गृहपृष्ठ ललिता निवास प्रकरणका कुनै दोषी छुट्दैनन् : उपप्रधानमन्त्री श्रेष्ठ
ललिता निवास प्रकरणका कुनै दोषी छुट्दैनन् : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवद्र्धन र सामाजिक न्याय वर्तमान सरकारको प्रमुख कार्यभार रहेको बताएका छन् । ललितपुरको हात्तीवनस्थित निजी निवासमा आज पत्रकारसँगको अनौपचारिक कुराकानीमा उहाँले सामाजिक, आर्थिक रुपान्तरणमा सरकारको ध्यान केन्द्रित भएको बताए ।
“राजनीतिक परिवर्तनपछि जनताको जीवनमा गुणात्मक परिवर्तन हुनुपथ्र्यो, त्यसो हुन सकेको छैन”, उनले भने, “अब नयाँ ढाँचाको समृद्धि र विकास होस्, जनताले अनुभूति गर्न सक्ने खालको आर्थिक सामाजिक परिवर्तन होस् भन्ने छ, त्यसैले सरकार सामाजिक, आर्थिक रुपान्तरणमा केन्द्रित भएको छ ।”
जनताको सङ्घर्षका बलमा राजनीतिक उपलब्धि हासिल भए पनि जनताको आर्थिक सामाजिक अवस्थामा सुधार आउन नसक्दा परिवर्तनको औचित्यमाथि नै प्रश्न उठ्न थालेको भन्दै उनले विकास र समृद्धि सरकारको मुख्य लक्ष्य भएको बताए । “राजनीतिक उपलब्धिलाई सामाजिक आर्थिक क्षेत्रमा विस्तार गर्नुपर्छ, राजनीतिक परिवर्तनलाई माध्यम बनाएर सामाजिक आर्थिक रुपान्तरण गर्नुपर्छ”, उनले भने ।
समृद्धिको यात्राको मात्रात्मक गतिलाई परिवर्तन गरेर गुणात्मक फड्कोमा पु¥याउनुपर्ने अवस्था रहेको भन्दै उनले राजनीतिक परिवर्तनले निर्देश गरेअनुसारको सामाजिक आर्थिक रुपान्तरण हुनुपर्ने बताए । “हाम्रो समृद्धिको यात्राले गति प्राप्त गर्न सकेको छैन, सन्तुष्ट हुने ठाउँमा छैनौँ”, उनले भने, “समृद्धिको यात्रालाई तीव्र बनाएर जनआकाङ्क्षा पूरा गर्नु सरकारको पहिलो कार्यभार हो ।”
सरकारले सुशासनलाई पहिलो सर्त मानेर आफ्नो ध्यान केन्द्रित गरेको उनको भनाइ छ । भ्रष्टाचार र कमिसनले देश धेरै जर्जर भएको उल्लेख गर्दै उनले भ्रष्टाचारको प्रभावकारी ढङ्गले नियन्त्रण गर्ने नसके परिवर्तन पछाडि पनि देश जुन हालतमा छ, त्यस्तै भइरहने खतरा रहेको बताए । “ठूलो सम्भावना भएको मुलुकमा किन गुणात्मक विकास गर्न सकेनौँ, जनताको जीवन फेर्न सकेनौँ, आधारभूत आवश्यकता पूरा गर्न सकेनौँ, यसले राजनीतिक परवर्तनको औचित्यमाथि नै प्रश्न उठेको छ”, उनले भने ।
प्रकाशित समय : १४:१२ बजे


















