global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापना गर्न खोटाङमा तीन करोड बजेट

जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापना गर्न खोटाङमा तीन करोड बजेट

जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापना गर्न खोटाङमा तीन करोड बजेट

कोशी प्रदेश सरकारले खोटाङमा जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापनाका लागि तीन करोड बजेट विनियोजन गरेको छ । कोशी प्रदेश सरकार, आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापना गर्नका लागि तीन करोड बजेट विनियोजन गरिएको बताए ।

खोटाङमा जडिबुटी जन्यवस्तु प्रशस्त रहेकाले स्थानीय स्रोत तथा साधनको सदुपयोग गर्दै जिल्लामै रोजगारी सिर्जना गर्ने उद्देश्यले निजी क्षेत्रको साझेदारीमा जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापना गर्नका लागि बजेट विनियोजन गरिएको भौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री भूपेन्द्र राईले बताए ।

कोशी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयअन्तर्गतको यो जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापना गर्ने कार्यक्रमलाई कोशी प्रदेश सरकारले प्राथमिकताका साथ अगाडि सारेको उनको भनाइ छ ।

प्रदेश सरकारको लगानीमा जिल्लामै पहिलो पटक जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापना गर्नका लागि बजेट विनियोजन भएपछि जडीबुटी व्यवसायी तथा कृषकहरू उत्साहित भएका छन् । जिल्लामा प्रशोधन केन्द्र नहुँदा चर्को शुल्क तिरेर बहुमूल्य जडीबुटीहरू अन्यत्र निर्यात गर्दै आएका व्यवसायीहरू जिल्लामै प्रशोधन स्थापना हुने भएपछि उत्साहित बनेका हुन् ।

जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र सञ्चालनको प्रचुर सम्भावना रहेको खोटाङमा प्रदेश सरकारले लगानी गर्ने कार्यक्रम प्रभावकारी हुने जिल्ला वन उपभोक्ता महासङ्घ खोटाङका अध्यक्ष मोहन गुरूङले जानकारी दिए ।

“खोटाङमा २५० भन्दा बढी प्रजातिका जडीबुटी पाइन्छ । प्रशोधन केन्द्र नहुँदा बिना उपलब्धि खेर गइरहेका छन्”, उनले भने, “प्रदेश सरकारको लगानीमा स्थापना हुने जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र कुनै व्यक्तिले लाभ लिने गरी स्थापना गर्नुहुँदैन । बृहत् अध्ययन तथा अनुसन्धान गरेर स्थापना गरिएको खण्डमा जिल्लाको आर्थिक उपार्जनको स्रोत बन्नेछ ।”

दश स्थानीय तह रहेको खोटाङका सामुदायिक वनमा चिराइतो, पाखनभेद, बुढोओखती, सतुवा, दतिवन, बेल, खस्रेटो आदि जडीबुटी पाउने गरिएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा केही स्थानीय तहका कृषकले आफ्नै लगानीमा व्यावसायिक जडीबुटी खेतीसमेत सञ्चालन गरेका छन् ।

पूर्वी नेपालका १४ जिल्ला समेटिएको कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि आइतबार ३५ अर्ब ८७ करोड ९९ लाखको बजेट प्रस्तुत गरेको छ । प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कुन जिल्ला तथा योजनाका लागि कति बजेट पर्‍यो भन्ने अहिलेसम्म खुलाइएको छैन ।

कोशी प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास एवम् स्वास्थ्यमन्त्री राई तथा सामाजिक विकासमन्त्री पाँचकर्ण राई ‘पिके’ खोटाङकै रहेकाले यस वर्षको बजेटमा खोटाङका लागि अधिकतम योजना पर्नेमा आशावादी छन् । रासस

प्रकाशित समय : १२:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु