माओवादी केन्द्रको केन्द्रीय समिति बैठक डेढ बर्षपछि आजदेखि सुरु, ७५८ जना सहभागी, प्रवेश शुल्क ५००
वि.सं.२०८० साउन १७ बुधवार ०८:३६
shares

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बुधबारदेखि सुरु हुँदैछ । अहिले बिहानदेखि प्रज्ञाप्रतिष्ठानमा बैठक बस्ने लागेको हो ।
केन्द्रीय समिति बैठकअघि बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा स्थायी समिति बैठक बस्ने छ । स्थायी समितिले पदाधिकारी बैठकबाट प्रस्तावित एजेण्डामा छलफल गरेपछि ११ बजेदेखि केन्द्रीय समिति बैठक सुरु हुनेछ ।
केन्द्रीय समिति सदस्यलगायत सहभागी आफैले खाने र बस्ने व्यवस्था गर्नुपर्नेछ । पार्टीले बैठक स्थलमा खाजा र स्टेसनरीको व्यवस्था मात्रै गरेको छ । पार्टीले बैठक प्रवेश शुल्क स्वरुप प्रतिव्यक्ति ५०० रुपैयाँ तोकेको छ ।
त्यस्तै बैठकमा प्रस्तुत हुने राजनीतिक र सांगठनिक प्रतिवेदन अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तयार पारेका छन् । उक्त प्रतिवेदन केन्द्रीय समिति बैठकअघि बुधबार बिहान ८ बजे बस्ने स्थायी समितिले पारित गर्नेछ ।
त्यसका लागि पदाधिकारी बैठकले जिम्मेवारी दिए अनुसार अध्यक्ष प्रचण्डको निर्देशनमा पदाधिकारीहरूले मस्यौदा तयार पारेका छन् ।
अध्यक्षको निर्देशनमा उपाध्यक्षद्वय कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा र उपमहासचिव वर्षमान पुनले राजनीतिक प्रतिवेदनको मस्यौदा बनाएका छन् भने पार्टी महासचिव देव गुरुङ र अर्का उपमहासचिव तथा पार्टी संगठन विभाग प्रमुख जनार्दन शर्माले सांगठनिक प्रतिवेदनको मस्यौदा बनाएका छन्। सोही मस्यौदालाई अध्यक्ष प्रचण्डले अन्तिम रूप दिएर बैठकमा पेश गर्नेछन् ।
राजनीतिक प्रतिवेदनमा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग एकता हुने विषय पनि समेटिएका छन् ।
माओवादीको महाधिवेशन भएको डेढ वर्ष बिते पनि केन्द्रीय समितिले पूर्णता पाएको छैन । महाधिवेशनबाट पारित निर्णय नै अलपत्र छन् ।
निर्वाचनपछि माओवादीले संघीय र दुई प्रदेश सरकारका साथै १२१ स्थानीय सरकारको नेतृत्व गर्दै आएको छ । माओवादीले धेरैपटक संगठन चुस्त गराउने नारा अघि सारे पनि त्यो कार्यान्वयन हुन सकेको छैन ।
























