काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पदमार्ग निर्माणसँगै शिवपुरीको लौके झरनामा आन्तरिक पर्यटकको घुइँचो

5.06K
shares

गोठाला र घाँसीहरूले गीत गाउँदै हिँड्ने छहरेको वन र झरनामा जान पहिला–पहिला निकै कठिन हुन्थ्यो । घारीको बाटोमा काँढा बिझ्ने, जुका लाग्ने र खोल्सीहरूमा फसिने जोखिम हुन्थ्यो । भिरबाट लडिने डरले मानिस गोठालो–घाँस–दाउरा र पानी लगाउन जाँदा एक्लै हिँड्दैनथेँ । अहिले पदमार्ग बनेपछि छहरे खोलामा बग्ने लौका आकारको सुन्दर झरनासम्म पुग्न ज्येष्ठ नागरिक र बालबालिकलाई पनि सहजता मिलेको छ । साथै यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ ।

काठमाडौँ, विदुर वा अन्य सहरका उकुसमुकुसलाई मेटाउने नजिकको सुन्दर प्राकृतिक गन्तव्यस्थलमा पूर्वाधार विकास भएपछि आक्कलझुक्कल गाउँ बस्ने र अरु बेला सहर बस्ने स्थानीयवासी पनि झरनाको सौन्दर्य र विकासको नयाँ उपक्रमलाई नजिकबाट नियाल्न झर्नामा पुग्न थालेका छन् ।

गाउँलेहरूको त्यो उत्साह शनिबारको पदमार्ग उद्घाटनको कार्यक्रममा देखिएको थियो । खेतीपातीका काम छाडेर स्थानीयवासी आफ्नै जीवनकालमा त्यो भिरपाखामा देखिएको आधुनिक विकासको निर्माता र साक्षी हुन पाएका छन् । त्यसैले होला, उनीहरु असारे पानीको पर्वाह नगरी झरना क्षेत्रमा जम्मा भएका देखिन्थे । नव प्रशिक्षित महिला बाजा समूहको पञ्चेबाजाको प्रस्तुतिले वारिपारि डाँडाकाँडा गुञ्जयमन त भएकै थियो । झरना र दहमा पुग्नेहरुले सुसेलीका भाका पनि हाल्न भ्याएका थिए ।

“त्यस्तो भिरमा के लगानी गरेका होलान् ?” शिवपुरी गाउँपालिका–८ को माथिल्लो ढोडिनीबाट सानो छहरे र ठूलो छहरे (लौके) झरनासम्मको पदमार्ग निर्माणका लागि बजेट विनियोजन गर्दा नुवाकोटको जनप्रतिनिधिमाथि यस्ता प्रश्न नआएका होइनन् । गाउँपालिकाको कटिबद्धता, विभिन्न निकायको सहयोग र जनश्रमदानका कारण छोटो अवधिमै पदमार्गमा ढलान र आवश्यक सिँढीहरू निर्माण सम्पन्न भई यात्रीका लागि विश्रामस्थल पनि बनेपछि त्यस्ता प्रश्न आफैँ फिक्का सावित भएका छन् ।

शिवपुरी गाउँपालिको वडा नं ८ र ककनी गाउँपालिकाको वडा नं ५ को सिमानामा पर्ने ठूलो छहरे (लौके) झरना जान अहिले काठमाडौँ–टोखा छहरे सडकबाट निकै सहज भएको छ । काठमाडौँ–टोखा छहरे सडकको स्तरोन्नति र कालोपत्रपछि काठमाडौँ–विदुर र अन्य स्थानबाट उक्त सडक प्रयोगको क्रम बढेको छ । यस पर्यटकीयस्थलमा पूर्वाधार विकासपछि आन्तरिक र बाह्य पर्यटक वृद्धि हुने ठानिएको छ । वन र भिरको बीच भागमा रहेको सानो छहरे र ठूलो छहरे झरनामा करिब १० वर्षअघि नेपाल क्यानोनिङ सङ्घबाट क्यानेनिङ सञ्चालन गरिएपछि यसको पर्यटकीय पहिचान उजागर भएको थियो । अहिले पदमार्ग र विश्रामस्थलको निर्माणले झरनाप्रति थप आकर्षण बढेको छ ।

नवनिर्मित पदमार्ग र विश्रामस्थलको गाउँपालिकाका अध्यक्ष गोविन्द थपलियाले शनिबार उद्घाटन गरिरहँदा स्थानीय र आन्तरिक पर्यटकको एक प्रकारले लर्काे लागेको थियो । सोही क्रममा ‘छहरे झरना पर्या–पर्यटन प्रवर्द्धन संस्था’को पनि उद्घाटन भएकाले यसप्रति स्थानीयवासीको चासो बढेको छ । काठमाडौँबाट माथिल्लो ढोडिनीसमको सडकमार्गको दूरी २९ किलोमिटर रहेको छ भने टोखा छहरे सडकबाट घट्टेखोलाबाट सानीपिपल हुँदै तीन किलोमिटर सडकबाट ढोडिनी पुग्न सकिन्छ । अहिले ढोलिनीसम्म चारपाङ्ग्रे सवारीसाधन पुग्ने बाटो बनिसकेको छ । ढोडिनीबाट झरनासम्म आठ सय मिटर पदमार्ग निर्माण गरिएको हो ।

‘शिवपुरी विकास र समृद्धिको आधार ः शिक्षा,, कृति, पर्यटन र पूर्वाधार’को नाराका साथ कार्यरत गाउँपालिकाका अध्यक्ष थपलिया कृषि पर्यटनको विकास कसरी गर्ने भन्ने विषयमा आफूहरूले योजनाबद्ध रूपमा काम गरिरहेकाले छहरे झरना क्षेत्रमा थालनी भएको पूर्वाधार विकासलाई त्यही रूपमा बुझ्न आग्रह गरे । उनले झरनामा पर्यटक आउन थालेपछि स्थानीय रूपमा घरबासलगायत अन्य व्यवसाय सञ्चालन आउने र स्थानीय उत्पादनले बजार पनि पाउने भएकाले अनेक दुःखकष्ट सहेर पनि स्थानीयवासीको समृद्धिको चाहनालाई पूरा गर्न लागि पर्ने अठोट व्यक्त गरे ।

सोही गाउँपालिकाका उपाध्यक्ष वीरबहादुर तामाङले शिवपुरीको समृद्धिको एउटा आधार पर्यटन हो भन्ने पहिचान गरेर आफूहरूले पूर्वाधार विकासको काम आरम्भ गरेको बताए । उनका अनुसार पदमार्ग र विश्रामस्थल निर्माणका लागि गाउँपालिकाको पाँच लाख, वडाको दुई लाख, नेपाल पर्यटन बोर्डको १७ लाख र प्रधानमन्त्री स्वरोजगार कोषको आठ लाख गरी करिब ३० लाख लागत रहेको छ ।