काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

गाडी ‘डाइभर्सन’ गरेर जीर्ण पुल मर्मत गरिँदै

3.28K
shares

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती पुलमा यातायातका साधन ‘डाइभर्सन’ गरेर मर्मत सुरु गरिएको छ । आज दिउँसो १२ बजेदेखि पुलबाट यातायात आवागमन बन्द गरेर मर्मत सुरु गरिएको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले जनाएको हो ।

पुलको सर्लाहीतर्फबाट पाँचौँ नम्बर स्पानको ‘ब्यारिङ प्याडेस्टल’ फुटेपछि केही दिनदेखि जोखिममा परेको थियो । आगामी फागुन १ गतेसम्मका लागि पुलबाट आवतजावत बन्द गरेर मर्मत गर्न लागिएको सडक डिभिजन कार्यालयका प्रमुख एवं इन्जिनियर अरुणकुमार लाल कर्णले जानकारी दिए । मर्मत अवधिभर पुलबाट आवागमन बन्द गरिएपछि यातायातका साधन पाँच सय मिटर तल खोलाबाट डाइभर्सन गरिने उनले बताए ।

इन्जिनियर कर्णले खोलामा बालुवा, गिट्टी बिछ्याएर, पानी भएको ठाउँमा ह्युमपाइप राखेर डाइभर्सन निर्माण गरिएको उल्लेख गरे । उनका अनुसार ‘ब्यारिङ प्याडेस्टल’ फुटेपछि पाँचौँ नम्बर स्पान पुलको सतहबाट पाँच इन्चभन्दा तल सरेर उत्तरपट्टि ढल्किएको छ ।

समयमा मर्मत नगरे पुलका साथै पुल भएर वारपार गर्ने सवारीसाधन जुनसुकै बेला दुर्घटनामा पर्ने जोखिम बढेकाले मर्मत सुरु गरिएको प्रमुख कर्णले बताए । “क्षति पुगेको पुलको स्पान केही तल सरेर ढल्केको छ”, उनले भने, “जोखिम कम गराउन यसलाई समयमा मर्मत गर्नुपर्ने भएकाले आजदेखि प्राविधिकसहितको जनशक्ति खटाएका छौँ ।” तीन÷चार दिनभित्रमा मर्मत काम सकेर पुनः यातायात सञ्चालन गरिने उनले बताए।

प्रमुख कर्णका अनुसार पुलमा ‘ब्यारिङ प्याडेस्टल’ मर्मत गरेर दबिएको भागलाई उठाइने र स्पानलाई सोझो बनाइने छ । क्षतिग्रस्त बागमती पुल यसअघि सडक विभागअन्तर्गत पुल महाशाखाको टोलीले निरीक्षण गरेको थियो । महाशाखाको प्राविधिक टोलीसहित सडक डिभिजन कार्यालयका जनशक्ति पुल मर्मतका लागि परिचालन गरिएको छ ।

पुलको बीच भागमा स्पान सरेपछि सर्लाही र रौतहट दुवैतर्फका सुरक्षा निकायले केही दिनयता सवारी आवागमनलाई नियन्त्रण गरेका थिए । करिब ५५ वर्ष पुरानो उक्त पुल समयसमयमा मर्मत नहुँदा पटकपटक जीर्ण बन्ने गरेको छ । जीर्ण पुलबाट आफूहरूले जोखिम मोलेर सवारी सञ्चालन गर्नु परिरहेको यातायात व्यवसायी दीपक श्रेष्ठले गुनासो गरे ।