छ महिनामा जग्गा दर्तासम्बन्धी समस्या समाधान हुन्छः मन्त्री अधिकारी
वि.सं.२०८१ साउन २७ आइतवार २०:५८
shares

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले भूमिसम्बन्धी समास्या समाधान गर्ने काम द्रतगति अगाडि बढाइएको बताएको छ ।
गौराहद नगरपालिका–५ मा आज आयोजित जग्गा दर्तासम्बन्धी आदेश २०८१ कार्यान्वयनसम्बन्धी सरोकारवाला निकायसँगको अन्तरक्रियामा उहाँले छ महिनाभित्रमा जग्गा दर्तासम्बन्धी समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
“लामो समयदेखि भोगचलन गरिरहेको तर धनीपूर्जा नहुने सबैलाई जग्गाको मालिक बनाउने अभियानमा सरकार छ”, उनले भने। उनले मन्त्रालयले उच्चस्तरीय अधिकारीहरु संलग्न रहेको आयोग गठन गरी कर्मचारीहरु काममा खटाइसकेको जानकारी दिँदै काम गर्दै जाँदा आउने कानूनी जटिलतालाई स्थानीय सरकार, सरोकारवाला पक्ष र राजनीतिक दलहरुले संयुक्त रुपमा समाधानका लागि सहयोग गर्न आग्रह गरे ।
गौरादह नगरपालिका ४ र ५ का जमिन दर्ता प्रक्रियालाई अगाडि बढाउने पहिलो निर्णय नै मन्त्रिपरिषद्बाट भइसकेको उनले बताए।
त्यसअवसरमा संविधानसभा सदस्य दीपक कार्कीले अघिल्लोपटक गठित भूमि आयोगले समेत कानुनी जटिलताकै कारण काम गर्न नसकेको मन्त्रीलाई जानकारी गराए ।
कार्यक्रममा कोशी प्रदेशसभा सदस्य अम्बरबहादुर विष्टले ६० वर्षदेखि जग्गा समस्याको समाधानको पर्खाइमा रहेका महारानीझोडाबासीले यसपटक भने सफलता पाउनेमा आफू विश्वस्त रहेको बताए । गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले महारानीझोडा क्षेत्रको समस्या समाधानका लागि सरकारले समिति गठन गरेकोमा खुसी व्यक्त गरे ।

























