गृहजिल्लामा मन्त्री भगबती चौधरी
वि.सं.२०८० फागुन २७ आइतवार ०७:४७
shares

यूएन वुमनको विश्वस्तरिय कार्यक्रममा सहभागी हुन आज अमेरिका जाने पूर्व निर्धारित कार्यक्रम थियो मन्त्री भगबती चौधरीको । ११ मार्चदेखि २२ मार्चसम्म अमेरिकामा हुने यूएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’को सम्मेलनको ६८ औं सत्रमा भाग लिन मन्त्री चौधरी
प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क जाने कार्यक्रम तय भएको थियो । तर, मन्त्री चौधरी अमेरिका भ्रमण छाडेर गृह जिल्लाको आएकी छिन् । दुहबी १० मा रहेको आपुरुपी शिव मन्दिरमा आयोजित साँस्कृतिक कार्यक्रममा सहभागी हुन मन्त्री चौधरी गृह जिल्ला आएकी हुन् ।
बिराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग छोटो कुराकानी गर्दै मन्त्री अघिल्लो सरकारले गरेको निर्णय बमोजिम पूर्व निर्धारित कार्यक्रममा आफू जाने तय भए पनि आफू नगएको बताए । मन्त्री नगए पनि भ्रमण दलका अन्य सदस्य भने आज राति अमेरिका उड्दैछन् । प्रतिनिधि मण्डलको नेतृत्व कर्मचारीले गर्ने र मन्त्री स्तरको हुने भनिएको कार्यक्रम कर्मचारी स्तरमा नै गर्न आदेश दिएर आफू गृह जिल्ला आएको मन्त्रीको भनाइ थियो ।
‘यो कार्यक्रममा विश्वका सबै देशहरूबाट महिला मन्त्री सहभागी हुने गर्छन् । महिलाका आर्थिक, सामाजिक, राजनैतिक विभेद, समस्या लगायतमा विचार विमर्श गर्दै हरेक देशले हासिल गरेका उपलब्धीहरू त्यहाँ प्रस्तुत हुन्छ । यस्तो कार्यक्रम विगतदेखि नै मन्त्रीस्तरीय नेतृत्व हुने प्रचलन छ ।’
आफुले कुनै जम्बो टोली तयार नपारेको प्रष्टयाउँदै निवर्तमान मन्त्रिपरिषद्ले गरेको निर्णयमा मन्त्रीको स्थानमा आफ्नो नाम मात्र राखेर बर्तमान मन्त्रिपरिषद्ले निर्णय गरेको भन्दै मन्त्री चौधरीले बताए । पहिलाको टोलीमा २२ जनाको नाम भएपनि अहिलेको टोलीमा ११ जनाको मात्र नाम भएको जनाए ।
विगतका सरकारले महिला विभाग र महिलाका समस्या हेर्ने संरचना खारेज गरेकोमा आफु पुनः ती संरचनाहरू पुनस्थापनाका गर्ने पक्षमा रहेको र ‘दिनदिँनै महिलाहरू हिंसाको शिकार, बलात्कृत तथा उत्पिडनमा परेका छन् । उनीहरूको पक्षमा बोलिदिने संरचना छैन । म महिलाका सबै खाले उत्पिडन, हिंसाको विरूद्धमा जिल्ला तहमै बोलिदिने संरचना बनाउनु पर्छ भन्नेमा छु । त्यसका लागि लागि पर्नेछु ।’
त्यस्तै दुहबी १० मा आयोजित साँस्कृतिक कार्यक्रममा बोल्दै प्रदेश सांसद रामदेव यादवले कोशी प्रदेशको सरकार परिवर्तन हुने बताए । पहिले आफ्नो दलको सरकारले हालेको योजना अहिलेको सरकारले काटेको भन्दै अब सरकार परिवर्तन गरेर आफूहरुले अघि सारेको विकासका योजनाहरुलाई निरन्तरता दिने सांसद यादवले बताए ।
उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनु भएकी मन्त्री चौधरीले आफू मन्त्री भएपछिको पहिलो कार्यक्रम त्यो पनि धार्मिक, आफ्नै क्षेत्रको भएको कारण ब्यस्त समय विच उपस्थित भएको भन्दै महिलाहरु आधा आकास ढाक्ने मात्र नभई आधा धर्ति ढाक्ने भएको बताए । चौधरीले महिलाहरुलाई उद्यमशीलतामा जोड्न आवश्यक रहेको र महिला, बालबालिका र ज्येष्ठ नागरिकहरुको पक्षमा केही गर्ने कोशिस रहेको बताए ।

























