जब उनले ‘आइ लभ यु टू’ भनिन् !
वि.सं.२०८० साउन २७ शनिवार १३:२९
shares

बिहानको समय एकासी ‘हेलो गुड गुडमर्निङ’ भन्ने उनको एसएमएस आयो । त्यो एसएमएससँगै मेरो मन यति खुशी भयो कि, त्यसलाई बयान गर्ने शब्द मसँग भएन । हुन त कयौं व्यक्तिले हेलो हाई, गुडमर्निङ जस्ता एसएमएस मलाई दिनहुँ जसो नै पठाउने गर्छन् । तर उनको त्यो एसएमएसले भने मनमा अर्कै खालको आनन्द दिएको थियो । मैले कहिले पनि सोचेको थिइन । एक एसएमएसमा यति ठूलो ताकत हुन्छ । सायद त्यो एसएमएस गर्ने मान्छेले गर्दा होला । उनले गरेको एसएमएसको रिप्लाई दिन छाडेर म त के–के कुरा पो सोच्न थालेछु । आफैभित्र आफै खुशीले गदगद् हुन थालेछु ।
म अनेक कुरा सोच्दै थिए । मेरा हातहरु कतिबेला थिचिएछन् थाहै भएन । मैले पनि ‘हेलो गुडमर्निङ के गर्दैछौँ ?’ लेखेर पठाइसकेछु । मैले पठाउन नपाई उताबाट म्यासेजको रिप्लाई आउन थाल्यो । अनि उनीसँग गफ सुरु भयो, कफि खायौं त भन्नेबाट । सायद उनलाई थाहा थियो होला मलाई कफि मनपर्छ भन्ने कुरा । त्यही भएर उनले अक्सर मलाई कफिको बारेमा सोध्ने गरेकी छिन् ।
हामीबीचमा कफिको गफ सकिएपछि खाजाको सुरु भयो । मैले सोधे ‘खाजा खायौँ ?’ उनले भनिन् ‘छैन’ । अनेक ताना मार्दै कफि खाजाका गफ गर्दा हामीले एकअर्काेलाई झनै नजिक महसुस गर्दै थियौं । त्यतिकैमा मैले फेरि सोधे, किन नखाएको त ? उनको जवाफ आयो ‘खोईं, थाहा छैन ।’ मैले फेरि तेहेर्याएर सोधे, कसलाई थाहा छ त ? उनलाई आफैलाई भन्दै यसपटक पनि टारिदिइन् । एक्कसी उनले म्यासेज हेर्न छोडिन् । मैले कुनै काम भएको व्यस्त छ होला भन्दै चारवटा जति म्यासेज छोडिदिए ।
अफिस जान ढिला हुन्छ भनेर म पुरै छिटो छिटो खाना पकाउँदै आफ्ना दैनिक कामहरु सक्नेतर्फ लागे । सबै सकेपछि म जब अफिस पुगे, उनको म्यासेजले मेरो फोनमा घण्टी बजाएको रहेछ । ‘म खाना खाँदै थिए, त्यसैले म्यासेज ढिला गरेको’ उनको म्यासेज थियो । मैले जवाफ फर्काए, ‘ओके, केही छैन ।’
दिनभर अफिसकै काममा व्यस्त । अफिसबाट जब घर जानेबेला भयो, हामी फेरि उही खाजा कफिकै गफमा भुल्न थाल्यौ । मैले नै म्यासेज गरे, खाजा खायौं ? उताबाट छैन भन्ने जवाफ आयो । मैले फेरि बिहानकै सिलसिलामा उनलाई सोधपुछ गर्न थाले तर जवाफ नयाँ आएन ।
मलाई नै लाग्यो, एउटै कुरा कत्ति दोहोर्याउनु । तैपनि मनले मानेन । अलिक कडा स्वभावमा उत्रिए जस्तो जवाफ दिन मन लाग्यो । मैले हक जमाए जसरी भनिदिए, ‘खुरुक्क खाजा खाईहाल त ।’ त्यसमा जोडेर अर्काे म्यासेज गरे, ‘जंग फुड चाहीँ खाने होइन नी ।’ उनले पनि हस् भनेर जवाफ फर्काइन् । ओहो! कति ज्ञानी ।
त्यसपछि दिन कसरी बित्यो भन्दै एकअर्काेले गरेका कामको फेहरिस्त पेश गर्न तर्फ हाम्रा गफहरु केन्द्रीत भए । कुरा चल्दै थियो, अफिसबाट घर निस्किन ढिला भइसकेछ । ‘मेरो कोठामा जाने बेला भयो पुगेर बोल्छु’ भनेर म्यासेज लेखिदिए । उनले पनि आज्ञाकारी रुपमा हुन्छ भनिन् । म कोठातिर लागे ।
अफिसबाट निस्किन ढिला भएकाले कोठा पुग्दा झमक्कै साँझ परेको थियो । म खानाको तयारीमा लागे । खाना खाएर ओछ्यान पल्टिए । उनको म्यासेज आएको रहेछ । ‘खाना खानु भयो ?’ मैले खाएको जवाफ दिँदै उनको बारे सोधे, उनले भनिन् ‘छैन ।’ जहिल्यै छैन् । होइन, यो केटी खाना केही खाँदैन क्या हो । मैले सोच्न थाले । किन नखाएको ? भनेर प्रश्न गरेपछि थाहा भयो, उनले पकाउँदै रहेछिन् ।
एकैछिनपछि हाम्रा गफहरु असामान्य बन्न थाले । सामान्य जीवनशैलीभन्दा माथि उठेर हामी नयाँ विषयमा प्रवेश गर्न थाल्यौं । सायद यो कुराकानी हुन थालेदेखि पहिलोपटक हुँदै थियो । हामीले प्रेमका कुरा गर्न थाल्यौं ।
सुरुवात मैले नै गरे । अलि असहज लाग्दै थियो । तैपनि सोधिहाले, ‘तिमि मेरो कहिले हुने हो ?’ म्यासेज उनले हेरिन् । जवाफ आउनुभन्दा पहिले मौनता छायो । मौनता तोड्दै मैले नै फेरि म्यासेज गरे, ‘किन नबोलेको ? व्यस्त छौं ?’ एकैपटक दुईतीनवटा प्रश्न तेर्साए । जवाफ आयो, ‘यतिकै बसिरहेकी छु ।’
मेरो प्रश्नको जवाफ आएन नी ? मैले अर्को प्रश्न तेर्साए । उनले ‘खोई!’, यतिमात्रै लेखिन । मैले ‘तिमी र म भयौं भने जीवन विताउन सक्छौं । मैले तिमीलाई संसारको भौतिक सुख सबै दिन नसकेपछि तिम्रो आँखामा आँशु चाहीँ आउन दिन्न’ भनेर डाइलग मारिहाले । जसरी फलाम तात्तिएकै बेला हथौडा मार्नुपर्छ भनिन्छ । तर मैले डाइलग नभई आफ्नो भावना व्यक्त गरेको थियो । उप्रति मभित्र भएको प्रेमको उजागर गरेको थिए । त्यो पनि यति छिटो व्यक्त गरेको थिएकी, मलाई उ टाढिने डर थियो । तर उहीँ ‘प्यार किया तो डरना क्या’ भन्ने स्टाइलमै आफुलाई उसका अघि प्रस्तुत गरेको थियो । जे पर्ला पर्ला म्यासेज ठोकिहाले, ‘आई लभ यु’ !
यो म्यासेजपछि मेरो मुटु ठाउँम थिए । मुटुको धड्कन तीनगुणा बढी धड्किरहेको थियो । म्यासेजमै मेरो यो हविगत छ, झन भेटेर भनेको भए के हुन्थ्यो होला ? आफैप्रति दया लागेर आयो । तैपनि आँट गरेर भनेको छु भन्दै आफुलाई सम्हाल्ने कोशिस गरे ।
उता म्यासेज सिन त भयो, रिप्लाई भएन । उनको टाइप सिग्नल हेर्दै थिए । त्यो पनि देखिएन । मेरै नेट नचलेको होकि ? दुईतीन पटक चेक गरे । स्क्रोल गरिरहे । तर अहँ, न मेरो नेट बिग्रिएको थियो, न मेरो मोबाइल । उताबाट केही आउने छाँट देखिएन ।
त्यतिबेला एक सेकेण्ड पनि मेरा लागि घण्टा जस्तो थियो । त्यतिकैमा मेरो म्यासेन्जरको म्यासेज बक्सभित्र देखियो, उनले टाइप गरिरहेको तीनवटा डट….।
अब झन मुटुले ढ्याङग्रो ठोक्यो । म्यासेज के आउने होला भन्दै म अत्तालिन थाले । जतिजति म्यासेज आउन ढिला हुँदै थियो, मेरो जिन्दगीमा यतिधेरै अन्योल पहिलोपटक हुँदैछ जस्तो लाग्दै थियो । मुटुको बेगअघि तीन गुणा थियो, अहिले १० गुणा प्रतिसेकेण्डमा चलिरहेको थियो । एकैपटक दम, प्रेसर र सुगर बढेको अनुभूति मैले युवा अवस्थामै गरिरहेको थिए । मानौं, ३६० डिग्रीमा चक्कर काटिरहेको छु । तर फाइनल्ली, उताबाट रिप्लाई आयो, ‘आई लभ यु टू’ ।
अब म कुनै समुद्रको छालमा तैरिरहेको महसुस गर्न थाले । मानौं, छालहरुलाई हल्लाउने हावाले पहिला उनलाई छोएर आएको थियो । त्यसपछि मलाई छोएर फेरि उनलाई छुन जाँदै थियो । म कुनै पहाडको टुप्पोमा पुगेर जोडतोडले कराउँदै थिए ! आफु सफल भएको प्रमाणित गर्न खोजिरहेको थियो । एकैपटक पानीका थोपाहरु झर्न थाले । स्वरसम्राट नारायण गोपालका प्रेमिल शब्दहरु मेरो मस्तिक हुँदै मनसम्म गुञ्झिन थाले । एकैपटक अर्जित सिंहका रोमान्टिक गीतहरुले मलाई नचाउन थाले । त्यतिनै बेला मोबाइलको घण्टी जोडजोडले बज्यो । म झल्यास्स बिउँझिए ! ओहो, म त सपना देखिरहेको रहेछु ।

























