछिल्लो ७ दिनको समय भित्र पनि अतिक्रमण जग्गाका संरचना नहटाए कानुन बमोजित हटाउने उनले जानकारी दिए । अहिले अतिक्रमण गरिएको जग्गा साविक ताम्चेतदुधपोखरी गाविस वडा नं. १ हाल शैलुङ गाउँपालिका वडा नं. १ मा पर्छ ।
शैलुङको कालापानी क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमणको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान गरिरहेको छ । अख्तियारको चलानी नं २१५११ को २०८१ मंसिर १८ गते जिल्ला प्रशासन कार्यालय दोलखालाई पठाएको पत्रका आधारमा जिल्ला प्रशासनले २०८१ पुस ७ गते व्यापारिक प्रयोजनका लागि बनेका स्थायी संरचना हटाइ जानकारी दिन पत्र लेखेपछि वन कार्यालय सक्रिय भएको हो ।
होटल बनाउँदा तमाङ जातीको चिहाननै मासे
पछिल्लो समय शैलुङमा पर्यटकहरु बढ्न थालेपछि कालापानीमा होटल खुल्न थालेका छन् । होटेलहरु बढ्दै जाँदा परम्परागत चिहान समेत मासेर होटल बन्न थालेको स्थानीयले आक्रोस पोखे । ‘हाम्रो परम्परागत चिहान छ, डाँडामा तर अहिले चिहान र चिहान जाने परम्परागत बाटो समेत बन्द गरेर होटल बनाए’ स्थानीय लालबहादुर तमाङले भने ‘अहिले लास लिएर आउँदा अन्यत्रैबाट घुमाएर लैजान प¥यो ।’ पैसा कमाउन व्यापार गर्नेले पनि चिहान नै मास्न त पाइएन नि उनले प्रतिप्रश्न गरे ।
कालापानीमा अहिले एक दर्जन होटेल सञ्चालनमा आएको छ ।
यि सबै २ वर्षयता सञ्चालनमा आएका हुन् । शैलुङको कालापानीमा १२ महिना चल्ने गरी सडक तयार भएर अन्य पूर्वाधार बनेसँगै आन्तरिक पर्यटक बढेका छन् । पर्यटक बढेपछि होटलको संख्या बढेको हो । अहिले पनि एक दर्जन होटल निर्माणाधिन अवस्थामा छन् । सञ्चालनमा आएका र निर्माणाधिन मध्ये १० वटा भवन सार्वजनिक वन क्षेत्रमा परेको डिभिजन वन कार्यालय दोलखाका वन अधिकृत चिरञ्जीवि थापा मगरले जानकारी दिए । यि सबै भवनमा अनुगमनका क्रममा नक्साङ्कन गरिएको उनले बताए ।
वनको जग्गामा गाउँपालिकाको संरचना बनाउने सम्झौता
सार्वजनिक जग्गामा स्थायी संरचना बनाउन शैलुङ गाउँपालिकाले ५ वर्ष अघि नै व्यापारिहरुसँग ३० वर्षे सम्झौता गरेको छ । गाउँपालिकाले २०७७ मंसिर १७ मा एक सूचना प्रकाशित गरी गाउँपालिकासँग जग्गा भाडामा लिन राजश्व बुझाएर बढाबढमा सिलबन्दी दरभाऊ नै आव्हान गरेको छ । बागमती प्रदेश सरकारले निर्माण गरिरहेको गोलघर समेत निर्माणाधिन अवस्थामै ठेक्कामा लगाएको पाइएको छ ।
गाउँपालिकाकै सार्वजनिक सुचना बमोजिम आफूहरुले राजश्व बुझाएर ५ वर्ष अघि नै जग्गा भाडामा लिएको होटल सञ्चालक भक्तबहादुर श्रेष्ठले बताए । ‘जग्गा पनि गाउँपालिकाले नै तयार गरेपछि हामीले लिएका हौं’ उनले भने ‘अहिले हाम्रो डेढ करोड बढी लगानी भइसकेको छ, फेरि भत्काउने सूचना आयो हाम्रो लगानी कोसँग माग्ने ? शैलुङ गाउँपालिका वडा नं. ३ का सन्तोष श्रेष्ठ लगाएत १३ जना मिलेर सबैभन्दा ठूलो होटल सञ्चालन गरेका छन् । अहिले त्यही सार्वजनिक जग्गामा बनेकोभन्दै सूचना टाँस भएको छ ।
सन्तोषका साझेदार भक्तबहादुर श्रेष्ठका अनुसार गाउँपालिकासँग २०७७ फागुन १२ गतेदेखि २१०७ फागुन ११ गतेसम्मका लागि प्लट नं. क को जग्गामा भाडामा सम्झौता गरेका छन् । मासिक ४१ हजार २८७ भाडा तिर्ने गरी ६ महिनाको एकमुष्ट भाडा धरौटी स्वरुप जम्मा गरेर गाउँपालिकासँग सम्झौता गरेका हुन् । सम्झौता अनुसार सम्झौता मितिको ६ महिना भित्र संचना बनाउन सुरु गर्नु पर्ने उल्लेख छ । यसरी गाउँपालिकाले १७ वटा प्लट घरेडी तयार गरी भाडामा दिएको थियो । ति सबै घरेडीमा भने स्थायी संरचना बनेको छैन ।
सम्झौता पत्रमा गाउँपालिकाका तर्फबाट तत्कालिन गाउँपालिका अध्यक्ष भरतप्रसाद दुलालले हस्ताक्षर गरेका छन् भने साक्षीको रुपमा उपाध्यक्ष लालमाया योञ्जन छिन् । घर र जग्गा भाडा हरेक ३ वर्षमा १० प्रतिशतका दरले भाडा वृद्धि हुने उल्लेख छ । तर जग्गा भाडामा लिनेहरुले सुरुवाती धरौटी बाहेक आफूहरु गाउँपालिकामा भाडा तिर्न जाँदा पनि भाडा नलिएकाले आफूहरुले नबुझाएको बताएका छन् ।
निर्माणाधिन प्रदेशकै भवन वडाध्यक्षलाई ३० वर्षका लागि भाडामा
शैलुङ गाउँपालिका वडा नं. १ कालापानीमा बागमति प्रदेश सरकार प्रर्यटन विकास आयोजना मार्फत निर्माणाधिन गोलघर शैलुङ गाउँपालिकाको कार्यपालिकाको २०७८ भदौ २९ बैठकको निर्णयानुसार २०७८ कार्तिक १० गते ३५ दिने सूचना प्रकाशन गरी मासिक ५१ हजार भाडा लिने गरी तत्कालिन शैलुङ गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष ध्रुवकुमार श्रेष्ठलाई २०७९ असोजदेखि २१०९ भदौसम्मका लागि ३० वर्षको भाडा सम्झौता गरेको छ । गाउँपालिकाका तत्कालिन अध्यक्ष भरतप्रसाद दुलालले ३ रोपनी जग्गा र गोलघर होटल प्रयोजनका लागि भाडा दिने वडाध्यक्षसँग सम्झौता गरेका हुन् ।
३ करोड लागतमा दाप्चा–सिम्पानी जेभीले ठेक्का लिएको काम २०७९ जेठ मसान्तसम्म सम्पन्न गर्ने सम्झौता थियो । तर निर्माण सम्झौता हुनु अघि नै गाउँपालिकाले ठेक्का लगायो । तर भवन डेढ वर्ष ढिला गरी सम्पन्न भए तापनि प्रदेश सरकारले गाउँपालिकालाई हस्तान्तरण गरेको छैन । अहिले सो भवनमा एक वर्षदेखि होटल सञ्चालन भइरहेको छ ।
जग्गा भाडामा दिन गाउँपालिकाले ‘शैलुङ गाउँपालिकाको घर वा जग्गा लिज वा बहालमा दिने निर्देशिका २०७७’ जारी गरेको छ । शैलुङमा पर्यटन प्रबद्र्धनका लागि तत्कालिन समयमा निर्देशिका बमोजिम नै गाउँपालिकाले जग्गा र प्रदेश सरकारका संरचना भाडामा दिएको दाबी गरेको छ ।
सार्वजनिक स्थानको स्थायी संरचना हटाउन वा आफूहरुले पनि बनाउन पाउनु पर्ने भन्दै स्थानीय संघर्ष समिति नै बनाएका छन् । स्थानीय संघर्ष समितिका संयोजक राजु लामाले सार्वजनिक सम्पतिको संरक्षणका लागि आफूहरुले पहल गरेको बताए । पर्यटक आउन थालेपछि आफ्नै भूगोलमा बाहिरका मान्छे आएर होटल बनाउने आफूहरु हेरेको हे¥यौं भएकाले पनि भविष्यमा विगार्नुभन्दा अहिले नै व्यवस्थित गर्नु पर्ने उनले बताए ।
सरकारी जग्गा भाडामा लगाउने कार्यनीतिको व्यवस्था
सरकारी जग्गा दर्ता उपयोग तथा लिजमा लगाउने सम्बन्धि कार्यनीति २०७९ मा मालपोत ऐन २०३४ को दफा २४ को उपदफा १ को प्रयोजनका लागि सरकारले यो कार्यनीति निर्माण गरेको छ ।तत्कालीन समय देखिनै कार्यान्वयनमा आएको उक्त कार्यनीति अनुसार शैलुङको जग्गा लिजमा दिएको देखिदैन । कार्यनीतिले कुनै पनि सरकारी जग्गा लिजमा दिदा जिल्लास्थित प्रमुख जिल्ला अधिकारी नेतृत्वको सिफारिस समितिले छानविन गरि आबश्यक महसुस भए माथिल्लो निकायमा सिफारिस गर्नुपर्नेछ । तल्लो तहको सिफारिस आएपछि मात्रै उपयुक्त भाडादर निर्धारण गरि लिजमा जग्गा दिने निर्णय भएपछि मात्रै व्यक्ति वा संस्थाले कानुनको परिधिमा रहि जग्गा भाडामा भोगचलन गर्न दिने व्यवस्था छ । तर शैलुङ गाउँपालिकामा भने कतै सिफारिस नगरी सिधै अध्यक्षले उपाध्यक्षलाई साँक्षी राखेर जग्गा भाडामा उपलब्ध गराएको देखिन्छ ।
तस्बिरः कालापानीमा निर्माण भएका स्थायी संरना र अन्य कागजातहरु


























