रवि र धनराजको मुद्दा उस्तै, कारबाही प्रक्रिया कस्तो होला ?
वि.सं.२०८१ असोज ७ सोमवार १३:५९
shares

‘ओराली लागेको हरिणको चाल भो’ भनेझैं अवस्थामा छन्, कांग्रेस उपसभापति धनराज गुरुङ । सहकारीको रकम ठगीमा नाम जोडिएपछि अहिले धनराज उनकै पार्टीका पदाधिकारीबाट खेदिन थालेका छन् । कानुनमन्त्री बन्दासम्म निष्ठाको राजनीतिको ध्वास लगाउने गुरुङ आफ्नै अनुहारमा कोलो पोतिएपछि थप निष्ठा सिकाउने अवस्थामा छैनन् । ललितपुरस्थित मितेरी सहकारीको करिब १५ करोड रकम हिनामिनामा गुरुङकी पूर्वपत्नी ज्योति संलग्न रहेको र त्यसबाट धनराजले पनि लाभ लिएको भनेर सहकारीका अध्यक्ष कुम्भराज गुरुङले सार्वजनिक बयान नै दिएका छन् ।
यस्तै अवस्थामा उनीमाथि अनुसन्धानको माग भइरहेको छ । गृह मन्त्रालय कांग्रेसकै नेतृत्वमा छ । अहिले माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीका लागि यो ठूलो मुद्दा हो । रास्वपाका सभापति स्वयंम् सहकारीबाट गोर्खा मिडियामा आएको रकमको भागिदार बन्ने बिषय प्रतिवेदनले नै औंल्याएपछि नेता कार्यकर्ता उनकै प्रतिवादमा उत्रिँदा धनराजको बिषय ओझेलमा परेको छ । तर, कांग्रेसकै नेताहरु उनीमाथि अनुसन्धान गर्न माग गरिरहेका छन् । अझ महामन्त्रीद्वयहरुले त खुल्ला चुनौती नै पस्किरहेका छन् ।
हुनत, पत्नी ज्योतिसँग २०७६ मै सम्बन्धबिच्छेद गरिसकेकाले उनी ठगीको भागिदार आफु नबन्ने दाबी गरिरहेका छन् । तर, डिभोर्स नै ‘सहकारी डिभोर्स’ भएको भन्दै छानबिनको माग भइरहेको छ । धनराज पार्टीमा पनि संस्थापन इतर वा शेखर–गगन पक्षका मानिन्छन् । तर, गगन संसदीय दलको नेताका लागि उभिँदा धनराजले धोका दिँदै देउवाको पक्षमा उभिएको आरोप खेपे । यसैकारण पनि गगनले उनीमाथि कडा अनुसन्धान हुनुपर्ने माग गरेका हुनसक्छन् भन्ने बुझाई कतिपयको छ ।
सहकारी रजिष्ट्रारको कार्यालय हेटौडाको पत्रका आधारमा मितेरी सहकारीको रकम अपचलनबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान अघि बढाएको छ । सहकारी रजिष्ट्रार हेटौंडाबाट महाप्रबन्धक ज्योति गुरुङ र उनलाई सहयोग गर्ने पूर्वकर्मचारीहरु ज्योतिबहादुर भण्डारी, सुजन शाक्य, हितमान थापा र प्रकाश थापाविरुद्ध जाहेरी परेको देखिन्छ । आन्तरिक छानबिनले रकम अपचलन भएको देखिएको भन्दै सहकारीले दिएको उजुरीमा धनराजलाई समेत प्रतिवादी बनाउन माग गरेको देखिन्छ ।
सीआईबीले धजराजमाथि समेत अनुसन्धान बढाएको अधिकृतहरु बताउँछन् । उनीहरुका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा धनराजले सहकारीमा तिरेको रकम शंकास्पद रहेको देखिएको छ । धनराजले मितेरी सहकारीबाट ऋण लिएकोमध्ये ६८ लाख २६ हजार ९१४ रुपैयाँ एकैदिन तिरेको पाइएको छ । एकै व्यक्तिको बैंक खाताबाट एकैदिन रकम जम्मा हुँदा पनि एउटै चेकमार्फत रकम जम्मा नभई पटक–पटक जम्मा हुनु शंकास्पद देखिएको सीआईबी स्रोतको भनाइ छ । धनराजले लिएको कर्जा कहिल्यै उनले आफ्नै चेकमार्फत तिरेका छैनन् । यसरी जम्मा भएको रकमलाई समेत शंकास्पद मानिएको छ ।
सत्तापक्षका सांसद धनराज गुरुङ प्रत्यक्ष रुपमा सहकारीको विवादमा मुछिँदा पनि प्रतिपक्षमा रहेको दलहरु भने मौन देखिन्छन् । उनीहरुले यस विषयलाई कुनै पनि मुद्दा बनाएको देखिँदैन । विशेषगरी आफ्नै सभापतिको विषयलाई लिएर तीन महिनासम्म संसद अवरोध गरेको कांग्रसकै उपसभापति सहकारी काण्डमा मुछिँदा पनि रास्वपाले कुनैपनि विरोध गरेको देखिँदैन । त्यसलाई राजनीतिक एजेण्डा बनाएको पनि देखिँदैन । अहिले रास्वपा सहकारीको नाम लिने बित्तिकै चार कोष पर भाग्छ । धनराजमाथि प्रश्न उठाउँदा आफूमाथि पनि कारबाहीको सुई तेर्सिने डर उनीहरुमा देखिन्छ । यसले गृह मन्त्रालय नै अघि नबढेसम्म धनराजलाई राहत नै मिल्नेछ । तर सहकारीको छानबिनका लागि बनेको संसदीय समितिले कारबाही सिफारिश गरेका व्यक्तिमाथि भने सरकार निर्मम बन्ने संकेत गरेको छ ।
छबि पक्राउ, रवि कहिले ?
अहिले समितिले सिफारिश गरेका छबिराज जोशी पक्राउ परेका छन् । गोरखा मिडियाको रकम हिनामिनामा जीबी र रविसँगै उनी पनि जोडिएका थिए । छबि पक्राउ परेपछि रवि पनि पक्राउ पर्ने सम्भावना रहेको कुरा सार्वजनिक भएपछि रास्वपाभित्र अहिले भूकम्प गएको छ । रविले पनि सरकारको कदमबाट आतंकित भएर आइतबार बेलुका पार्टी कार्यालयमै कार्यकर्तालाई बोलाएर सम्बोधन गरेका थिए । तर उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको भने पुष्टि भएको छैन ।
























