देशका ११ ठूला भ्रष्ट सचिवको सूची : नेताभन्दा बढी भ्रष्टाचारी कर्मचारी
वि.सं.२०८१ असोज १९ शनिवार ११:३६
shares
यो देश तहसनहस बन्दै जानुका पछाडी नेतामात्रै दोषी छैन् त ? होइन । क्षमता र विषय विज्ञताका हिसाबले ‘कालो अक्षर भैंसी बराबर’ रहेका नेताहरुलाई घुमाई घुमाई, भाषा मिलाई मिलाई, कानुनका छिद्र केलाई–केलाई बुद्धि भुट्ने र देश लुट्ने भूमिकामा भाइरसजस्तै सक्रिय छन्, सरकारी कर्मचारीहरु पनि । अब म केही व्यक्तिको नाम लिँदैछु, जसले सरकारी कर्मचारीको आवरणमा गोरखधन्दा चलाएर नागरिक भुट्नेदेखि देश लुट्नेसम्मको काम गरेका छन् । रातारात अर्बाै कुम्ल्याएर आलिशान जिन्दगी बाँचेका छन् । त्यसमध्ये कति भ्रष्टाचारको मुद्दा लागेर पद मुक्त भएका छन् भने कति जेलमा आफुले लुटेको हिसाब निकाल्दैछन् ।
१. बैकुण्ठ अर्याल, सरकारका पूर्वमुख्यसचिव
कर्मचारीतन्त्रको प्रमुख पदमा थिए, बैकुण्ठ अर्याल । अर्थात् देशको नेतृत्व प्रधानमन्त्रीले गरेजस्तै बैकुण्ठले कर्मचारीतन्त्रको पुरै नेतृत्व गर्थे । ८२ हजारभन्दा बढी निजामति कर्मचारीका पनि प्रधानमन्त्री जस्ता थिए । तर देश चलाउने प्रधानमन्त्रीको दाहिने अर्थात् मुख्यसचिव भएकै बेला यीनी ३८ करोड रुपैयाँ भ्रष्टाचार भएको प्रकरणमा मुछिए । पद बहालमा भएकै भ्रष्टाचारको मुद्दा लाग्ने इतिहासकै पहिलो मुख्यसचिव हुन् अर्याल । अहिले उनी निलम्बित अवस्थामा छन् । सुरक्षण मुद्रण केन्द्रबाट अन्तःशुल्क स्टिकर छपाइका क्रममा घोटाला भएको दाबीसहित २०८१ असार ९ गते उनीविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अहिले ५० हजार धरौटीमा थुनाबाहिरै बसेर मुद्दा लड्ने सुविधा पाएका छन् ।
२. टेकनारायण पाण्डे, पूर्वगृहसचिव
आफ्नै नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा सक्रिय भएको खुलेपछि अहिले पक्राउ परि पूर्पक्षका लागि थुनामा छन् । २८ करोडभन्दा बढीको लेनदेन प्रकरणमा उनको भूमिका मुख्य छ । कर्मचारीतन्त्रलाई बद्नाम पार्ने एक कुख्यात पात्रका रुपमा उनको परिचय स्थापित भएको छ ।
३. दीप बस्न्यात, पूर्वसचिव तथा अख्तियार प्रमुख
ललिता निवासको सरकारी जग्गा व्यक्तिको बनाएको प्रकरणमा पूर्व भौतिक पूर्वाधार मन्त्रालयका सचिव दीप बस्न्यात दोषी ठहर भए । अख्तियारजस्तो भ्रष्टाचारको नियमन गर्ने निकायकै प्रमुख रहेका बस्न्यातलाई विशेष अदालतले दोषी ठहर गरि दुई बर्ष कैद, ८० लाख जरिवाना र ९ करोड ६५ लाख बिगो असुल गर्ने फैसला गरेको छ । उनी इतिहासकै भ्रष्ट सचिवको रुपमा दर्ज छन् ।
४. छविराज पन्त, पूर्वसचिव
ललिता निवास जग्गा प्रकरणमै पूर्व भूमि सुधार सचिव छविराज पन्त पनि दोषी ठहर भए । उनलाई पनि दुई बर्ष कैद, ८० लाख जरिवाना र ९ करोड ६५ लाख बिगो असुल गर्ने फैसला भएको छ ।
५. राजनारायण पाठक, पूर्वआयुक्त, अख्तियार दुरुपयोग अनुसन्धान आयोग
भ्रष्टाचारविरुद्ध लड्ने प्रमुख अड्डा नै अख्तियार हो । त्यसको आयुक्त थिए राजनारायण पाठक । तर उनैले भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजको सम्बन्धन विवाद मिलाउने भन्दै ७८ लाख रुपैयाँ घुस लिएको पुष्टि भयो । २०७५ मा मुद्दा दायर भएपछि तीन बर्ष तीन महिनाको कैदसहित ३९ लाख तिराउने फैसला भएको छ ।
६. दिनेशहरि अधिकारी, पूर्वसचिव
उनीविरुद्ध पनि अख्तियारले बालुवाटार जग्गा प्रकरणमै भूमिका देखाएर मुद्दा दर्ता गरेको थियो । तथापी उनले सफाई पाएका थिए ।
७. गजेन्द्र ठाकुर, पूर्वसचिव
स्थायी सरकारको नेतृत्व गर्ने कर्मचारी संयन्त्रकै उच्चपदस्थ भ्रष्टाचारी प्रमाणित भएको अर्काे उदाहरण हुन्, गजेन्द्र ठाकुर । मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको भन्दै उनलाई ८ बर्ष कैद सजाय तोकिएको छ । १० करोड १० लाख बिगो र उत्तिकै रकम जरिवना भर्न विशेष अदालतले भनेको छ ।
८. भीम उपाध्याय र सञ्जय शर्मा, पूर्वसचिव
मेलम्ची खानेपानीमा भ्रष्टाचार गरेको भन्दै तत्कालिन खानेपानी सचिव भीम उपाध्यायविरुद्ध पनि मुद्दा दर्ता भएको थियो। जहाँ अख्तियारले उपाध्यायले ४ करोड ११ लाख भ्रष्टाचार गरेको ठहर गरेको थियो । तर उनले विशेषबाट सफाई पाएका छन् । तथापी अख्तियार सर्वाेच्च गए, उनले सजिलै छुटकारा पाउनेछैनन् । उनीसहित तत्कालिन सचिव सञ्जय शर्माले समेत सफाइ पाएका छन् ।
९. गोपाल खड्का, तत्कालिन कार्यकारी निर्देशक, नेपाल आयल निगम
भ्रष्ट सरकारी कर्मचारीको सूचीमा नेपाल आयल निगमका तत्कालिन कार्यकारी निर्देशक गोपाल खड्का पनि छन् । इन्धन भण्डारणका लागि जग्गा खरिद गर्दा भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतले २०८० असार १५ गते उनलाई एक बर्ष तीन महिना कैद र १८ करोड बिगो भराउने र सम्पत्ति जफत गर्ने फैसला गरेको थियो ।
१०. चुडामणि शर्मा, पूर्वसहसचिव
आन्तरिक राजश्व विभागको महानिर्देशक थिए, चुडामणि शर्मा । तर कर फस्र्याेट आयोगमा हुँदा भ्रष्टाचार गरेको भन्दै उनी दोषी ठहर भए । विशेष अदालतले २०८० असार ५ गते ९ बर्षको कैद सजाय सुनाएको छ । ६ अर्ब १६ करोड ४० लाखभन्दा बढी बिगो र जरिवाना गरिएको छ । उनी अहिले कैदमा बसेर विशेषको फैसलाविरुद्ध सर्वाेच्चमा मुद्दा लडिरहेका छन् ।
११. मधुकुमार मरासिनी, सचिव
मधुकुमार मरासिनी सरकारका बहालवाला सचिव हुन् । अर्थसचिव हुँदा पेमेन्ट गेटवे प्रकरणमा २५ करोड भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा चलायो । विशेषले गत बैशाख ७ मा सफाई दिएपछि उनको पद जोगियो । तर अख्तियार सर्वाेच्च जाने भएको छ । अहिले उनी राष्ट्रिय योजना आयोगको सचिव छन् ।

























