गृहपृष्ठ समिक्षा अधिकारी विवादमा परेपछि फेरि सतहमा आयो विदेशमा गुमनाम बन्ने कलाकारको प्रसंग, को कहाँ भाँसिए ?
समिक्षा अधिकारी विवादमा परेपछि फेरि सतहमा आयो विदेशमा गुमनाम बन्ने कलाकारको प्रसंग, को कहाँ भाँसिए ?
गायिका समिक्षा अधिकारीले ‘केयर टेकर’ भन्दै आफन्तीलाई अस्ट्रेलिया पुर्याएको आरोप सार्वजनिक भएपछि अहिले चौतर्फी उनीमाथि प्रश्न तेर्सिएका छन् । किनकि विषय सामान्य छैन । कलाकारको भेषमा आफन्तीलाई अस्ट्रेलिया पुर्याएर उतै छोड्ने गरेको आरोप उनीमाथि छ । जसकै कारण अधिकारीलाई अष्ट्रेलियन एम्बेसीले अहिले भिसा रद्द गरिदिने प्रक्रिया सुरु गरेको र कालोसूचीमा राख्नेसम्मको कदम चाल्दै गरेको विषयमा चौतर्फी चासो र चिन्ता व्यक्त भइरहेका छन् । तर गायिका अधिकारीले बिहिबार नै यसको खण्डन गर्दै सामाजिक सञ्जालमार्फत आपत्ति जनाइसकेकी छिन् । उनले यो खबरलाई सरासर झुटो भनेकी छिन् । उनले सार्वजनिक स्टाटसमा भनिएको छ, ‘फाइनान्ससँग जोडिएका केही डकुमेन्ट थप गर्नुपर्ने स्थितिमा मैले पठाइसकेको छु । भएको यत्ति हो ।’ उनीसँग हामीले सम्पर्क गर्दा यसविषयमा धेरै नबोल्ने र सबै कुरा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको बताइन् ।

तर समिक्षा अधिकारीकै विषय सतहमा आएका बेला अर्का गायक स्वप्निल शर्माले अर्काे गम्भीर विषय सार्वजनिक गरेका छन् । जसमा कलाकारको भेषमा आकर्षक देशहरुमा गैरकानुनी रुपले मानव तस्करी हुने गरेको यथार्त खोलिएको छ । झन अष्ट्रेलियामा आयोजकले नै यस्तो धन्धा चलाएको आरोप उनको छ । सामाजिक सञ्जालमार्फत नै आफ्नो धारणा सार्वजनिक गरेका शर्माले भनेका छन्, ‘आयोजकले केही नाम चलेका कलाकारहरुलाई बोलाउँछ । त्यसमध्ये आधा गैरकलाकारलाई घुसाएर लैजाने र उनीहरुबाट मोटो रकम असुल्ने गरेको आशय व्यक्त गरेका छन् ।’ उनले अष्ट्रेलियाका आयोजकहरुलाई बहिष्कार गर्न आह्वानसमेत गरेका छन् । विदेशका कार्यक्रममा जाँदा भिषा प्रोसेसदेखि नै कलाकार सचेत बन्नुपर्ने उनको आग्रहले नेपालबाट नाम चलेका देशहरुमा यसरी मानव तस्करी भइरहेको बुझ्न कठिन छैन । हामीले उनीसँग सम्पर्क गरेपछि उनले यो विषयमा आफुले अष्ट्रेलियन एम्बेसीमा समेत जानकारी पत्र पठाएको बताएका छन् । उनको यो स्टाटस हेर्नुहोस् ।

कलाकारको भेषमा गन्दा धन्धा चलाउने परिपाटी नौलो होइन । अहिले पनि नाम चलेका कलाकारहरु यसरी नै गैरकानुनी रुपमा युरोप अमेरिका जस्ता देशमा भित्रिएर भागेर उतै बसेका छन् । बेला बेला यो विषय विवादमा आइरहन्छन् । यसअघि कलाकार राजेन्द्र खड्गी मानव तस्करीकै आरोपमा पक्राउ परेका थिए । डकुमेन्ट्री बनाउने भन्दै ११ जना युवालाई दक्षिण कोरिया पठाएर लाखौं असुल गरेको आरोपमा सीआईबीले २०७४ माघ २५ मा उनलाई पक्राउ गरेको थियो । २०७९ को भदौमा समेत कलाकार केकी अधिकारी र आर्यन सिग्देल मानव तस्करीको जालोमा मुछिएका थिए । म्युजिक भिडियो छायांकनल गर्न भन्दै केकी र आर्यनलाई अगाडी देखाएर पर्यटन बोर्डको कागजात किर्ते गर्दै गिरोहले १४ जनालाई नर्वे लैजाने तयारी गरेको विषय सार्वजनिक भएपछि उनीहरु सीआईबी गुहार्न पुगेका थिए । ‘अहिले पनि विभिन्न बहानामा भित्रभित्रै यस्ता गतिविधि हुने गरेका छन् ।’, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका उपाध्यक्ष कृष्ण रेउलेले भने, ‘देशको माया हुनेहरु सुख दुःख गरि देशमै बसिरहेका छौं । हामीले विदेश कार्यक्रममा जानेहरुलाई संस्थाबाट आधिकारिक पत्र लिनुपर्ने व्यवस्था गरेका छौं । सबैले त्यही गरे यस्ता गतिविधि रोकिन सक्छन् ।’
अहिले गिरोहले मात्रै कलाकारका नाममा मानव आसोरपोसार गर्ने गरेको छैन । कतिपय नाम चलेकै कलाकार कार्यक्रमका नाम विदेश गएर नफर्किएका प्रशस्त घटनाहरु छन् । विदेशमा गुमनाम भएका कलाकारमध्ये अधिकांश अमेरिका, क्यानडा, बेलायत, अस्ट्रेलिया, स्पेनलगायतका मुलुकमा विभिन्न सांगीतिक कार्यक्रममा सहभागिता जनाएर उतै भाँसिएका छन् । यसले देशका गहनाबाट राष्ट्रको इज्जत के भइरहेको छ भन्ने प्रश्न जब्बर रुपले उठेको छ ।
कलाको सीमित बजारका कारण नाम कमाए पनि दाम कमाउन मुस्किल छ । फलतः कतिपय चर्चित र स्थापित कलाकार नै विभिन्न बहानामा विदेश भाँसिनेको सूचीमा छन् । कलाकार सरोज खनाल र कृष्टी मैनाली विदेश भासिनेको अग्रसूचीमा पर्छन् । आजभन्दा करिब २ दशकअगाडि अमेरिका पुगेका उनीहरु नेपाल आउने जाने गरिरहन्छन् । लोकप्रिय नायक दीलिप रायमाझीले परिवार नै अमेरिका लिएको चर्चा छ । नायिका अरुणिमा लम्साल, नन्दिता केसी, उषा पौडेल, गायिका निशा सुनार, निर्देशक प्रसन्न पौडेल, कलाकार प्रेमराजा महत, जीवन लुइँटेल, रमित ढुङ्गेल, रामप्रसाद खनाल, महेन्द्र बुढाथोकी, नारायण पुरी, कृष्ण चापागाईं, रञ्जना शर्मा, मुकेश ढकाल, श्याम भट्टराई, लोक गायनको प्रसिद्ध नाम भगवान भण्डारी, गायिका शिला आले, नरेन्द्र प्यासी, यम बराल, सपना परियार, युना उप्रेति, सज्जा मैनाली, साहित्यकार ज्ञानेन्द्र गदाललगायत अमेरिकामै बस्दै आएका छन् । अभिनेत्री ऋचा शर्मा र निर्देशक शंकर घिमिरेको जोडी अमेरिकामा व्यवसायमा जमेको छ । अभिनेत्री पुजा चन्द वाल्टिमोरमा आफ्नै डिपार्टमेन्ट स्टोर चलाएर बसेकी छन् ।
हलिउड चलचित्र ‘हाईवे टु धुम्पुस’को सुटिङका लागि भन्दै अमेरिका उडेका अभिनेता राजबल्लभ कोइराला त्यसपछि नेपाल फर्किएका छैनन् । सम्भवतः उनी अब एउटा चलचित्रका लागि नेपाल फर्किने तयारीमा छन् । अभिनेत्री जल शाहसमेत अमेरिकामै छिन् । गायक राम प्रसाद खनाल अमेरिकामै बस्छन् । निर्माता सुनिल रावल श्रीमती र छोरीसहित अमेरिका वस्न थालेको झण्डै पाँच बर्ष भयो । विमलेश अधिकारी, नारायण त्रिपाठी पनि विदेशमै छन् ।
अघिल्लो दशकमा केही समय उता बसेर नायिका करिष्मा मानन्धर स्वदेश फर्किएकी थिइन् भने नायक भुवन केसीले अमेरिकाको ‘ग्रिनकार्ड’ लिन अस्वीकार गरेको भनिन्छ ।
देशमा काम गर्ने वातावरण नभएको भन्दै विदेश पस्ने युवाको संख्या प्रतिदिन बढ्दो छ । मुलुकमा बढ्दो बेरोजगारी समस्यालाई देखाएर विदेश पस्नेको हुलबीच स्वदेशमै प्रतिष्ठित पेसा–व्यवसायमा स्थापित भइसकेकाहरुको संख्या पनि उल्लेख्य छ ।
अमेरिकामा रहने कतिपय कलाकार कोल्डस्टोर, पार्लर, पेट्रोल पम्प, होटल, रेस्टुरेन्ट आदिमा काम गर्छन् भने कतिपयले आफ्नै व्यवसाय सञ्चालन गरेका छन् । यसरी कार्यक्रममा सहभागिताका लागि भन्दै विदेश पुग्ने कलाकारले फाइल गरी ग्रिनकार्ड तथा उतैको पासपोर्ट बनाएको पाइन्छ ।
नेपाली अमेरिकन कलाकार संंघका अनुसार हालसम्म ५०२ जना नेपाली कलाकारले अमेरिकाको स्थायी आवास अनुमतिपत्र लिइसकेका छन् ।
प्रकाशित समय : १४:३६ बजे




















