श्रमदान अभियानमा सबैभन्दा बढी विदेशमा रहेकाको सहयोग
वि.सं.२०८० कात्तिक १ बुधवार १६:४३
shares
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले सञ्चालन गरेको ‘श्रमदान अभियान–२०८०’ मा वडा नं. ११ खार्मीका ९४ जनाले आर्थिक सहयोग गरेका छन् । आफ्नो क्षेत्रमा निर्माण गरिएका ग्रामीण सडकलाई बाह्रैमहिना सञ्चालनमा ल्याउन ‘होस्टेमा हैसे’ गर्न उनीहरूले २०० देखि रु ३० हजारसम्म सहयोग उपलब्ध गराएका हुन् ।
जिल्लाको उत्तरी क्षेत्र जोड्ने दिक्तेल–खार्मी–बास्पानी–बाक्सिला सडकखण्डको हरेलोडाँडा–खार्मी सडक मर्मतका लागि छ लाख ६२ हजार ४४६ सङ्कलन भएको अभियानका संयोजनकर्ता हर्कराज राईले जानकारी दिए । “जनताले विकास चाहेका छन् । राज्यले प्रर्याप्त बजेट उपलब्ध गराउन सकेको छैन ।
नगरपालिकाले चलाएको श्रमदान अभियानमा हामीले स्थानीयस्तरबाटै भए पनि जनताको चाहनालाई सम्बोधन गर्ने प्रयास गरेका छौँ”, नेकपा (एकीकृत समाजवादी) पार्टीका जिल्ला सदस्यसमेत रहेका संयोजनकर्ता राईले भने, “दस दिन सञ्चालन गरिएको श्रमदान अभियानमा खार्मीका जनताले आफ्नो जन्मभूमिप्रति देखाएको मायाँ तथा सद्भावको उच्च सम्मान गर्नैपर्छ । उनीहरूले उपलब्ध गराएको आर्थिक सहयोगले अहिले बाह्रैमहिना यातायात सञ्चालन हुनेगरी सडक मर्मत गर्न सफल भएका छौँ ।”
श्रमदान अभियानमा सबैभन्दा बढी खार्मीमा जन्मिएर वैदेशिक राजगारीको सिलसिलमा विभिन्न देश पुगेका स्थानीय बासिन्दा छन् । साबिक खार्मी गाविस–६ निवासी स्वर्गीय सनतकुमार राईको छोरी सविना राई र ज्वाइँ मोहन राईले हङकङबाट सबैभन्दा बढी ३० हजार उपलब्ध गराए ।
यस्तै साविक खार्मी–५ फूलबिसौनाका भागेश्वर पाख्रिनले जापानबाट २२ हजार पाँच, वडानं–६ का राजकुमार श्रेष्ठले साउदी अरबबाट २० हजार, वडानं–५ का पुष्पकुमार राईले फ्रान्सबाट २० हजार, वडानं–६ का रञ्जित राईले साउदी अरबबाट १७ हजार ४७२, सोही वडाका दिपेन्द्र राईले मलेसियाबाट १५ हजार ३३०, वडानं ९ का कटक राई र खबिराज राईले काठमाडौँबाट २०/२० हजार, वडानं– ८ का रुपा उदासले काठमाडौँबाट रु १५ हजार, वडानं ५ का रञ्जना राईले फ्रान्सबाट १४ हजार१३९, वडानं –५ का श्यामकुमार राईले १२ हजार र सोही ठाउँका रेनुका राईले दुवाईबाट ११ हजार तथा वडानं ६ का रोशन श्रेष्ठले दक्षिण कोरियाबाट दस हजार ९९९ र साबिक पाथेका–२ का जगतमणि राईले कतारबाट रु २० हजार,उपलब्ध गराउनुभएको जनाइएको थियो ।
सो अभियानमा अन्य ३१ स्थानीय बासिन्दाले दस हजारका दरले सहयोग उपलब्ध गराएको संयोजनकर्ता राईले जानकारी दिए। आर्थिक सहयोग उपलब्ध गराउनेमा स्थानीय जनप्रतिनिधि, कर्मचारी, व्यापारी र पत्रकारसमेत रहेका छन् । गत जेठ–१८ गतेदेखि २८ गतेसम्म दस दिन सञ्चालन गरिएको श्रमदान अभियानमा ५०० भन्दा बढीको सहभागिता रहेको थियो ।
आफ्नो ठाउँमा सञ्चालन भएको श्रमदान अभियनमा स्थानीय बासिन्दाहरु स्वतःस्फूर्तरुपमा कुटो, कोदालो, बेल्चा, झम्पल, गैँतीलगायत घरेलु औजार लिएर काममा सहभागी भएका थिए ।
श्रमदान अभियानका क्रममा ३६ घनमिटर सडक सोलिङ गरिएको थियो भने, साढे पाँच किलोमिटर सडकखण्ड ग्राबेल गरिएको थियो । सतचालिस वटा ट्याक्टरबाट ग्राबेलका लागि आवश्यक रोडा÷ढुङ्गा खार्मी र नेर्पाको सीमानामा पर्ने बगरेभञ्ज्याङबाट ल्याइएको संयोजनकर्ता राईले जानकारी दिएका छन् ।
श्रमदान अभियानमा सहभागी स्थानीय बासिन्दा आफैले खाना तथा खाजाको पनि व्यवस्था गरेका थिए । नगरपालिकाले सञ्चालन गरेको श्रमदान अभियानमा सहभागी हुन नसक्ने स्थानीय बासिन्दाले सहभागी हुनेहरूका लागि स्थानीयस्तरमा उत्पादन हुने आलु, मकै, दही, मही र जाँडसमेत खाजा उपलब्ध गराएका थिए ।

























