global ime bank Long Banner Ad

गृहपृष्ठ बारा–पर्सामा वातावरणमैत्री उद्योग सञ्चालनमा जोड

बारा–पर्सामा वातावरणमैत्री उद्योग सञ्चालनमा जोड

वीरगञ्ज। बारा–पर्सा औद्योगिक करिडोरका उद्योगलाई वातावरणमैत्री बनाउँदै सिर्सिया नदीको प्रदूषण नियन्त्रण गर्न सरकार, उद्योगी र स्थानीय तहबीच समन्वय आवश्यक रहेको सरोकारवालाले बताएका छन्।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घको सहकार्यमा प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिले बुधबार आयोजना गरेको ‘पर्सा–बाराका नदीहरूको स्वच्छता प्रवर्द्धन, औद्योगिकीकरण, प्रदूषण व्यवस्थापन तथा उद्योगका समस्या र समाधान’ विषयक अन्तरक्रियामा सहभागीहरूले प्रशोधन नगरी रसायनयुक्त फोहर नदीमा मिसाउने प्रवृत्ति रोक्नुपर्नेमा जोड दिएका हुन्।

समितिका सभापति रहबर अन्सारीले पथलैया–वीरगञ्ज औद्योगिक करिडोरका उद्योगबाट निस्कने फोहर व्यवस्थापनलाई आरोप–प्रत्यारोपको विषय नबनाई सामूहिक जिम्मेवारीका साथ दीर्घकालीन समाधान खोज्नुपर्ने बताए। उद्योगबाट निस्कने फोहर व्यवस्थापनमा राज्यको दायित्व रहे पनि उद्योगले पनि आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने उनको भनाइ थियो। वातावरण संरक्षणलाई केन्द्रमा राखेर उद्योग सञ्चालनसम्बन्धी नीति प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए।

प्रतिनिधिसभा सदस्य हरि पन्तले प्रशोधन नगरी रसायनयुक्त फोहर पानी सिर्सिया नदीमा मिसाइँदा स्थानीयको स्वास्थ्यमा प्रत्यक्ष असर परेको उल्लेख गर्दै नदीलाई प्रदूषणमुक्त बनाउनु सबैको साझा दायित्व भएको बताए। अर्का सांसद अरविन्द साहले पनि स्थानीय बासिन्दाको स्वास्थ्यलाई ध्यानमा राखेर उद्योग सञ्चालन हुनुपर्ने धारणा राखे।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद गौतमले सिर्सिया नदीको प्रदूषण उद्योगीको मात्र समस्या नभई सबै सरोकारवालाको साझा चुनौती भएकाले सङ्घीय, प्रदेश र स्थानीय सरकारसँगै उद्योगीबीच सहकार्य आवश्यक रहेको बताए।

बारा र पर्साका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र र भोला दाहालले छलफलबाट प्राप्त सुझावका आधारमा सिर्सिया नदीको प्रदूषण नियन्त्रणका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा सहभागी उद्योगीहरूले उद्योग सञ्चालनको अनुमति दिने राज्यले नै औद्योगिक फोहरको उचित व्यवस्थापनका लागि आवश्यक पूर्वाधार र प्रणाली विकास गर्नुपर्ने धारणा राखे।

वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योगबाट वर्षौंदेखि प्रशोधन नगरी रसायनयुक्त फोहर सिर्सिया नदीमा मिसाइँदै आएको भन्दै स्थानीयवासीले दुर्गन्ध, स्वास्थ्य समस्या, खेतीपातीमा क्षति तथा पशुचौपायामा प्रतिकूल असर भोग्दै आएको गुनासो गर्दै आएका छन्।

प्रकाशित समय : २१:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु