गृहपृष्ठ निकुञ्जमा गैँडा हेर्ने समय
निकुञ्जमा गैँडा हेर्ने समय

गत शनिबार कार्यपालिका सदस्य र कर्मचारीको टोलीसहित निकुञ्ज घुम्न पुगेकी खैरहनी नगरपालिका उपप्रमुख कविता उप्रेतीले ३५ वटा हाराहारी एकसिङ्गे गैँडा देखिन । उनले एउटै घाँसे मैदानमा आठ वटा गैँडामात्र देखिनन ढुक्कसँग बाघ हेर्ने अवसरसमेत पाइनन ।
चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा घुम्न आउनेहरू यतिबेला दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडा, बाघ, भालुजस्ता जनावर हेर्न पाउँदा फुरुङ्ग हुने गरेका छन् । खैरहनी नगरपालिकाका–१९ जना कार्यपालिका सदस्य र १२ जना कर्मचारीले एकैसाथ ठूलो सङ्ख्यामा गैँडा र बाघ हेर्ने अवसर पाएको उप्रेती बताउछिन । उनले भनिन, “हामीले कसराबाट टाइगरटप्स जाँदै गर्दा एउटै घाँसे मैदानमा आठ वटा गैँडा देख्यौँ । फर्कंदा बाघ र भालु पनि देख्यौँ”, घोरल, सिंहकोब्राजस्ता वन्यजन्तु देखेको उनि बताउछिन ।
निकुञ्जभित्र पर्यटक बोक्ने जिप चलाउँदै आएका सोम तामाङ गत एक महिनायता दैनिक एउटा न एउटा जिपमा गएका पर्यटकले बाघ हेर्ने अवसर पाएको बताउछन । उनले भने, “टाइगरटप्स पुगेर फर्कंदा ३० भन्दाबढी गैँडा देख्न सकिन्छ ।” सौराहाबाट मात्र निकुञ्जभित्र ३२ वटा जिप चल्दछन् । यससँगै कसरा, मेघौली, माडी र नवलपरासी तर्फबाट होटलहरुका जिप निकुञ्ज छिर्ने गर्दछन् । दिउँसो १२ देखि १ बजेको समयमा गर्मीका कारण गैँडा आहाल खेल्न पोखरीमा पस्ने हुँदा कम देखिने भए पनि अन्य समयमा निकुञ्जका विभिन्न ठाउँमा सजिलै गैँडा देख्न सकिने उनि बताउछन ।
सामुदायिक वनमासमेत सहजै गैँडा देखिन थालेको छ । सौराहाका निजी हात्तीहरू व्यवस्थापन गर्दै आएको युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडा यो दुर्लभ वन्यजन्तु हेर्ने उपयुक्त समय भएको बताउछन । मध्यवर्ती सामुदायिक वनमा हात्ती चढेर जाने पर्यटकले सहजै गैँडा देख्ने गरेको उनको भनाइ छ । उनले भने, “अरूबेला बाघ हेर्न महिनौं कुर्नुपर्ने भए पनि अहिले बढीमा एक हप्तामा पर्यटकले सहजै बाघ देख्ने गरेका छन् ।”
चितवन राष्ट्रिय निकुञ्जका पूर्वी सेक्टर सौराहा हेर्दै आएका सहायक संरक्षण अधिकृत शान्तबहादुर मगर गर्मीको समयमा गैँडा पानीका पोखरी र सिमसार क्षेत्रहरूमा आउने हुँदा सजिलै देख्न सकिने बताउछन । घाँसेमैदान व्यवस्थापन गरेका कारण बाघलगायत वन्यजन्तुसमेत सहजै देखिने गरेको उनको भनाइ छ ।
अन्य कतिपय समयमा दिनभर निकुञ्ज घुमेर एकसिङ्गे गैँडा हेर्न नपाएर पर्यटक फर्कनुपर्ने भए पनि अहिले सहजै वन्यजन्तु हेर्न पाएपछि निकुञ्ज र सामुदायिक वनमा जिप र हात्ती सफारी एवं डुङ्गा सयर गर्नेहरू वढेको व्यवसायीहरू बताउँछन् । यो निकुञ्ज नेपालमा पर्यटकका लागि सफारीको प्रमुख गन्तव्य हो । यहाँ दुर्लभ वन्यजन्तु बाघ, गैँडाजस्ता जनावर हेर्न तेस्रो मुलुक, सार्क र नेपाली पर्यटकहरू आउने गर्दछन् ।
प्रकाशित समय : १८:०५ बजे