गृहपृष्ठ कहिल्यै नसुध्रिने मीनबहादुरको भाटभटेनी
कहिल्यै नसुध्रिने मीनबहादुरको भाटभटेनी

गोजीभरि टन्न पैसा बोकेर भाटभटेनी सुपरमार्केट छिर्दै हुनुहुन्छ ? एकपटक सोच्नुहोस्, कतै खनखन्ती पैसा हालेर किनेको सामान कुहिएको पर्ला, म्याद गुज्रिएर अखाद्य भएको पर्ला । किनकि बाहिरबाट हेर्दा ठिकै देखिने खाद्य सामाग्री भित्र कुहिएको वा म्याद सकिएकोसम्म फेला परेको छ । अर्थात अहिले भाटभटेनी सुपरमार्केटभरि यस्ता खाद्ययबस्तुको विगविगी छ । आइतबारमात्रै एकपटक गरिएको अनुगमनमै कुहिएको घिउ र अण्डा बेचिरहेको भेटिएपछि पुल्चोकस्थित भाटभटेनी सुपरमार्केटलाई जिल्ला प्रशासन कार्यालय ललितपुरसहितको अनुगमन टोलीले एक लाख रुपैयाँ जरिवाना तिराएको छ ।
भाटभटेनीको बदमासी बुझ्न पहिला यो कागज हेरौं । मीनबहादुर गुरुङ सञ्चालक रहेको यो सुपरमार्केटलाई अनुगमन टोलीले ‘तपाईँले उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल असर पर्नेगरि मिति समाप्त भएको डीडीसी घिउ लगायतका खाद्य बस्तु बेच्नु भएको हुँदा एक लाख रुपैयाँ जरिवाना गरियो’ भन्ने उल्लेख गरिएको छ । यसमा अर्काे बद्मासीसमेत उल्लेख छ । उपभोक्तालाई बेच्न राखिएको तरकारी लगायतका बस्तुमा तौल कम पाइएको छ । अथवा कम तौल बनाएर बेच्दै उपभोक्ता ठग्ने कामसमेत भाटभटेनीले गरिरहेको छ । यहाँ अनुगमन टोलीले भाटभटेनीको मूल्यसूचीदेखि लेवल खुलाउनुपर्ने कुराहरु स्पष्ट नभएको भन्दै प्रश्न उठाएको छ । मासुको गुणस्तर सन्तोषजनक नभएको, मिठाइको गुणस्तर सन्तोषजनक नभएको विषय पनि निर्देशन दिइएको छ ।
अब यो अर्काे कागज हेरौं । जहाँ डीडीसी १ किलो घिउको ४ वटा बट्टामा खाने मिति समाप्त भएको उल्लेख छ । १५ वटा अण्डा भएको क्रेट नै फुटेको वा कुहिएको फेला परेको छ । अनुगमन टोली पुगेर यो विषय बाहिर आउने भएपछि भाटभटेनी सुपरमार्केट पुल्चोक शाखाका म्यानेजर दिनेश प्रधान लगायतले प्रलोभन देखाउने कामसमेत गरेका थिए । भाटभटेनी सुपरमार्केट पुल्चोकका मेनेजर दिनेश प्रधानलाई हामीले सम्पर्क गर्दा उनले म्याद गुर्जिएको बस्तु भेटिएको विषयमा आफनो कमजोरी स्वीकारेका छन् ।
यो विषयलाई भित्रै बसेर मिलाउनेभन्दै अनुगमन टोलीलाई प्रभावमा पार्न खोजेपछि सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार नेतृत्वको टोलीले अझै कडा गरि एक लाख जरिवाना तिराएको छ । र यसमा कैफियत भेटिएको खाद्यबस्तुलाई घरेलु तथा साना उद्योग कार्यालयमा लगि नष्ट गर्न निर्देशनसमेत दिईएको छ ।
आजभन्दा दुईबर्षअघि पनि भाटभेटनीको कोटेश्वर शाखाले यस्तै म्याद गुज्रिएका अखाद्य बस्तु बेचिरहेको फेला परेपछि २ लाख जरिवाना गरिएको थियो । २०७८ चैत २० गते म्याद सकिएको र म्याद स्पष्ट नदेखिने सामान राखिएको पाइएपछि कलंकिस्थित भाटभटेनी सुपरमार्केटलाई दुई लाख ५० हजार जरिवाना गरियो । तर पनि उसका लागि राज्यले गरेको कारबाहीको कुनै भ्यालु छैन । एकदिनअघि कारबाहीमा परेको उसले एकदिनपछि त्यही सामान बेच्न थाल्छ । सम्भवतः बालुवाटारको ललितानिवासको सरकारी जग्गा बेचेको पैसा जति पनि छ । राज्यलाई २/४ लाख जरिवाना तिर्नु मीनबहादुरका लागि पकेटमनि बाँडे जत्तिकै हो । काठमाडौं उपत्यकाभित्र मात्रै होइन, देशभरका २५ स्थानमा विस्तार गरिएको भाटभटेनीका सबै शाखा लगभग गलत क्रियाकलापमा संलग्न छन् । गतबर्षको पुस १४ गते हेटौडास्थित भाटभटेनी सुपरमार्केटलाई समेत २ लाख ५० हजार जरिवाना गरिएको थियो । बिलबिजकमा गलत विवरण समावेश गरी उपभोक्ता ठगी गरेको, उत्पादन तथा उपभोग्य मूल्य र मिति उल्लेख नगरेको एवं चिनी तथा नुन पुनःप्याकिङ गरि बिक्रि गरेको पाइएपछि कारबाही गरिएको हो । लेवल नलाइएका करिब ४ सय बोरा चामल भेटिएपछि २०७८ असोज १५ गते नेपालगञ्जस्थित भाटभटेनी स्टोरलाई २ लाख जरिवाना गरियो । यसको मतलब भाटभटेनी जरिवाना तिर्न तयार छ । तर उपभोक्ताको स्वास्थ्यमाथि असर गर्ने खाद्यबस्तु बेच्ने कार्य रोक्न तयार छैन ।अधिकांश शहरवासीलाई खाद्यवस्तुको गुणस्तरबारे सोच्ने फुसर्द छैन । भाटभटेनीमा जाने भनेकै अलि हुनेखानेहरु हुन् । सामान्य मजदुर गर्ने मानिस भाटभटेनीको ढोकासम्म पनि पुग्ने आँट गर्दैनन् । जो पुग्छन्, उनीहरु भाटभटेनीमा जानुलाई प्रतिष्ठा सम्झिन्छन् । फलतः उपभोक्ता सचेत नहुँदा गलत काम गर्न भाटभटेनीलाई मनोबल बढीरहेको छ । नत्र भाटभटेनीको कमजोरी किन सच्चिँदैन । भूकम्प जाँदासमेत पीडितहरुलाई कुहिएको चामल बेचेपछि चुच्चेपाटी शाखामा प्रदर्शन नै गरिएको थियो ।
म्याद सकिएर बजारबाट फिर्ता भएका सामानसमेत भाटभटेनीमा विक्रि हुने गरेका छन् । त्यहाँ पुगेपछि कसैले सितिमिति प्रश्न उठाउन सक्दैनन् । न त यहाँ बार्गेनिङ नै हुन्छ । जति भन्यो त्यही सामान उठाएर हिड्नुको विकल्प छैन । २०७३ मा समेत ४०७ रुपैयाँ पर्ने बस्तुलाई ४ हजार ८ सय ८४ रुपैयाँ लिएर ठगी गरेको थियो । पछि उपभोक्ताले उजुरी गरेपछि गल्ती स्वीकार्याे । जिरा मन्सुलीको पैसा लिएर सोना मन्सुली चामल बेच्ने पनि यही हो ।
भाटभटेनीपछि आउँछ विगमार्ट । यो पनि ठग्ने विषयमा एकदम माहिर छ । आइतबारमात्रै अनुगमन टोलीले यसलाई १० हजार जरिवाना तिराएको छ । हरियो तरकारीमा कम तौल राखेर विक्रि गरेपछि १० हजार जरिवाना गरिएको हो । यस्तै, म्याद सकिएको बियर बिक्री गरेको समेत अनुगमनमा खुलेको छ । सोमबारमात्रै काठमाडौं महानगरले टिपटप नाम गरेको मिठाई पसललाई समेत २ लाख जरिवाना तिराएको छ । काठमाडौं-१६ ठँहितिस्थित मिठाई पसलले चौपट भएर खानै नमिल्ने बनेको अखाद्य बस्तु बेचेपछि कारबाहीमा परेको हो ।
चाडबाडका बेला यस्ता अखाद्य बस्तु बजारमा छ्यापछ्याप्ती भेटिन्छन् । किनकि चाडबाडका बेलामात्रै अनुगमन हुन्छ । नत्र बर्षभरि नै हामीलाई भाटभटेनी जस्ता नाम चलेका सुपरमार्केटहरुले अखाद्यबस्तु खुवाइरहेका छन् । राज्यले उनीहरुलाई कारबाहीको दायरामा ल्याउन न्यूनतम कारबाहीमात्रै गर्छ । त्यो कारबाहीमा बुझाएको पैसा त उनीहरु मिनेटमै उठाउँछन् । भाटभटेनी जस्ता सुपरमार्केटमा छिर्नुअघि अनुगमन अधिकारीले पनि मुटु दह्रो बनाएर जानुपर्छ । नत्र भाटभटेनीकै आशपासमा झुण्ड भएर बस्ने गुण्डाहरुको कमी हुँदैन । राज्यले पनि विभिन्न प्रलोभनमा परि उनीहरुलाई कारबाहीबाट उन्मुक्ति दिँदै आएको छ ।
तर अब आम उपभोक्ताले पनि बुझ्नुपर्छ, आफ्नो स्वास्थ्यभन्दा ठूलो अरु केही छैन । बरु सामान्य पसलमा जाउँ, गुणस्तरयुक्त खानेकुरा किनौं । पल्टाइपल्टाई हेरौं म्याद सकिएको छ कि छैन । किनकि म्याद सकिएको बस्तु खानु भनेको आफैलाई मृत्युको मुखतिर धकेल्नु जस्तै हो । बरु गाउँमा फलेको अर्गानिक कुरा मगाएर पनि भाटभटेनीभन्दा गजबको स्वाद लिन सकिन्छ । तथापी अहिले धेरै मानिसहरु बुझ्न थालेका छन् । नत्र हिजो जस्तो भाटभटेनीप्रतिको आकर्षक आज किन छैन ? किनकि स्वास्थ्यप्रति सजग मानिसहरु यहाँ जानै छोड्न थालेका छन् । चाडबाडका बेला अझै गोदाममा थन्काएर राखिएका बस्तुहरुसमेत निकालेर बेच्ने गरिन्छ । यस्तो बेला झनै सजग हुनु आवश्यक छ ।
प्रकाशित समय : ०९:०० बजे