अमर व्यक्तित्व : पण्डितराज नयराज पन्त
वि.सं.२०८१ साउन २६ शनिवार १९:१९
shares

बहुआयामिक प्रतिभा सम्पन्न, आजन्म सरस्वतीभक्त, सत्यतथ्यको खोज तथा प्रकाशनमा अनवरत र अथकित अन्वेषण गर्ने, नेपाली इतिहासलेखन विधाका सशक्त सारथि, गणितज्ञ, ज्यौतिष, बहुभाषाविद्, शैक्षिक पुनर्जागरणका अग्रणी, साहित्यकार जस्ता अनेकौँ विशेषता भएको मानवताका एक सरल पात्रको नाम होस नयराज पन्त । नेपालको शिक्षाको इतिहासमा सर्वाधिक चर्चित उनी जस्ता व्यक्तित्वको गुणानुवर्णन शब्दकोशमा भएका सबै सकारात्मक विशेषणले भर्दा पनि अपुरो र अधुरो नै रहन्छ । नयनाथ पौडेल, अच्युत अधिकारी जस्ता सज्जनहरूले उहाँका सन्दर्भमा अनुसन्धान नै गरी विद्यावारिधि हासिल गरेको प्रसङ्ग स्मरणीय छ । यस्ता युगपुरुष नयराज गुरुको ११२ औँ जन्मजयन्तीका अवसरमा यस लेखमा केही चर्चा गर्न खोजिएको छ ।
उनको जन्म १९७० साउन २६ गते काठमाडौंमा भएको थियो । करिब डेढ वर्षमा नै पिताजी गुमाएका पन्तको शिक्षादीक्षा पालनपोषण मावली बाजे पण्डित भुवननाथ पाँडेबाट भएको हो । बाजेकै प्रेरणा र आशीर्वादबाट उहाँ इतिहासको अध्ययन तथा अनुसन्धानतर्फ केन्द्रित भएको सन्दर्भको चर्चा स्वयम्ले गरेको छ । १९ वर्षको उमेरमा १९८९ सालमा भारतको बनारसमा ज्यौतिष विषयमा अध्ययन कार्य थालनी गरे ज्योतिष विषयमा नै स्नातकोत्तर तह अब्बल श्रेणीमा उत्तीर्ण गरेपछि १९९५ सालमा काठमाडौं फर्के । प्रारम्भमा रुद्रराज पाण्डेको सदासयबाट गुठी अड्डाका पुराना कागज अध्ययन, टिपोट र संरक्षण गर्ने काम पाए । विसं १९९७ सालदेखि भाषानुवाद परिषद्मा काम गर्न प्रारम्भ गरी सोही सालदेखि नै रानीपोखरी संस्कृत पाठशालामा पढाउने दायित्व पनि ग्रहण गरे । करिव ६ दशकसम्म निरन्तर राष्ट्रसेवामा समर्पित पण्डित नयराज पन्तले २००८ सालसम्म रानीपोखरी संस्कृत पाठशालामा पठनपाठन गरे । विसं २०१० सम्म नेपाली भाषा प्रकाशिनी समितिमा र विसं २००८ देखि २०२२ सम्म नेपाल राजकीय संस्कृत विद्यालयमा सेवा गरेको थियो । विसं २०३३ देखि २०३५ सम्म त्रिभुवन विश्वविद्यालयमा सेवारत रहेका पन्तले २०३६ सालदेखि चार पटकसम्म तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य भई उल्लेख्य सेवा गरेको थियो ।
पन्तले २००९ सालमा संशोधन मण्डल र गुरुकुलको परम्पराअनुसार पठनपाठन गर्ने पाठशाला पनि स्थापना गरे । सोही पाठशाला र संशोधन मण्डलको उद्देश्यलाई सार्थक बनाउन सदैव तपस्यारत रहे । संस्कृत, हिन्दी र नेपाली भाषामा विशेष दख्खल राखेका पन्त गुरु अंग्रेजी पढ्ने र बुझ्ने उनी नेपाली भाषामा नेपालको प्रामाणिक इतिहासको पुस्तक सर्वथा अभाव भएको अवस्थामा २००४ सालमा नयराज पन्तले तोत्रराज पाँडेसँग मिलेर नेपालको संक्षिप्त इतिहास प्रकाशन गरेको थियो । पन्त गुरुकै शिष्यहरूले तयार पारेको ऐतिहासिक पत्रसङ्ग्रह ९भाग १ र २०, जयरत्नाकर नाटक, इतिहास संशोधनको प्रमाण–प्रमेय, अभिलेखसङ्ग्रह जस्ता ग्रन्थमा उल्लेख भएका उपोद्घातबाट विलक्षण क्षमता बुझ्न सकिन्छ । विसं २०२५ मा उनकै निर्देशनमा देवीप्रसाद भण्डारी, धनवज्र वज्राचार्य, गौतमवज्र वज्राचार्य तथा दिनेशराज पन्तद्वारा तयार पारिएको श्री ५ पृथ्वीनारायण शाहको उपदेश प्रकाशित भयो । विसं २०२९ मा उनका प्राचीन र नवीन गणितको तुलना र २०४३ सालमा लिच्छवि संवत्को निर्णय प्रकाशित भए । संशोधन मण्डलबाट तयार पारिएका सावधानपत्र र मुखपत्र पूर्णिमा पन्त गुरुको अनुसन्धानकै उपज हुन् । पूर्णिमामा प्रकाशित अनुसन्धानात्मक लेखहरूबाट नेपालको इतिहासको क्षितिज नै फराकिलो हुन पुगेको छ । पन्त गुरुका पद्य साहित्यका कुरा, पण्डित गोपाल पाँडे र उनको धनमूल ल्याउने नीति, हिन्दु सिद्धान्त ज्यौतिष र ग्रीक ज्यौतिषको तुलना, रत्नदीप, विश्रान्ति, सुमतितन्त्रलगायत करिब ३० वटा ग्रन्थ प्रकाशित भएका छन् ।
नेपालको इतिहासलेखन विधाका भीष्मपितामह हुन् । इतिहास तथ्य र प्रमाणको आधारमा लेखिनुपर्छ भन्ने उनको मान्यता थियो । लिच्छवीकालदेखिका अभिलेख शिलालेखहरूको खोजी तथा सङ्कलन र व्याख्या तथा विश्लेषण गर्ने कार्यमा पनि उनी अग्रणी नै थिए। उनकै निर्देशनमा धनवज्र वज्राचार्य, गौतमवज्र वज्राचार्य, शंकरमान जोशी, देवीप्रसाद भण्डारी, भोलानाथ पौडेल, ज्ञानमणि नेपाल तथा महेशराज पन्तले अभिलेखको खोजी गरी प्रकाशन गरेका थिए । उनबाटै दीक्षित भएका धनवज्र वज्राचार्यले लिच्छवीकाल, मध्यकाल र शाहकालका अभिलेखहरू सङ्कलन गरी प्रकाशनमा ल्याएका छन् । भगवान्लाल इन्द्रजी तथा नोलीहरूले अभिलेखहरूको पठन र व्याख्यामा गरेका कमजोरीहरू पनि उनले औल्याएको छ ।
नेपाली विद्वान्हरूले विदेशीहरूले लेखेका कृतिहरूलाई परीक्षण नै नगरी लेख्ने गरेकामा कटु आलोचकका रूपमा प्रस्तुत भए । सूर्यविक्रम ज्ञवाली, डिल्लीरमण रेग्मी, बालचन्द्र शर्मा, ढुढडीराज भण्डारी आदिले लेखेका किताबमा भएका त्रुटि तथा कमीकमजोरी र इतिहास दर्शनको विपरीत भएका विवरणहरूको सप्रमाण खण्डन गर्ने जस्ता कार्य संशोधन मण्डलबाट भयो । यसबाट आफूलाई स्थापित इतिहासकार भन्न रुचाउने कतिपय व्यक्तिहरू नाखुस पनि भए । विदेशीहरूले प्रवाह गरेको सूचना र घटनालाई परीक्षण नै नगरी अनुसरण गर्ने तथा संशोधन मण्डलद्वारा प्रकाशित ग्रन्थहरूको आधारमा ऐतिहासिक घटनाको विश्लेषण गर्ने तर स्रोत चाहिँ नखुलाउने विद्वान्हरूको त गुरुले उछितो नै काट्य । विश्वविद्यालयमा इतिहास नै पढाउने शिक्षकहरूको क्षमता र योग्यता तथा उनीहरूका प्रकाशनमाथि पनि प्रश्न उठाए । राणाकालको स्तुतिगान गर्ने लेखकहरूले नै २००७ सालपछि राणाहरूलाई नै तथानाम गाली गरे । उनीहरूको यस्तो अवसरवादी प्रवृत्तिको पनि उनले उजागर गरिदिए । यस्ता कार्यले गर्दा नेपालको इतिहासमा कलम चलाउनेहरू सचेत मात्र भएनन्, प्रामाणिक इतिहास लेखनतर्फ पनि अग्रसर भए । पूर्णिमामा प्रकाशित अनुसन्धानात्मक लेखहरू त इतिहासलेखन र शोध कार्य गर्नेहरूका लागि असल खुराक बन्न पुगे । आज पनि नेपालका लिपि विशेषज्ञहरू सबै पन्त गुरुका शिष्य नै छन् ।
उनले स्थापना गरेको गुरुकुलबाट दीक्षित चेलाहरूले स्वदेश र विदेशमा पनि प्रसिद्धि कमाएका छन् । धनवज्र वज्राचार्य, गौतमवज्र वज्राचार्य, ज्ञानमणि नेपाल, महेशराज पन्त, दिनेशराज पन्त जस्ता गुरुका अब्बल शिष्यहरू स्थापित इतिहासकार बन्न पुगेका छन् । त्यसैगरी देवीप्रसाद भण्डारी, भोलानाथ पौडेल आदिले पनि आआफ्ना क्षेत्रमा ख्याति आर्जन गर्न सफल भएका छन् । आफ्ना शिष्यहरूको कार्यबाट प्रसन्न हुने गुरुको बानी थियो । उनले आफूले पाएको सुप्रबल गोर्खा दक्षिण बाहु पदक पनि तिनै योग्य शिष्यको कारणले पाएको हो भन्ने कुरा उल्लेख गरेको छ । उनले आफ्ना चेलालाई सम्बन्धित क्षेत्रमा विज्ञ र दक्ष बनाए भने तिनै शिष्यले गुरुको नाम पनि अमर बनाएका छन् । संसारमा एउटै गुरुबाट यति सङ्ख्यामा विशेषज्ञ जनशक्ति उत्पादन गरेको घटना बिरलै पाइन्छ होला ।
आफ्नो सिद्धान्त, आदर्श, मान्यता र कार्यलाई स्वीकार्य बनाउन ठूलो तपस्या गरेको थियो । उचित प्रश्रय, सदासयता, प्रशंसा र खातिरदारी नपाउँदा पनि अर्जुनदृष्टिमा परिवर्तन भएन । बिस्तारै ईष्र्या गर्ने, खेदो खन्ने तथा प्राज्ञिक क्षमतालाई अवमूल्यन गर्नेहरू पनि प्रशंसक बन्दै गए र संशोधन मण्डलको योगदानप्रति नतमस्तक हुँदै गए । नयराज पन्त र शिष्यहरूले पाएको सम्मान, पुरस्कार र सराहनाबाट यो कुरा निर्विवाद तथ्य सावित भइसकेको छ । नयराज गुरुले २०४२ सालमा लिच्छवि संवत्को निर्णय ग्रन्थमा मदन पुरस्कार पाउनुभएको थियो भने २०४५ सालमा त्रिभुवन प्रज्ञा पुरस्कार पाउनुभएको थियो । उहाँले २०५३ मा आदिकवि भानुभक्त पुरस्कार र २०५७ सालमा त्रिभुवन विश्वविद्यालयबाट सम्मानार्थ महाविद्यावारिधिको उपाधि प्राप्त गरेको थियो । मदन पुरस्कारका लागि स्वयम्ले निवेदनसमेत नदिएर प्रकाशकले दिएको प्रसङ्गको चर्चा कमलमणि दीक्षितले गरेको छ । यथार्थमा भन्ने हो भने यी सम्मान प्रदान गरेर गुरुभन्दा पनि स्वयम् सम्मान गर्ने संस्था नै सम्मानित हुन पुगेका छन् ।
प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरूले आफू पदमा रहँदा कति उल्लेख्य काम गरे, अनुसन्धान गरे, ग्रन्थ प्रकाशन गरे रु त्यसको लेखाजोखा कसैले गरेको पनि छैनन् तर प्रज्ञा प्रतिष्ठानले गुरुबाट अपेक्षा गरेभन्दा बढी उपलब्धि हासिल गरेको कुरा त्यसबेला उनबाट प्रकाशित भएका ग्रन्थ लेखरचनाहरूबाट स्पष्ट हुन्छ । दण्डवते नीति र कार्यबाट सदैव पृथक् रहने तथा राजनीतिमा नलाग्ने तर सरोकार राख्ने उ
को विशेषता थियो । राणा, राजा र कांग्र्रेस नामक कृतिमा उनको दैनिकीमा उल्लेख भएको बुँदाबाट यो कुरा स्पष्ट हुन्छ । उनले विसं २००७ कात्तिकदेखि २००८ सालसम्मका महत्त्वपूर्ण घटना टिपिएको डायरी २०८० सालमा उनका पुत्र एवम् शिष्य डा महेशराज पन्तले सम्पादन र अनुवाद गरी प्रकाशन गरेका छन् । यसैगरी २०४६ सालको राजनीतिक परिवर्तनपश्चात् प्रज्ञा प्रतिष्ठानका उपकुलपतिलगायत सबैले राजीनामा दिँदा पनि उनले दिएन, आफ्नै आदर्श मान्यतामा अडिग रहे । विसं २०४६ पछि गठित प्राज्ञमा उनलाई समावेश गरी प्रज्ञा प्रतिष्ठानको गरिमा बढाएको प्रसङ्ग स्मरणीय छ । ज्योतिषका प्रकाण्ड विद्वान् हुनाले ऐतिहासिक काल गणनाको निम्ति उनले पहिल्याएको परम्परागत कालगणना वैज्ञानिक र विश्वसनीय हुन पुगेको छ । संस्कृत वाङ्मयमा पारङ्गत गुरु नयराज नेपालको ऐतिहासिक तथ्योत्खननमा प्रथम आचार्य र एक सिङ्गो संस्था थिए भने, स्वयम् एक इतिहास हुन पुगेको छ ।
साधारण पहिरन रहनसहन खानपिनमा रमाउने सरस्वतीभक्त थिए । लक्ष्मीको पछाडि कहिल्यै लागेन यही कारणबाट नै नयराज पन्त सर्वमान्य गुरु नयराज पन्त हुन सके । आफ्नो कमाइ सबै संशोधन मण्डलको लालनपालनमा खर्च गरे । कसैबाट कुनै अपेक्षा गरेन, कसैसँग हात फैलाएन । यस्ता विद्वान् त अब इतिहासमा मात्र भेटिने आँकलन गर्न सकिन्छ । पाश्चात्य विद्यालाई भन्दा प्राच्य विद्यालाई महत्त्व दिने पन्त गुरु शैक्षिक संस्थाबाट प्राप्त हुने त्रिखण्डी शिक्षाबाट दक्ष जनशक्ति उत्पादन हुन नसक्ने अडानमा दृढ रहे । ज्योतिषशास्त्रमा े प्रतिपादन गरेका सिद्धान्त र विश्लेषणबाट विश्वमा नै उनी जस्ता व्यक्तित्व नभएको टिप्पणी पनि गर्ने गरिएको छ । कथ्य, मिथ्य र तथ्यको मिश्रण गरी इतिहास लेख्ने र वंशावलीलाई नै इतिहास हो भन्ने मानसिकता बोकेको जमानामा इतिहास सत्य र तथ्यमा आधारित हुनुपर्छ, इतिहास विज्ञान र कला दुवै हो भन्ने सिद्धान्तका प्रणेता थिए । वास्तवमा नेपालको इतिहासलेखन विधाका महारथी नै पण्डितराज नयराज पन्त थिए। यस्ता व्यक्तिका विषयमा सरकारबाटै अध्ययन अनुसन्धान गर्ने तथा नाममा प्रतिष्ठान स्थापना हुनुपर्ने आवाज उठ्न थालेको छ तर यो आवाज सरोकारवालासम्म पुग्न सकेको छैन । यस्ता व्यक्तिको स्मरणबाट मुलुककै प्रतिष्ठा बढ्ने र भावी पुस्तालाई प्राज्ञिक खुराक मिल्ने कुरामा दुईमत नहोला । उनले देखाएको मार्गको अनुशरण गरेमा मात्र उनीप्रति सच्चा श्रद्धाञ्जलि हुनछ । उनको नश्वर शरीर जहाँ पुगे पनि उनका कृति तथा योगदान र संशोधन मण्डलले गुरुलाई अजरामर बनाएका छन् ।
(लेखक संस्कृतविद् हुन्)

























