काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

मौरी चरन क्षेत्र बन्दै तनहुँ

4.08K
shares

मौरीको चरनका लागि तनहुँमा उपयुक्त तापक्रम भएका कारण यहाँ चरनका लागि मौरी ल्याउने गरिएको छ । मौरीको चरनका लागि २० देखि ३५ डिग्री सेन्टिग्रेडसम्म उपयुक्त मानिन्छ । तराई र मध्यपहाडी क्षेत्रमा कम्तीमा आठदेखि १० महिनासम्म यो अवस्था रहने भएकाले मह उत्पादनका लागि उपयुक्त मानिन्छ । मौरीको चरन पनि लामो समय हुनेहुँदा व्यावसायिक मौरीपालन उपयुक्त मानिएको विज्ञहरु बताउँछन् ।

नेपालमा विशेषगरी दुई प्रजातिका मौरीपालन गरिन्छ । सेरेना र एपिस मेलिफेरा प्रजातिका मौरी बढी पालिने गरिएको पाइन्छ । तराई क्षेत्रमा तीनदेखि चार महिनासम्म अत्यधिक गर्मी बढ्ने भएकाले अन्यत्र चरन क्षेत्र खोज्नुपर्ने अवस्था रहन्छ । मौरीको उत्पादन राम्रो लिनका लागि उचित तापक्रमको पनि किसानले ख्याल गर्नुपर्ने हुन्छ ।

चरन क्षेत्रका लागि तनहुँलाई उपयुक्त मानिएको विज्ञहरु बताउँछन् । अत्यधिक गर्मीको समयमा चितवनभन्दा तनहुँमा गर्मी कम हुनु र फूलको विविधताले गर्दा चरनका लागि तनहुँ ल्याइने गरिएको भरतपुर महानगरपालिका–१ रामनगरस्थित मौरीपालक एवं प्रा डा खेमराज न्यौपानेले जानकारी दिए।

उनका अनुसार मौरीको उत्पादन वृद्धिका लागि पनि एक ठाउँबाट अर्को ठाउँमा समय समयमा सार्दा राम्रो हुन्छ । तराईमा मह उत्पादनका लागि मौरीलाई वर्षमा दुईदेखि चार महिना चरन क्षेत्रको अभाव हुने गरेकाले तनहुँलाई चरन क्षेत्रका रुपमा यहाँ ल्याइने गरिएको उनले बताए ।

न्यौपानेले भने, “गर्मीको समयमा तनहुँको तापक्रम पनि करिब ३५ डिग्री सेन्टिग्रेडसम्म हुन्छ, यहाँ मौरीलाई आवश्यकपर्ने फूल फुल्ने समय हो, यसले उत्पादनमा सहयोग पुग्छ, त्यसैले यहाँ मात्रै होइन समय समयमा विभिन्न स्थानमा मौरी लगिने र ल्याउने गरेका छौँ ।”

यस समयमा यहाँका फूलको रसको विविधताका कारण मह मिठो, पौष्टिक र औषधिजन्य उत्पादन हुने गरेको उनले बताए। “मौरीलाई आवश्यकपर्ने फूलको रस र पराग नेपालको हिमाली क्षेत्रबाहेक अन्य स्थानमा बाह्रै महिना सित्तैमा उपलब्ध हुन्छ, जुन मौरीले मात्रै सदुपयोग गरी मह, कुट बनाउँछ”, उनले भने ।

उपलब्ध चरन क्षेत्रका आधारमा नेपालमा व्यावसायिकरुपमा कम्तीमा चार÷पाँच लाख एपिस मेलिफेरा मौरी पाल्न सकिने आँकलन गरिएको छ । हाल नेपालमा यस प्रजातिका मौरी करिब ४० हजार जति रहेको बताइएको छ ।

चरन क्षेत्रका लागि तनहुँ उपयुक्त भएको मौरीपालक किसान बताउँछन् । चैत, वैशाख, जेठ र असार पहिलो सातासम्म तराई क्षेत्रका मौरीका लागि चरन क्षेत्र अभाव हुनेहुँदा यहाँ ल्याएर मह उत्पादनमा सहयोग पु¥याउने गरिएको मौरीपालक किसान तथा विज्ञ बताउँछन् । तराई क्षेत्रमा बढी गर्मी र चरन क्षेत्रको अभाव हुने समयमा तनहुँ चरन क्षेत्र बन्दै गएको हो । चरन क्षेत्र अभाव हुँदा मौरीले मह उत्पादन कम गर्ने भएकाले पनि फूल हुने स्थानमा लगिने गरिएको न्यौपानेले बताए।

“मौरीपालक किसानले एक ठाउँबाट अर्को ठाउँमा सार्नुपर्ने विषयमा जानकार हुनुपर्छ, स्थानान्तरण गर्ने प्रक्रियाले नै मह, कुट उत्पादन वृद्धि हुन्छ, जसले गर्दा आम्दानी बढ्ने हो”, उनले भने । चरन क्षेत्रको अभावमा मौरीलाई चिनी खुवाएर राख्नुभन्दा उपयुक्त क्षेत्रको खोजी गरी लगिँदा मह उत्पादन वृद्धि हुने गरेको उनको भनाइ छ ।

उनका अनुसार चरन क्षेत्रको अभावमा मौरीलाई बेमौसम ‘असारदेखि भदौसम्म’ बचाइराख्न चिनी खुवाउने गरिन्छ । मह उत्पादनका लागि कात्तिकदेखि चैतसम्मको मौसम उपयुक्त भएको उहाँको भनाइ छ । सो अवधिमा मौरीलाई कृत्रिम खाना खुवाउनुपर्ने हुँदैन । फूलको रस पाउने समयमा पनि मौरीको चरन क्षेत्र अभाव हुँदै गएको छ ।