गृहपृष्ठ ‘अभावमा महंगोमा दूध खरिद गर्नुपर्दा घाटा हुने गरेको छ’

‘अभावमा महंगोमा दूध खरिद गर्नुपर्दा घाटा हुने गरेको छ’

‘अभावमा महंगोमा दूध खरिद गर्नुपर्दा घाटा हुने गरेको छ’

दुग्ध विकास संस्थान (डीडीसी) नेपालको ग्रामीण क्षेत्रका दुग्ध उत्पादक किसानहरूबाट उत्पादन गरिएको दुधको समुचित बजार व्यवस्थापन र बिक्रि गर्ने निकाय हो । उपभोक्ताका लागि स्वच्छ तथा प्रशोधित दुध तथा दुग्ध पदार्थहरूको उचित मूल्यमा आपूर्ति गर्ने उद्देश्यले तत्कालीन दुग्ध विकास बोर्ड संस्थान ऐनअनुसार वि.सं. २०२६ साल श्रावण १ गतेदेखि दुग्ध विकास संस्थान अस्तित्वमा आएको थियो ।

अलिकति विगतलाई फर्किएर हेर्दा नेपाल सरकारको कृषि विभागअन्तर्गत रहेको तत्कालिन दुग्ध विकास वोर्डले वि.सं २००९ मा टुसाल, काभ्रेपलान्चोक र खरिपाटी भक्तपुरमा १/१ गोटा दुग्ध संकलन केन्द्र स्थापना गरेको थियो । त्यसका साथै लाङटाङ रसुवामा एक याक चीज केन्द्र स्थापना सँगसँगै दुग्ध विकासको इतिहास थालनी भएको पाइन्छ । तत्पश्चात वि.स. २०१०/११ मा काठमाडौंको भोटाहीटीमा दुग्धशाला स्थापना गरि दुग्ध प्रशोधन कार्यको पनि थालनी भएको विगत छ ।

संगठित रुपमा दुग्ध व्यवसायलाई बढी प्रभावकारी बनाई ग्रामिण क्षेत्रका कृषकहरुद्धारा उत्पादित दूधको सुरक्षित बजार र शहरी क्षेत्रका उपभोक्ताहरुलाई उच्च गुणस्तरयुक्त प्रशोधित दूध तथा अन्य दुग्ध पदार्थहरु आपूर्ति गर्ने उद्देश्यसहित यसले काम गरिरहेको छ ।

सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)ले दूध किसान परिवारबाट दैनिक दुई लाख लिटर हाराहारीमा दूध किन्ने गरेको छ । तर कहिलेकाहीँ घाटाको तथ्यांक र किसानलाई भुक्तानी नदिएको विषयले समेत संस्थान आलोचित बन्ने गरेको छ । पछिल्लो एकसातामा बाढी र पहिरोका कारण संकलन र बिक्रिमा समस्या पनि भइरहेको छ । यसै विषयमा केन्द्रीत रहेर हामीले दुग्ध विकास संस्थान, काठमाडौं दुग्ध वितरण आयोजनाका प्रमुख गणेशकुमार यादवसँग कुराकानी गरेको छौं । जसको सम्पादित अंश यस्तो छः

देशमा ठूलो बाढी आयो । पहिरोमा परेर धेरैले ज्यान गुमाए । पछिल्लो एकसाता यता सडक सञ्जालहरु अवरुद्ध बनेपछि आपूर्ति र संकलन कार्यमा अवरोध सिर्जना भएको छ । दुग्ध विकास संस्थानलाई भने के असर गर्‍यो ?

हामीलाई सबैभन्दा ठूलो समस्या दूध संकलनमा भयो । सडक सञ्जालहरु अवरुद्ध बनेपछि किसानबाट दूध संकलन गर्न समस्या भएको हो । चितवन र धादिङ क्षेत्रबाट दुध संकलन गरि आउँदै गरेका ४ वटा ट्यांकर बाटोमै रोकिए । शुक्रबार हिडेका ट्यांकरहरु आइतबारमात्रै बल्ल बल्ल सुरुङमार्ग हुँदै आएपछि दूध काठमाडौं आईपुग्यो । ४ वटा ट्यांकरमा झण्डै ३० हजार लिटर दुध थियो । तर १० हजार लिटर फाटेको छ ।

अन्य ठाउँबाट संकलन गरिएको दूधको अवस्था के छ ?

जहाँ जहाँ गाडी जान पाएन त्यो ठाउँमा झण्डै १२ सय लिटर फाटेको भन्ने खबर आएको छ । आजसम्म पनि राम्रोसँग बाटो खुलेको छैन । अब भोलिसम्म सहज भयो भने मान्छे पठाएर संकलन गर्ने तयारी छ ।

सेवा प्रवाह रोकिएको छ कि छैन ?

शनिबार हाम्रो सेवा प्रवाहमा समस्या भएको थियो । ग्वार्काे, बल्खु र नख्खु साइटमा दूध जान पाएन । अरु ठाउँमा पनि अरुबेला भन्दा कम गयो । नियमितभन्दा ५ हजार लिटर दूध कम गयो ।

अहिले अधिकांश राजमार्गहरु अवरुद्ध छन् । कहाँ–कहाँबाट आइरहेको छ र कहाँ–कहाँबाट आउन सकेको छैन ?

चितवनमा हिजो गाडी पठाएका छौं आज आउँदैछ । बनेपा, साखुँ, टिकाभैरव लगायतका स्थानबाट आइरहेको छ ।

अहिले दैनिक दूध कति माग छ ? संकलन कति भइरहेको छ ?

अहिले प्रत्येक दिन ७० देखि ७२ हजार लिटर दूध खपत भइरहेको छ । त्यसमा दही एक हजारदेखि १५ सयसम्म खपत हुन्छ ।

दशैं, तिहारजस्ता चाडपर्वमा आपूर्ति र संकलनको अवस्था कस्तो हुन्छ ?

दुग्ध विकासको बजार अहिले काठमाडौंमा केन्द्रीत छ । मार्केट नै काठमाडौं हो । दशैं तिहारका बेला सबै मानिस बाहिर जान्छन् । त्यसैले यतिबेला निकै कम खपत हुन्छ । झण्डै ३० प्रतिशत खपत घट्छ ।

अब अलिकति संस्थानको आर्थिक पाटोमा केन्द्रीत रहेर कुरा गरौं । संस्थानले जहिल्यै घाटामा रहेको बनेर आलोचना खेपिरहेको हुन्छ । झण्डाझण्डै टाट पल्टिएको अवस्थामा रहेको दूध विकास संस्थान २०७३ तिर ४८ बर्षपछि नाफामा पुगेको थियो । अहिले अवस्था कस्तो छ ?

समग्र रुपमा हेर्दा त, अहिले पनि संस्थान घाटामै छ । आर्थिक बर्ष ८०/०८१ मा झण्डै ४ करोड जति घाटा छ । अघिल्लो आर्थिक बर्षमा त्यो भन्दा अलि बढी नै थियो ।

हामीले नाफालाई निरन्तरता राख्न किन सकेनौं ?

हाम्रो जस्तो सानो मुलुकमा दूध उत्पादनमा थोरै कमी आयो भने अभाव सिर्जना हुने अवस्था छ । त्यस्तो अभावमा महंगोमा दूध खरिद गर्नुपर्दा घाटा हुने गरेको छ । त्यसमा पनि सरकारले मूल्य तोकिदिएकाले महंगोमा किनेर कम मूल्यमा बेच्दा घाटा बढी हुन जान्छ । त्यसमा पनि कर्मचारीको तलब दिँदा बढी खर्च हुन्छ ।

तपाईँ आफैँले नेतृत्व गरेको काठमाडौं दुग्ध वितरण आयोजनाको अवस्था चाहीँ कस्तो छ ?

बालाजु आयोजना कार्यालय त जहिले पनि नाफामा हुन्छ । यसअघि मैले ६ महिना नेतृत्व गरेको थिए । त्यतिबेला ९ करोड नाफामा थियो । अहिले आर्थिक बर्ष ८०/०८१ मा ३४ करोड नाफामा छ ।

बेला बेलामा किसानलाई दूधको भुक्तानी दिन सकेन भनेर आलोचना पनि हुन्छ ? किसानको भुक्तानी चाहीँ किन रोक्नुहुन्छ ?

संस्थानको दैनिक बिक्रि भन्दा संकलन धेरै भएर दूधलाई मखन लगायतका बस्तुमा परिणत गर्दा हामीसँग यसअघि १ अर्ब ३० करोडभन्दा बढी रकम स्टक थियो । तर अहिले त्यति छैन । दूधबाट बनाएको मखनलगायत पाउडर दूध किसानले पाउने भुक्तानीभन्दा बढी मूल्य बराबरको मौज्दात भएको कारण पनि भुक्तानीमा समस्या आउँछ ।त्यसैले दूधको नियमित भुक्तानी दिन समस्या छ ।

०००

प्रकाशित समय : २०:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु