global ime bank Long Banner Ad

गृहपृष्ठ पेस्की असुलीमा बोर्डको कडाइ, खोटाङबाट आठ लाख फिर्ता

पेस्की असुलीमा बोर्डको कडाइ, खोटाङबाट आठ लाख फिर्ता

पेस्की असुलीमा बोर्डको कडाइ, खोटाङबाट आठ लाख फिर्ता

विराटनगर। कोशी प्रदेश खेलकुद विकास बोर्डले विभिन्न जिल्ला खेलकुद विकास समितिलाई उपलब्ध गराएको पेस्की रकमको फर्छ्योटमा कडाइ थालेको छ। लामो समयदेखि खर्च विवरण नबुझाइएका तथा फिर्ता हुन बाँकी रकम असुल गर्न बोर्डले प्रक्रिया अघि बढाएको हो।

बोर्डका सदस्यसचिव विप्लब घोषका अनुसार खेलकुद प्रतियोगिता सञ्चालन र खेलाडीका लागि छुट्याइएको रकम अन्य प्रयोजनमा प्रयोग गर्न नमिल्ने भएकाले पेस्की व्यवस्थापनमा कडाइ गरिएको हो। खेलकुदका नाममा निकासा भएको रकम समयमै फर्छ्योट नगर्ने प्रवृत्ति रोक्न असुली प्रक्रिया अघि बढाइएको उनले बताए।

बोर्डले २०८१ माघ १३ गते विभिन्न जिल्ला खेलकुद विकास समितिलाई पठाएको रकममध्ये जिल्ला खेलकुद विकास समिति खोटाङसँग असुल हुन बाँकी रहेको आठ लाख रुपैयाँ फिर्ता भएको जनाएको छ। उक्त रकम समितिले असार ८ गते सामाजिक विकास मन्त्रालयको खातामा जम्मा गरेको सदस्यसचिव घोषले जानकारी दिए।

यस्तै, जिल्ला खेलकुद विकास समिति तेह्रथुमका तत्कालीन अध्यक्ष राजेन्द्र बरालसँग सम्बन्धित २५ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना प्रकरणमा पनि बोर्डले कानुनी प्रक्रिया अघि बढाएको छ। बोर्डका अनुसार बरालले कार्यालय प्रमुखको हस्ताक्षर कीर्ते गरी कृषि विकास बैंकमा ‘तेह्रथुम डिस्ट्रिक्ट स्पोर्ट्स विकास समिति’का नाममा खाता खोली समितिको रकम हिनामिना गरेको आरोप छ।

सदस्यसचिव घोषले उक्त रकम असुल गर्न कानुनी प्रक्रिया सुरु भइसकेको बताउँदै सबै रकम फिर्ता गराई खेलकुद र खेलाडीको हितमा परिचालन गरिने बताए।

प्रकाशित समय : २१:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु