गृहपृष्ठ भारत र क्यानडाबीचको तनाव फेरि उत्कर्षमा ६ क्यानडेली कूटनीतिज्ञलाई शनिबारसम्म भारत छाड्न निर्देशन
भारत र क्यानडाबीचको तनाव फेरि उत्कर्षमा ६ क्यानडेली कूटनीतिज्ञलाई शनिबारसम्म भारत छाड्न निर्देशन
भारत र क्यानडाका बीचमा लामो समयदेखि चलिरहेको तनाव फेरि उत्कर्षमा पुगेको छ । सन् २०२३ जुन १८ मा भारतीय मूलका क्यानडेली नागरिक हरदीप सिंह निज्जरको हत्यापछि दुई देशबीचको सम्बन्ध तनावपूर्ण रहिआएको छ ।
क्यानडाले आइतबार भारतलाई निज्जर हत्याकाण्डबारे ‘डिप्लोमेटिक कम्युनिकेशन’ (कूटनीतिक नोट) पठाएपछि दुई देशबीच चलिरहेको तनाव फेरि सतहमा देखिएको हो ।
‘डिप्लोमेटिक कम्युनिकेशन’ मा क्यानडाका लागि भारतीय उच्चायुक्त सञ्जयकुमार बर्मा र अन्य भारतीय कूटनीतिज्ञहरूमाथि सन् २०२३ जुन महिनामा खालिस्तान समर्थक अभियन्ता हरदीप सिंह निज्जरको हत्यामा संलग्न रहेको आरोप लगाएको छ ।
तर, भारतले उक्त आरोप अस्वीकार गरेको छ । निज्जर हत्याकाण्डमा भारतीय उच्चायुक्तको कार्यालयलाई मुछेकोप्रति भारतीय विदेश मन्त्रालयले कडा आपत्ति जनाएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले कयौँ चुनौतीहरूको सामना गरिरहेका भन्दै भारतले निज्जर हत्याकाण्ड अब राजनीतिसँग जोडिएको पनि दाबी गरेको छ ।
विदेश मन्त्रालयले जारी बयानमा भनेको छ, ‘हामीलाई आइतबार क्यानडाबाट एक डिप्लोमेटिक कम्युनिकेशन प्राप्त भएको थियो । त्यसमा क्यानडामा जारी जाँचबुझका क्रममा भारतका उच्चायुक्तसहितका कूटनीतिज्ञहरू संलग्न रहेको फेला परेको भनिएको छ । भारत सरकार यी आधारहित आरोपहरू अस्वीकार गर्दछ । ट्रुडो सरकार भोटका लागि यस्ता आधारहीन आरोप लगाइरहेको छ ।’
प्रकाशित समय : १४:११ बजे