काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बजेटको स्रोत सुनिश्चित नहुँदा अघि बढेन नमूना सदरमुकामको काम

7.83K
shares

कान्छो जिल्लाका रुपमा रहेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा शिलान्यास भएको चार वर्ष बितिसक्दा पनि नमूना सदरमुकामको काम अझै सुरु हुन सकेको छैन ।

बहुवर्षीय आयोजनामा बजेट सुनिश्चित नहुँदा काम गर्न नसकिएको सघन सहरी तथा भवन निर्माण आयोजना चितवनले जनाएको छ । “नमूना सदरमुकाममा निर्माण हुने भवन, सडकलगायतका संरचनाका लागि  तीन अर्ब ५० करोड अनुमानित लागत तयार पारी विभागमा पठाएका छौँ”, कार्यालयका सूचना अधिकारी ओमबहादुर खड्काले भने, “नमूना सदरमुकाम निर्माणका लागि बहुवर्षीय स्रोत सुनिश्चित भएको छैन । बहुवर्षीय स्रोत स्वीकृत नभएसम्म निर्माण अघि बढाउन सक्ने अवस्था छैन ।”

कावासोती–३ मा बन्ने भनिएको नमूना सदरमुकाम निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (आइए) पनि स्वीकृत नभएको खड्काको भनाइ छ । “इआइएको काम पूरा भइसकेको छ, तर स्वीकृत भएको छैन”, उनले भने, “यो स्वीकृत नहुनु पनि काम अघि बढाउन नसक्नुको कारण हो ।”

नमूना सदरमुकामको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले निर्माण गरेको हो । तर डिपीआर पनि बारम्बार संशोधन भइरहँदा निर्माण अगाडि बढ्न नसकेको उनको भनाइ छ ।

“कावासोतीको एक सय ८४ बिघा क्षेत्रफलमा नमूना सदरमुकाम निर्माण अघि बढ्ने गरी डिपीआर तयार भएको छ”, उनले भने, “यहाँ निर्माण हुने जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालतबाहेकका सबै सरकारी कार्यालयको भवन एकै ढाँचामा निर्माण हुनेछन् ।”

जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालतले आफ्नो बेग्लै ढाँचामा भवन निर्माण गर्ने भए पनि अन्य सरकारी भवन भने एकै ढाँचामा निर्माण हुने र एउटै भवनमा दुईभन्दा बढी कार्यालय सञ्चालन हुने उनले बताए।

नवलपुरमा सङ्घीय सरकार मातहतका २१ तथा गण्डकी प्रदेश सरकार मातहतका ११ वटा कार्यालय रहनेगरी डिपीआर संशोधन गरिएको खड्काले बताए । सरकारी अड्डासँगै पुस्तकालय, सभाहल, बैंक, अतिथिगृह, आवासगृह, रङ्गशाला, सूचना केन्द्र, प्रहरी तालिम केन्द्र, पार्कलगायतका संरचनासमेत यहाँ निर्माण गर्ने योजना छ । यी संरचना निर्माणका लागि चार वर्ष पहिले योजना अघि सारिएको थियो ।

“नमूना सदरमुकाम निर्माणको अन्तिम लागत तयार पारेर चार महिनाअघि सहरी विकास तथा भवन निर्माण विभागमा पेस गरेका छौँ”, उनले भने, “बजेटको स्रोत सुनिश्चित नभएका कारण लागत स्वीकृत भएको छैन ।”

सहरी विकास मन्त्रालयबाट बजेटको स्रोत सुनिश्चित भएर लागत स्वीकृत हुने बित्तिकै काम सुरु गर्ने आयोजनाको तयारी रहेको उनको भनाइ छ । बहुवर्षीय बजेटको स्रोत सुनिश्चित नहुँदा गत आवमा नमूना सदरमुकामका लागि बिनियोजित बजेट फ्रिज भएको उनले जानकारी दिए ।