काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

ढोंगी नेताको सूची : विदेशमा छोराछोरी पढाएर देशमा सर्वहाराको गफ

13.04K
shares

माओवादी जस्तो पतित र गयगुज्रेको पार्टी सम्भवतः यो दुनियाँमै छैन । यतिभन्दै गर्दा अरु पार्टी दुधले नुहाएका छन् भन्न खोजेको होइन । तर जनतालाई कसरी धोकामा राख्न सकिन्छ, माओवादीबाट सिक्ने हो । १० बर्ष जनयुद्ध गर्‍यो । जनताका १७ हजार छोराछोरी मारिए । त्यतिबेला माओवादी नेताका छोराछोरी कहाँ रहेछन् थाहा छ ? उनीहरु महंगा निजी स्कुल र विदेशमा अध्ययन गरिरहेका थिए ।

जसले शिक्षालाई ‘बुर्जुवा’ भन्यो, तीनकै छोराछोरी अहिले विदेशका महंगा विश्वविद्यालयबाट ‘पासआउट’ हुँदै र सामाज्यवादी देशहरुमा एैसआरामको जिन्दगी बाँचिरहेका छन् । यता सर्वहारा जनताका छोराछोरी अहिले पनि एमसीसीविरुद्ध सडकमा लडिरहेका छन् । माओवादीका लागि परिआए फेरि रगत बगाउन तयार रहेको भन्दै घोक्रो सुकाइरहेका छन् । जसलाई सिंहदरबारको झ्यालबाट हेर्दै प्रचण्ड मुसुमुसु हाँस्ने गर्छन् । सम्भवतः उनले पनि भन्छन् होला, ‘मने यत्रो विधि धोका खाएर पनि नचेत्ने भेडैै रहेछन् ।’

सर्वहारा जनताको मुक्तिका लागि भन्दै संघर्षको नेतृत्व गरेका माओवादी नेताहरुलाई जनतालाई धोका दिने छुट थिएन । तर कुनै बेला बुर्जुवा शिक्षाको काम छैन यसका विरुद्धमा जनवादी शिक्षा लागु गर्नुपर्छ भन्ने माओवादीले साना साना पाँच सात कक्षामा पढ्ने विद्यार्थीका हातबाट किताब खोसेर बम, बारुद र हतियार थमाएको थियो । अहिले यो सत्य सुन्दा पनि माओवादीहरुको मन भत्भती पोल्छ । नत्र भने जनता र माओवादी नेताका परिवारको हैसियत एउटै हुनुपर्ने होइन ? अहिले किन कोही खाँडी छन् कोही युरोप अमेरिकामा शानको जिन्दगी बाँचिरहेका छन् ? विभेद हटाउन क्रान्ति गरेको माओवादीको यो चाहीँ विभेद् होइन ? पत्यार लाग्दैन भने आउनुस् तथ्यमै हेरौं ।

माओवादी नेता जनार्दन शर्माका छोराछोरी नै अमेरिका बस्छन् । छोरा पछिल्लो समय विवाहका लागि फर्किएपनि उनको बसाई अमेरिकामै हुने गरेको छ । दुवै छोराछोरीलाई अमेरिकामै पढाएका शर्माले छोरीको विहे नै धुमधामसँग साम्राज्यवादी शैलीमा अमेरिकामै गरेका थिए । यता रुकुम नरसंहारमा जातकै कारण जनताका छोरा नवराज विकसहित ६ जना मारिँदा उनी हत्यारालाई बचाउन दाँत किटेरै लागे ।

शक्ति बस्नेतकी छोरी अमेरिकामै बस्छिन् । सिटामोल नपाएर जनता मर्ने जाजरकोटका एलिट नेता बस्नेत र उनकी पत्नी सत्या पहाडीले छोरीलाई साम्राज्यवादको आधार इलाकामा शिक्षा दिइरहेका छन् । देवेन्द्र पौडेल, शिक्षामन्त्री भएका बेला शिक्षामा सबैको समान पहुँच हुनुपर्ने ढोंगी रुप देखाए । आफ्नी छोरीलाई अमेरिकामा पढाइरहेका छन् ।

अमेरिकापछि सबैभन्दा धेरै माओवादी नेताका छोराछोरी चीनमा पढ्छन् । बर्षमान पुनकी छोरीले चीनमै पढीरहेकी छन् । उनले आफ्ना सबै सन्तानलाई पहुँचको भरमा काठमाडौंको नाम चलेको सेन्टजेभियर्समा पढाएका थिए । देव गुरुङका छोरा चीनमा पढ्छन् । लिलामणि पोखरेलका छोराले चीनमै पढेका हुन् । अग्नि सापकोटाका छोरा चीनमै पढेर अहिले परराष्ट्रविद् बनेका छन् । उनी राजदूत हुने लाइनमा रहेको चर्चा छ ।दीनानाथ शर्माका छोरा चीनमै अध्ययन गरि फर्किएका हुन् । कृष्णबहादुर महराका छोरा राहुलले पनि चीनमै भाषा विषय अध्ययन गरि फर्किएको माओवादीनिकट नेताहरु बताउँछन् ।

एउटा सत्य कुरा के हो भने माओवादी अध्यक्ष प्रचण्डले आफ्ना छोराछोरीलाई आफुसँगै जनयुद्धमा हिडाए । कहीँ कतै विदेश पढ्न पठाएनन् । तर नातीलाई काठमाडौंको महंगो निजी स्कुल युलेन्समा पढाइरहेका छन् । नातिनी पनि बेलायत पढ्ने गरेको माओवादी निकट नेताहरु बताउँछन् । तर देशलाई चाहीँ यीनीहरुले नर्क समान बनाइरहेका छन् । आफ्नै छोराछोरी देश बस्ने वातावरण बनाइरहेका छैनन् ।हिजो युद्धमा होमिएकाहरुको आत्माले यो कुरालाई सहजै पचाउला सक्ला त ? आज न त शिक्षा छ, न त सिप छ । बेरोजगार भएर घरको न घाटको भईरहँदा पक्कै पनि माओवादीभित्र पछुतो छ । माओवादी एलिटले आफू सत्तामा पुगेपछि ती योद्धाहरूलाई रुवाउँदै घर खेदेको र त्यसपछि खाडी मुलुकमा भासिन बाध्य बनाएको यथार्थ यसको प्रमाण हो ।

कम्युनिष्टको आवरणमा जनतामाथि धोकाधडीको आदत एमाले समाजवादी सबैभित्र छ । जनताको बहुदलीय जनवाद भन्दै राजावादी सोच पालिरहेको एमालेभित्र पनि शिक्षाको यस्तै असमानता छ । ईश्वर पोखरेलका दुईछोरामध्ये एकले अमेरिकामै अध्ययन गरे । उनी अहिले ठेक्कापट्टा गरिरहेका छन् । अवस्था कस्तो छ भने भर्खरै स्वर्गिय भएका नेता सुवासचन्द्र नेम्वाङले मृत्युपछि पनि विदेशमा रहेका आफ्नै छोरालाई दुईदिनसम्म कुर्नुपर्‍यो । एमालेका शीरदेखि तीरसम्मका अधिकांश नेताहरुले आफ्ना सन्तानलाई ठूला देशमा पठाएका छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका छोरा अष्ट्रेलियामा बस्छन् । सोमप्रसाद पाण्डेकी छोरी अथवा माधव नेपालकी बुहारी पनि त्यही छन् । झलनाथ खनालका छोराले अमेरिकामै पढे । अहिले बाउकै आँडमा ठेक्कापट्टामा लागेपनि असफल छन् । समाजवादीकै नेता विरोध खतिवडाकी छोरी एवम् पूर्वमिस नेपाल श्रृंखला पनि अमेरिकामै अध्ययन गरिरहेकी छन् । समाजवादी नेता तथा हालका भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाका छोरा पनि विदेशमै छन् । पूर्वराष्ट्रपति विद्या भण्डारीका छोरीहरु सबै विदेशमा अध्ययन गरे । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईकी छोरी मानुषीले भारतमै अध्ययन गरेकी हुन् । बामदेव गौतमका छोराले चीनमै पढे । नेपालको शिक्षामा सुधार नहुनु कम्युनिष्टको यो पाखण्डी आवरणका कारण पनि हो । फेरि उनीहरु नै शिक्षामा सुधार ल्याउने बताइरहेका छन् । आफ्नै छोराछोरीलाई नेपालमा पढाउन नसक्नेले कसका लागि शिक्षामा सुधार ल्याउँछन् ।

नेपाली काँग्रेस त झन पहिलेदेखि नै हुनेखानेको पार्टी हो । अहिले पनि यो पार्टीमा राणाहरु राजाहरुको अवशेष भेटिन्छ । राजाले आफ्ना सन्तानको शिक्षा दिक्षा बेलायतमा गराएका थिए । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पनि छोरालाई बेलायतमै पढाए । राष्ट्रपति रामचन्द्र पौडेलका छोरा बेलायतमै छन् । कृष्णप्रसाद सिटौलाका छोरा अमेरिका, प्रकाशमान सिंहका छोरा अष्ट्रेलिया, विमलेन्द्र निधिका छोराहरु अमेरिका र भारतमा छन् । मधेसवादी दलको अवस्था उस्तै छ । राप्रपाका नेता पशुपति शम्शेर राणाले दुवै छोरी भारतीयलाई सुम्पिएका छन् । प्रकाशचन्द्र लोहनीका तीनै छोरी अमेरिकामा पढेर उतै बस्छन् । अनि यो देश उनीहरुले कसका लागि बनाउँछन् । हामी भने नेताले देश बनाइदिन्छन् भन्दै बसिरहेका छौं । हुँदाहुँदा पूर्वप्रधानन्यायाधीशका सन्तान पनि विदेशमै छन् । सुशिला कार्कीका छोराबुहारी अमेरिकामा बस्छन् । हरिकृष्ण कार्कीका चीनमा छन् । मन्त्रिपरिषद्को अध्यक्ष बनेका खिलराज रेग्मीका छोराछोरी चीनमै छन् ।यतिसम्म आइसकेपछि नयाँ दलको कुरा आएन भन्ने पनि होला । भर्खरै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका दुवै छोरी अमेरिकामा बस्दै आएका छन् । रास्वपाका सांसद स्वर्णिमले अमेरिकामै पढे । छोरा अमेरिकन नागरिक हुन् । श्रीमती भियतनामी हुन् । रास्वपाका अधिकांश नेता नै विदेशमा छन् ।

अब यति भनिसकेपछि बालेन शाहका बारेमा किन आएन भन्ने होला । काठमाडौंका मेयर बालेन शाहले भर्खरै छोरी जन्माएका छन् । उनले कहाँ पढाउँछन् तय भएको छैन ।

खासगरि नेपालमा अहिलेसम्मको अवस्था हेर्ने हो भने कुशल नेतृत्वनै जन्मिएको छैन । दश वर्षअघि जनयुद्धमा रहेका माओवादी र संसदवादी दलहरु बाह्रबुँदे समझदारी गर्दै समान राजनीतिक एजेण्डा बोकेर उभिएका थिए । एकअर्काविरुद्ध लडिरहेका दलहरु परिवर्तनको एजेण्डा बोकेर एकै ठाउँमा उभिँदा जनतामा शान्ति, सुशासन र समृद्धिको आशा पलाएको थियो । त्यही सपनाले झण्डै आधा दशक नेपालीहरुले नयाँ नेपाल भन्दै निकै ठूलो बहस गरे । झट्ट हेर्दा राजनीतिक स्वरुपमा निकै ठूलो परिवर्तन आयो । राजसंस्थाको अन्त्य भयो, नारायणहिटीमा बसेर हुकुमे शासन चलाइरहेको राजपरिवार राजधानीको पश्चिमतर्फ नागार्जुनमा सीमित बन्यो । तर, राज्यको पहलमा एउटा पनि नयाँ औद्योगिक कलकारखाना बन्न सकेनन् । बेरोजगारी समस्या चर्कियो । राहदानी बनाउँदै खाडी लम्कनेहरुको संख्या अहिले दैनिक ३ हजारमा चलिरहेको छ । जनताको समस्या विकराल बन्दै जाँदा नेताहरु भने छोराछोरीलाई विदेशमा पढाउने र आफू बिरामी हुँदा सिंगापुर, स्वीजरल्याण्ड र बैंककसम्म उपचार गराउने हैसियतमा छन् । गरिब देशका धनी नेता, छोराछोरीको पढाइ विदेशमै, उपचार विदेशमै, मालिक विदेशकै । नेपाल त राजनीतिको फोहोर खेल मच्चाउने अखडामात्रै बनाएका छन् ।