गृहपृष्ठ रैथाने बाली जोगाउन सचेतना फैलाउँदै सहकारी
रैथाने बाली जोगाउन सचेतना फैलाउँदै सहकारी
रैथाने बाली जोगाउन शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित नव सिर्जना बहुउद्देश्यीय सहकारी संस्थाले सचेतना अभियान सञ्चालन गरेको छ ।
सहकारीले लोप हुँदै गरेका रैथाने बाली संरक्षणमा जोड दिनका लागि जैविक विविधता मेला, प्रदर्शनी, गोष्ठी, छलफललगायतका कार्यक्रम सञ्चालन गरेको छ ।
रैथाने प्रजातिका सोधुवा, सोठियारी, अञ्जना, निमै, सिमटारी, एजवाइन, बामनचिनी, कगरा, लालचन्द, गाजरगोला, रभुनी, थापाचिनी, बासमती, ध्युपुरी, सेतो अनदी, रातो अनदी, मटमुर, बन्दना, कोइपुर्वा, आसाफल, झुम्का, बगरी, मनसुलीलगायतका लोपोन्मुख अवस्थामा पुगेका धानका प्रजाति जोगाउनका लागि नयाँ पुस्तालाई सचेत पार्ने कार्य भइरहेको सहकारीका अध्यक्ष भीमराज अवस्थीले बताए ।
“धानका पुराना प्रजाति सुक्खा सहनसक्ने, थोरै पानीमा पनि उत्पादन दिने, डुबान सहनसक्ने अवस्थाका रहेका छन्”, उनले भने, “पुराना धानका प्रजातिको खेती गर्न छाडेर हाल हाइब्रिड (वर्णशङ्कर) जातका बढी उत्पादन दिने धानखेतीप्रति किसानको रुचि बढदै गएको छ ।”
उन्नत जातका धानका प्रजातिसँगै पुराना जातका धानको खेतीलाई किसानले सँगसँगै लैजानुपर्ने उनको भनाइ छ । जैविक विविधताको संरक्षणमा टेवा पु¥याउनका लागि रैथाने जातका अन्नबाली, तरकारी बाली, तेलहन बाली, दलहन बालीबारे नयाँ पिँढीलाई जानकारी दिन कार्यक्रमलाई निरन्तररुपमा अगाडि बढाइएको सहकारीका अध्यक्ष अवस्थीले बताए ।
“वर्षौंदेखि लगाउँदै आएका रैथाने बालीका विभिन्न जातको क्रस गरेर जिन बैंकले हाइब्रिड बालीको बीउ बनाई हामीलाई नै चर्को मूल्यमा बेचिरहेको छ”, उनले भने, सुक्खा सहनसक्ने, चिसो, गर्मीमा हुर्कने बाली लोप हुँदै गएका छन् ।”
रैथाने बाली लोप हुनुमा किसानकै कमजोरी रहेको उल्लेख गर्दै उहाँले बढी उत्पादनको लोभमा परम्परागत बाली लोप भइरहेकाले त्यसको जगेर्ना गर्नु नितान्त आवश्यक रहेको बताए । स्थानीय तहले खेती प्रणालीमा सुधार गरी स्थानीयस्तरमै जीन बैंकको स्थापना गरी उन्नत जातका धानलगायतका बालीको बीउ सुपथ मूल्यमा किसानलाई उपलब्ध गराउनुपर्ने उनको भनाइ छ ।
उनले भने, “रासायनिक मलको सट्टा ढैँचा, मुँग लगाउने गर्नु पर्दछ, पहिला मलका लागि ढैँचा र मुँग लगाइने गरेको थियो, हाल त्यसलाई बिर्सेर रासायनिक मल हाल्दा माटोको गुणस्तरमा निकै ह्रास आउँदा रैथाने बाली फस्टाउन गाह्रो परेको छ”,
प्रकाशित समय : १६:३० बजे




















