काँग्रेस केन्द्रीय समिति बैठकका निर्णय लेख्ने जिम्मा पाँच नेतालाई
वि.सं.२०८० साउन १० बुधवार ०६:४२
shares

नेपाली काँग्रेसले केन्द्रीय कार्यसमिति बैठकका निर्णयको मस्यौदा लेख्न पाँच नेतालाई जिम्मेवारी दिएको छ ।
मंगलबार साँझ सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, नेता रमेश लेखक, प्रवक्ता प्रकाशशरण महत र प्रचार विभाग प्रमुख मीन विश्वकर्मालाई जिम्मेवारी दिएको हो ।
साउन २ गतेदेखि जारी केन्द्रीय कार्यसमिति बैठक आज सकिँदैछ । बैठकमा उठेका प्रश्नको जवाफ दिएर आज ४ बजे बैठक समापन गर्ने तयारीमा रहेका सभापति देउवाले उनीहरूलाई निर्णय लेख्ने जिम्मेवारी दिएका हुन् ।
एक नेताका अनुसार निर्णयको मस्यौदा तयार पार्ने जिम्मेवारी पाएका नेताहरूबीच बुधबार बिहान ११ बजे पार्टी कार्यालय सानेपा बैठक बस्ने छ । बैठकले महामन्त्री शर्माले पेस गरेका १० एजेन्डा र अर्का महामन्त्री थापाको कार्यतालिकामाथि निर्णय लिने उनको भनाइ छ ।
सभापति देउवाले नीति महाधिवेशन छठ पछि गर्ने प्रस्ताव गरेको बुझिएको छ । सोही अनुसार निर्णय हुने सम्भावना रहेको ती नेताले बताए ।

























