गृहपृष्ठ पश्चिम चितवन गाजरखेतीको ‘हब’
पश्चिम चितवन गाजरखेतीको ‘हब’
प्राङ्गारिक कृषि उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यका साथ भरतपुर महानगरपालिका–१५ श्रीपुरका चार बिघा चार कट्ठा जमिनमा गाजरखेती गरिएको छ । रासायनिक मल र विषादीको प्रयोगबिना प्रांगारिक प्रक्रियाद्वारा किसान चन्द्रप्रसाद अधिकारी, महेन्द्र पौडेल र मोहनसिंह गुरुङले संयुक्तरूपमा १४ लाख लगानी गरेर भाडाको जग्गामा गाजरखेती गरेका छन् ।
विसं. २०३२ देखि श्रीपुरमा गाजरलगायतका प्रांगारिक खेती गर्दै आउनुभएका कृषक अधिकारीले तत्कालिन समयमा ५० ग्राम बीउ रोपेर गाजरको खेती सुरू गरेका अनुभव सुनाए । उनले भने, ‘खास गरेर यहाँ २०३२ सालदेखि गाजर खेती गर्न सुरू गरेको हो । त्यसपछि क्रमिकरुपमा अरू साथीहरू पनि गाजर खेतीमा अग्रसर भए, यसले गर्दा श्रीपुरलगायत पश्चिम चितवन गाजरको हबजस्तै बनेको छ ।’ उनको अनुभवमा यो क्षेत्रमा गाजरको लागि उपयुक्त माटो र हावापानी छ । उनका अनुसार यहाँका धेरै किसानको अहिले आम्दानीको स्रोतको रूपमा गाजर खेती पनि एक हो ।
गाजर, मुला, चुकन्दर सलादका रुपमा प्रयोग गर्ने वस्तु भएको हुँदा स्वास्थ्यको हिसाबले पनि यसको उत्पादन प्राङ्गारिक प्रक्रियाले हुनुपर्ने उनको भनाइ छ । उनले भने, ‘यो पूर्ण सलादको रुपमा खाने हुँदा यसमा रासायनिक मल, विषादी प्रयोग नगरिकन प्राङ्गारिक उत्पादन गरौँ भनेर हामीहरु निरन्तर लागिरहेका छौँ ।’ उनले गाजर खेतीलाई अझ व्यवस्थित बनाउन नसकेको बताए । विभिन्न सरोकारवाला निकायको साथ र सहयोग मिलेमा यस खेतीलाई अझ व्यवस्थितरुपमा गर्न सकिने उनको भनाइ छ ।
प्रकाशित समय : १०:१८ बजे



















