राष्ट्र बैंकको कारबाहीमा ११ वाणिज्य बैंक
वि.सं.२०८१ जेठ १८ शुक्रवार ०८:५२
shares

पछिल्लो समय बैंकका सञ्चालकहरुले नेपाल राष्ट्र बैंकलाई नै अटेरी गर्ने गरेको पाइएको छ। बैंकका सञ्चालकहरुले नियामक निकाय राष्ट्र बैंकले जारी गरेको नियम विपरीत काम गर्ने गरेको पाइएको हो।
नेपाल राष्ट्र बैंकलाई बैंकका सीईओ, सञ्चालकहरुले अटेरी गरेको आधारको रुपमा राष्ट्र बैंकको कारबाहीमा परेका बैंकहरुलाई यसको उदाहरणको रुपमा लिन सकिन्छ। यदि कुनैपनि बैंकहरुले राष्ट्र बैंकको नियम मान्ने बैंकलाई साथ दिने गरी कार्य गर्दथे भने केन्द्रीय बैंकले कारबार्ही गर्नुपर्ने अवस्था नै आउदैनथ्यो । नेपाल राष्ट्र बैंकको तेस्रो त्रैमाससम्मको डाटालाई हेर्ने हो भने पनि २० वाणिज्य बैंकमध्ये ११ वाणिज्य बैंकका सञ्चालक तथा सीईओलाई राष्ट्र बैंकले कारबाही गरिसकेको छ । नेपाल राष्ट्र बैंकबाट कारबाहीमा पर्न बाँकी भने ९ वटा (कृषि विकास बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, सानिमा बैंक, एभरेष्ट बैंक, माच्छापुच्छ्रे बैंक, नेपाल एसबिआई बैंक, सिद्धार्थ बैंक, स्टाण्डर चार्टर) रहेका छन् ।
पहिलो त्रैमासमा मात्रै ६ वटा बैंक कारबाहीमा
चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ६ वटा वाणिज्य बैंकहरु केन्द्रीय बैंकको कारबाहीमा परेका हनु । कारबाहीमा पर्नेमा लक्ष्मी सनराइज बैंक, हिमालयन बैंक, एनएमबी बैंक, एनआईसी एशिया बैंक, नबिल बैंक र सिटिजन्स बैंक रहेका थियो । केन्द्रीय बैंकले सो बैंकका अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैंक अन्र्तगतको विभागले कारबाही गरेको हो।केन्द्रीय बैंकले लक्ष्मी सनराइज बैंकलाई सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन र निर्देशन उल्लंघन गरेका कारण ७० लाख रुपैयाँ जरिवाना तिराएको छ । त्यस्तै, एनएमबी बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि बमोजिम व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा भनी प्रदान गरिएको कर्जा व्यावसायिक प्रयोजनका लागि नभई अन्य प्रयोजनका लागि प्रवाह गरेको पाइएकाले कारबाहीमा परेको छ । उक्त कर्जामा प्रदान गरिएको ब्याज अनुदानको सम्पूर्ण रकम ऋणीबाट फिर्ता गराई नेपाल राष्ट्र बैंकमा जम्मा गर्न निर्देशन दिइएको थियो ।
सो सम्बन्धी कार्यविधि तथा यस बैंकबाट जारी निर्देशनको उल्लङ्घन गरेकोमा बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) (क) अनुसार सचेत गराएको थियो । केन्द्रीय बैंकले एनआईसी एशिया बैंकलाई एकीकृत निर्देशनमा भएको व्यवस्था विपरीत हुने गरी ग्राहकहरूसँग बढी लिएको ब्याज ‘रिस्क प्रिमियम’ सम्बन्धित ग्राहकको खातामा फिर्ता गर्न निर्देशन दिएको थियो । बैंकका सञ्चालक तथा बैंका प्रमुख कार्यकारी अधिकृतले ग्राहकको पैसा फिर्ता गराउन खासै ध्यान नदिएको देखिन्छ । बैंकले कतिपय ग्राहकको खातामा त केन्द्रीय बैंकको निर्देशन आउदा पनि पैसा फिर्ता गरेको छैन । नियामक निकायको निर्देशनको उल्लंघन गर्ने एनआईसी एशिया बैंकका सञ्चालक समितिलाई नेपाल राष्ट्र बैंकले सचेत पनि गराएको छ ।
त्यस्तै, नेपालका टप बैंकमा पर्ने नबिल बैंक पनि केन्द्रीय बैंकको कारबाहीमा परिसकेको छ । नबिलले एकीकृत निर्देशन विपरीत नियमित ब्याज र पेनाल असुलीसँगै बैंकको ‘कोर बैंकिङ्ग सिस्टम’ (कोर बैंकिङ्ग प्रणाली एक सफ्टवेयर हो, जसलाई बैंकहरुले हिसाब मिलाउन, राफसाफ सेट्रलमेन्ट कसरी गर्ने भन्ने विषयमा प्रयोग गर्छन् ।) मा राखी कर्जामा ‘एडिसनल रिस्क प्रिमियम’ स्वरूप अतिरिक्त १.५ प्रतिशत असुल गरेको भेटिएको छ । बैंकले एकीकृत निर्देशन विपरीत प्रिमियम बढाएको, ऋणी ग्राहकहरूसँग त्रैमासिक रूपमा ‘लोन एडमिस्ट्रेसन फि’ लिने गरेको तथा संस्थागत मुद्दती निक्षेपमा ग्राहकहरूलाई प्रकाशित ब्याजदरभन्दा कम ब्याज उपलब्ध गराएको देखिएको राष्ट्र बैंकले जनाएको छ । साथै, सिटिजन्स बैंकले पनि एकीकृत निर्देशन बमोजिम कर्जा सापटको वर्गीकरण नगरेको भेटिएको छ । सिटिजन्सले कर्जा नोक्सानी बापत कायम गर्नुपर्ने व्यवस्था कायम नगरेको, जोखिम भारित सम्पत्ति गणना नभएको तथा प्रिमियम दरमा निर्देशन विपरीत पटक पटक वृद्धि गरेकाले बैंकका प्रमुख कार्यकारी अधिकृतलाई केन्द्रीय बैंकले सचेत गराएको हो ।
केन्द्रीय बैंकलाई पटक पटक अटेरी गर्दै हिमालयन बैंक
हिमालयन बैंकले केन्द्रीय बैंकलाई पटक–पटक अटेरी गर्दै आएको पाइएको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा पनि हिमालयन बैंक केन्द्रीय बैंकको कारबाहीमा परेको छ । पहिलो त्रैमासमा यस बैंक कर्जा तथा निक्षेपको अनुपात कायम नगरेर कारबाहीमा परेको थियो भने दोस्रो त्रैमासमा बैंकको पुँजी पर्याप्तता अनुपात गणना गर्दा राष्ट्र बैंकको निर्देशन पालना नगरी प्राथमिक पुँजीबाट घटाउनुपर्ने रकम नघटाई तथा जोखिम भारित सम्पत्ति न्यून कायम गरी पूँजी पर्याप्तता अनुपात वास्तविक भन्दा अधिक रिपोर्टिङ गरेका कारण कारबाहीमा परेको हो । बैंकलाई कर्जा निक्षेप अनुपात कायम नगरेको भन्दै राष्ट्र बैंकले १ करोड ६७ लाख ७१ हजार ४३४ रुपैयाँ जारिवाना तिराएको छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा टप वाणिज्य बैंक भनेर चिनिएका ग्लोबल आइएमई बैंक र प्रभु बैंक पनि कारबाहीमा परेका छन् । ग्लोबलले एकीकृत निर्देशनको व्यवस्था विपरीत प्रिमियम दर बढाएर ग्राहकहरूबाट ब्याज असुल गरेको रकम सम्बन्धित ग्राहकको खातामा फिर्ता गर्न निर्देशन दिएकोमा सोही अनुसार कतिपय ग्राहकको खातामा फिर्ता नगरेको पाइएको राष्ट्र बैंकले उल्लेख गरेको छ । यस बैंकले आथिक वर्ष २०७९/८० मा पुनः निर्देशन विपरीत प्रिमियम दर बढाइएको, सोही एकीकृत निर्देशनको निर्देशन नम्बर २/०७९ अनुसार कर्जा दुरुपयोग भएको, व्यवसाय सञ्चालनमा नरहेको, लिलामी प्रक्रियामा रहेको, डिई नमिलेको अवस्थामा समेत पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको पाइएको छ । पुनरतालिकीकरण वा पुनर्संरचना गर्दा निष्क्रिय कर्जाहरूको समेत पुनरतालिकीकरण / पुनर्संरचना गरी उक्त कर्जाहरूलाई सक्रिय कर्जामा वर्गीकरण गरेको पाइएकोले ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको थियो । साथै, प्रभु बैंकले कर्जा सापटको वर्गीकरण नगरेको तथा कर्जा नोक्सानी बापत कायम गर्नुपर्ने व्यवस्था कायम नगरेको पाइएको राष्ट्र बैंकले जनाएको छ । निर्देशनको व्यवस्था विपरीत प्रिमियम दर वृद्धि गरी व्याज असुलउपर गरेको र पुँजी पर्याप्तता गणना गर्दा विभिन्न कर्जाहरूमा जोखिम भार कम प्रदान गरी गलत रिपोर्टिङ गरेकोले यस बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको थियो ।

























