गृहपृष्ठ रुसमा ३४ नेपाली विद्यार्थी पक्राउ
रुसमा ३४ नेपाली विद्यार्थी पक्राउ
रुसी अदालतले स्थानीय श्रम कार्यालयबाट श्रम इजाजत (लेवर परमिट) बिना काम गर्ने ३४ जना नेपाली विद्यार्थीलाई डिपोर्ट (देश निकाला) गर्न आदेश दिएको छ। ती विद्यार्थीहरुलाई डिपोर्टेशन सेन्टरमा नेपाल पठाउन राखिएको छ।
विद्यार्थी भिसामा रुस पुगेका ती विद्यार्थीहरुले विश्वविद्यालयको सहमति र श्रम इजाजतबिना काम गरेको भन्दै डिपोर्ट गर्ने फैसला सुनाइएको हो।
उनीहरुलाई गत कार्तिक १४ गते रुसी अध्यागमनका अधिकारीहरुले मस्कोको कुजमिन्कीस्थित जुवा खेलाउने कम्पनी वान एक्स वेटबाट पक्राउ गरेको हो। त्यहाँ उनीहरु कल सेन्टरमा काम गर्थे। जसमा १२ जना महिला विद्यार्थी रहेका छन्।
पक्राउ लगत्तै प्रहरीले स्थानीय अदालतमा पेस गरेको थियो। गैरआवासीय नेपाली संघ, रुसका अध्यक्ष केशव तिमल्सिनाका अनुसार ती विद्यार्थीहरुलाई मस्कोबाट ६० किलोमिटर टाढा पर्ने शाखा रवाहस्थित डिपोर्टटेशन सेन्टरमा राखिएको छ। उनीहरुलाई नेपाल पठाउने तयारी भइरहेको छ। जसमा तीन महिनादेखि डेढवर्ष अगाडि रुस आउनेहरु छन्।
डिपोर्ट भएपछि ५ वर्ष रुस आउन पाइँदैन। दुई वर्ष अघिपनि १५ जना विद्यार्थीलाई १४ दिनभित्र जेलमा राखेर डिपोर्ट गरिदिएको थियो।
प्रकाशित समय : १४:२६ बजे



















